विनबहादुर कुँवर
नेपालमा अहिले लोकतान्त्रिक गणतन्त्रको साथै संघीयता पनि लागू भएको छ । वर्तमान चालु संविधान अनुरुप यो भनिए पनि खास व्यवहारमा यो भइरहेको छैन । अहिले पनि सरकार र यसअन्तर्गतका विभिन्न निकाय प्रशासन प्रहरी र सेना अनि दल र दल नेता कार्यकर्तामा त्यो भएको पाइँदैन । लोकतन्त्रको नाममा निरंकुशतन्त्र, गणतन्त्रको नाम परिवारतन्त्र अनि स्वतन्त्रताको नाममा छाडा र अराजकतन्त्र बढ्दो छ । हरेक दल व्यक्ति र आम जनमानसमा समेत यसको प्रभाव बढिरहेको छ । वर्तमान यो शासन व्यवस्था अर्थात् संसदीय राज्य व्यवस्था विश्वको लागि त्यति नयाँ व्यवस्था होइन । तर नेपालका लागि भने यो केही मात्रामा नयाँ नै छ । नयाँ यस अर्थमा कि समय अवधिका कारणले अर्थात् यसको थालनी २००७ सालबाट भए पनि २०१७ सालदेखि २०४६ सालसम्म देशमा सामन्ती निरंकुश र दरबारिया शाही शासन नै थियो ।
२०४६ सालपछि संवैधानिक राजतन्त्रअन्तर्गत यो व्यवस्थाको थालनी भयो । तर बेला मौकामा शाही दरबारिया हस्तक्षेपले गर्दा यसको अभ्यास पूर्ण रुपले भएन । पछिल्लो काल अर्थात् २०६० सालपछि त पूर्व राजा ज्ञानेन्द्रले यो राज्य व्यवस्थाको खिलापमा आफ्नो पुनः निरंकुशतन्त्रकै अभ्यासमा लागेका थिए । राजनीतिक दल सबैलाई पाखा लगाउँदै सम्पूर्ण शासनसत्ता आफैँमा केन्द्रित पारिसकेका थिए । त्यसपछि बल्ल दलीय नेताहरुको आँखा खुले । अनि मात्र माओवादीसहितको १२ बुँदे दिल्ली समझदारी पत्रमा सहमति जनाई ज्ञानेन्द्र शाहीको निरंकुशतन्त्रविरुद्ध २०६२-०६३ सालको जनआन्दोलनमा सक्रियता देखाएका थिए । त्यसमा पनि भारतीय शासकहरुको प्रत्यक्ष भूमिका थियो ।
१० वर्षे माओवादी जनयुद्धको बलमा २०६२-०६३ सालको संयुक्त जनआन्दोलनले निरंकुश राजतन्त्र अन्त्य ग¥यो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर पनि देश र जनताको मुहार बदलिन सकेन । दलीय किचलो र नेतत्ृवको होडबाजी, पार्टी टुटफुट आदिले दल र दल नेताहरु देश र जनताको हितमा आ–आफ्नै गुट–उपगुट र परिवारतन्त्रमा नै केन्द्रित हुन पुगे । यसरी जनतामा दलीय विस्तृष्णा बढ्दै जान थाल्यो । पटक–पटक निर्वाचन भए, तर जनतामा त्यसको प्रभाव परेन । निर्वाचन किन र के–का लागि ? र भोट कुन पार्टी र नेतालाई दिने जनताले फरक नै छुट्याउन सकेनन् । दल नेता फरक फरक तर काम कारबाही सबैको एउटै । कसलाई जिताए के हुन्छ ? गर्ने यी सबैले राष्ट्रघाट र जनघात नै हो । यसरी नेपाली जनता यी सबै दल र दल नेताहरु प्रति विस्तृष्णा मात्रै होइन घृणा नै बढेर गइरहेको छ ।
यही जनताको विस्तृष्णा र घृणालाई भजाउँदै केही व्यक्तिले नयाँ दल पनि बनाए । सुरुसुरुमा कांग्रेस–एमाले र माओवादीप्रतिको विस्तृष्णालाई आफ्नो पोल्टामा हाल्न पनि सफल भए । जस्तो उदाहरण रवि लामिछानेको रास्वपा, सिके राउतको जनमत अनि रेशम चौधरीको पार्टी । तर अहिले यी सबै पार्टीको हालत पनि त्यस्तै मात्र होइन अझ बढी गन्याईसकेका छन् । रवि लामिछाने स्वयं नै सहकारी ठगीमा थुनिइसकेका छन् । सिके र रेशम समेत कांग्रेस– एमाले र माओवादीहरुको पिछलग्गु र उनीहरुले दिने गरेको पदीय एक चोक्टा मासुमा लुटपुटिन थालिसकेका छन् । यसरी अन्त्यमा हुँदाहुँदा जति साँधु आए पनि खरानी नै घसेका भने जस्तै यो व्यवस्थाअन्तर्गत यहाँ जति दल र दल नेताहरु आए पनि सबैको चाल खाली एउटै देश र जनताप्रतिको विश्वासघात र अपमान, मै खाउ मै लाउ । पद प्रतिष्ठा र कुर्सीकै लागि मरिहत्ते । भ्रष्टचार, कमिशन अनि ठगी र तस्करी मै तल्लिन । जुन कुरा अहिलेसम्म भएका विभिन्न घटनाक्रमले पुष्टि भएको छ ।
हिजो यस्ता काम राजा, पञ्चे र दरबारियाबाट हुने गर्दथ्यो । अहिले कांग्रेस–एमाले र माओवादी साथै नयाँ नामका नयाँ पार्टीहरुबाट हुने गरेको छ । माओवादीका कृष्णबहादुर महरा, एमालेका टोपबहादुर र कांग्रेसका बालकृष्ण खाँण र अहिले घण्टी पार्टीका रवि लामिछाने, कांग्रेसका धनराज गुरुङ, अनि एमालेका लिलावल्लभ अधिकारी र ऋषिकेश पोखरेल यस्तै काण्डमा मुछिइसकेका छन् । अझ लाजै नमानी जो चोर उसको ठूलो स्वर । रवि लामिछानेले आफूलाई सरकारले ठग बनाउन खोजे पनि आफू बाघ बनी जनतामा आउने गुड्डी हाँक्दैछ । निश्चय नै रवि अहिले बाघ त बाघ तर बाघको छाला ओढेका छट्टु स्याल भएको पुष्टि भइसकेको छ । अझ यस्तै ठगलाई केही घण्टी पार्टी नेताहरुले रवि लामिछाने जहाँ भए पनि बाचुन्जेल रास्वपाका सभापति नै भइरहने अचम्मको उद्घोष गरिरहेका छन् । राजाको छोरो राजा बाचुन्जेल हुने जस्तो यो भनाइले घण्टी पार्टीको वास्तविक पोल खुलेको छ । अब ढिलो चाँडो यो पार्टीले पनि पंचेहरुले राजा आउ देश बचाउँ भने जस्तै रवि आउ देश बचाउँ भन्ने छन् र भनिरहेका पनि छन् ।
वर्तमान यो राज्य व्यवस्थालाई जसले जे भने पनि खासमा यसको चरित्र र स्वरुप सामन्ती, दलाल र नोकरशाही बुर्जुवा नै छ । बाहिरी रुपमा केही लोकतान्त्रिक जस्तो देखाउन खोजे पनि सारमा अहिले पनि सामन्ती र दलाल पुँजीपति नै छ । रक्सी उही खाली बोत्तलको आकार मात्रै फरक छ । त्यसैले जो कुनै पनि यही राज्य सत्ताअन्तर्गत पार्टी खोले पनि वास्तवमा त्यो ढिलो चाँडो यस्तै सामन्ती, दलाल र नोकरशाही, बुर्जुवा, ठग, भ्रष्टाचारी र तस्करी नै बन्छ । जस्तो माथि भनिसकियो महरा, रायमाझी, खाँण अनि धनराज, ऋषिकेश र रवि अनि लिलाबल्लभ अधिकारीका उदाहरण । यिनीहरु मात्रै होइन यो सत्ता अन्तर भएका प्रधानमन्त्रीदेखि मन्त्री, सांसद अनि सबै अड्डा, अदालतका हाकिम कर्मचारी, दल नेता कार्यकर्ता सबै नै यस्तै नै छन् । एकआध व्यक्तिहरुको कुरा अर्कै हो ।
जस्तो प्रधानमन्त्री ओली झापास्थित गिरी बन्धु टि गार्डेन बेचबिखनमा डामिएका छन् । सर्वाेच्च अदालतको फैसला नै यसको प्रमाण छ । माओवादीका अध्यक्ष प्रचण्ड क्यान्टेनमेन्टका माओवादी लडाकुको रासन भत्ता, बन्दोबन्दी र क्षतिपूर्ति बापतको अरबौं बराबरको रकम अपचलनमा डामिएका छन् । त्यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाल बालुवाटार सरकारी जमिन बेचबिखनको भ्रष्टाचारमा मुछिएका छन् । कांग्रेसी सभापति देउवा आफ्नै श्रीमती आरजु राणामार्फत् नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष जोडिइसकेका छन् । हुन पनि यी सबैको यो सत्ता हानथाप र लुछाचुँडी पनि यसैको लागि हो । सत्तामा कोही यस्तै भ्रष्टाचार, तस्करी, कमिशन, ठगीधन्दाका लागि मरिहत्ते गरिरहेका छन् भने कोही आफ्नो यस्तै धन्दालाई ढाकछोप गर्न अनेक षड्यन्त्र र देशी तथा विदेशीहरुको दलाली गरी सत्तामा जान मरिहत्ते गर्दैछन् । अहिले ओली–देउवा यसैगरी सत्तामा आए भने फेरि यस्तै धन्दालाई ढाकछोप गर्न र गराउन पुनः सत्तामा जान प्रचण्ड, माधव अनि रविहरु मरिहत्ते गर्दैैछन् ।
तैपनि माओवादी अध्यक्ष प्रचण्ड अहिलेसम्म कांग्रेसी नेता देउवाको दलाली र चाकडी गरेर केही भइहाल्छ कि भन्नेमा थिए । तर अब त्यो हुने नदेखेपछि बल्ल अबको चौरासीसम्म सत्तामा गईन्न भन्दै फेरि आफ्ना कार्यकर्ता र जनतालाई भूलभुलैया पार्दै छन् । यतिसम्मकि आजसम्म कांग्रेस–एमालेको संगत गर्दा कता कता आफू पनि ओली–देउवा जस्तै भइसकेको दुखेसो र रोइलो गर्दैछन् । त्यही प्रचण्डको दुखेसो र रोइलोप्रति सहानुभूति दर्शाउँदै पुनः नेकपा विप्लव समूहहरु प्रचण्डको माके पार्टीमा विलय हुँदैछन् । आखिर प्रचण्ड छोडी वैद्य र वैद्य छोडी नेकपा विप्लव समूहको दुई वर्षे विद्रोह हुँदै अन्ततः घुम्दै फिर्दै फेरि रुम्जाटार ।
अन्त्यमा यो वर्तमान प्रतिक्रियावादी राज्य सत्ता र व्यवस्थाको मूल चरित्र र स्वरुपमाथि नै भनिसकियो । त्यस्तै यो व्यवस्थामा रही आएका पार्टी र त्यसका नेता कार्यकर्ताहरुको कुकार्यहरुको पनि बयान पनि गरिसकियो । त्यसैले जस्तो राज्य सत्ता र व्यवस्था त्यस्तै स्वरुप र चरित्र भए जस्तै यसमा आई गर्ने र हुने भनेको पनि त्यही हो । जस्तो हिजोका ती क्रान्तिकारी नेता यतिसम्मकि झापा विद्रोह र १० वर्षे माओवादी जनयुद्धका नेता सबै आज धमाधम सामन्ती, दलाल, ठग, भ्रष्टाचारी र तस्करीमा मुछिदै छन् । जबसम्म यस्तो राज्य व्यवस्था यहाँ रहिरहन्छ तब सम्म यो चलिरहन्छ । नयाँ–नयाँ रवि, नयाँ–नयाँ महरा, नयाँ–नयाँ धनराज र लिलाबल्लभ जन्मिरहन्छ । त्यसैले देश र जनताको आमूल परिवर्तन र समृद्धिका लागि यसको विकल्पमा नयाँ राज्य सत्ता र व्यवस्थाकै जरुरी छ ।




