प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सम्बन्धमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रियहित विपरीत त छंदैछ, त्योकूटनीतिक मर्यादाविपरीत पनि छ ।
राजनैतिक दल र नेताहरुबिच आन्तरिक राजनीतिमा विवाद र असहमति हुनसक्छ, तर त्यही आन्तरिक असहमति र विवादलाई विदेश मामलामा प्रकट गर्नु दाहालको अपरिपक्क अभिव्यक्ति हो । दाहाल अस्थिर चरित्रका नेता हुन् । अस्थिर चरित्रको पहिचान बनाएका दाहालकोे त्यो चरित्र सतहमा प्रकट भयो ।
भारतीय पत्रिका ‘द हिन्दू’सँगको अन्तरवार्तामा दाहालले ओलीको आसन्न चीन भ्रमण ‘चाइना कार्ड’ प्रयोग गर्नेमा केन्द्रित देखिएको अभिव्यक्ति सत्ता बाहिर बस्नु परेको पीडा र कुण्ठा हो । सत्ता बाहिर बस्ने बित्तिकै राष्ट्रिय स्वार्थ र हितलाई ख्याल नगर्ने राजनैतिक नेतृत्वबाट धेरै अपेक्षा गर्नु गम्भीर भुल हो । दाहालले भनेझैँ भारतको भ्रमण गरेपछि नेपालका प्रधानमन्त्री चीन जानुपर्छ भन्ने परम्परा छैन । नेपाल सार्वभौम मुलुक हो । सार्वभौम मुलुकको प्रधानमन्त्रीले आफ्नो अनुकुलता र मुलुकको हितलाई ख्याल गरेर जुनसुकै मुुलुकको भ्रमण गर्न सक्छन् । प्रधानमन्त्री भएपछि ओलीले पहिलोपल्ट अमेरिकामा राष्ट्रसंघको महासभामा गए । त्यहाँ उनले अमेरिकी राष्ट्रपतिसहित विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई भेट गरे । त्यसमध्ये भारतका प्रधानमन्त्री समेत थिए । नेपालका प्रधामन्त्रीले अनुकुलतामा पहिले भारत वा चीनमध्ये पहिले जुनसुकैको भ्रमण गर्नु सामान्य विषय हो । यो विषयलाई मुद्दा बनाएर राजनैतिक स्वार्थ पूरा गर्न खोज्दा परराष्ट्र सम्बन्धमा असर पर्न सक्छ भन्ने हेक्का नहुुनु दाहालको कमजोरी हो । दाहाल पहिलोपल्ट प्रधानमन्त्री हुँदा पहिले चीन भ्रमण गरेका थिए । नेपाल कुनै मुलुकप्रति आश्रित नभई स्वतन्त्र भूमिकामा बसेर छिमेकसँग सन्तुलित सम्बन्ध राख्न सक्नुपर्छ ।
भारत नेपालको छिमेकी मुलुक हो । छिमेकसँगको सम्बन्धमा सकेसम्म समस्या नआउने गरी ध्यान दिनुपर्ने र आइहालेमा समाधान गर्नुपर्छ । भारतझैँ चीनसँगको सम्बन्धमा पनि सरकारले त्यसैगरी प्राथमिकता र महत्व दिनुपर्छ । दुई मुलुकसँगको सन्तुलित सम्बन्धमा नै मुलुकको हित छ ।
अहिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको सम्बन्धमा दाहालले जुन अभिव्यक्ति दिए, त्यसले नेपालको असंलग्न नीति र पञ्चशिलको सिद्धान्त विपरीत छ । पूर्व प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्ष दलका नेता समेत हुन् । मुुलुकको परराष्ट्र सम्बन्धलाई असर पार्ने गरी दिएको अभिव्यक्ति फिर्ता लिनु र माफी माग्नु मुलुकको मात्रै नभएर स्वंय दाहालको हितमा छ ।




