बुटवल । कालिका मानवज्ञान मावि बुटवलले विद्यालयमा १२ कक्षाको अध्ययन पुरा गरी नेपाल सरकारले लिएको विभिन्न क्षेत्रको प्रवेश परिक्षमामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । आईतबार सेक्टर १ कालिकानगरमा एक विशेष कार्यक्रमको आयोजना गरी ६४ जना विद्यार्थीलाई बधाई तथा सम्मान गरेको हो । ६४ जना विद्यार्थीले स्नातक तह अन्तर्गतका विभिन्न संकायमा पूर्ण छात्रावृत्तिमा नाम निकालेका छन् ।
जसमध्ये एमबिबिएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रावृत्तिमा नाम निकालेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुल्ला प्रतिष्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबिबिएसतर्फ धेरै जनाले नाम निकाल्ने सामुदायीय विद्यालय तर्फ नेपालमै कालिका पहिलो स्कूल भएको दावी गरे । यस्ता विभिन्न उपलब्धी हरेक वर्ष हाँसिल गर्दै आएको थापाले बताए । उनले विद्यार्थीहरुको कडा मिहिनेत साथै विद्यालयको उत्कृष्ठ शैक्षिक वातावरणले गर्दा नतिजा राम्रो आएको बताउँदै अहिलेको मिहिनेतलाई थप परिस्कृत बनाउँदै जान विद्यार्थीहरुलाई आग्रह गरे । यस्तै विडीएस तर्फ ५ जना, अप्टोमेट्रो तर्फ २ जना, बीएमएलटी तर्फ १ जना, बी फार्मा तर्फ ५ जना, बीएस्सी नर्सीङ्गमा १३ जना, बीएस्सी भेटेरिनरीमा २ जना, बीएस्सी एजीमा २ जना, बीपीएच तर्फ३ जना र ईन्जीनिरिरिङ्गतर्फ ११ जनाले नाम निकाल्न सफल भएका विज्ञान शिक्षक शिक्षक अरबिन्द दुबेले जानकारी दिए ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा पनि अहिलेको जस्तै कालिकाको नाम उच्च राख्नको लागि आग्रह गरेका थिए । शिक्षाको लागि दरिलो जग भनेको नै विद्यालय तह भएको भन्दै उनले आफ्नो लक्ष्य निर्धारणको लागि विद्यार्थीहरुले कडा भन्दा कडा मिहिनेत गर्न आग्रह समेत गरेका थिए । अध्यक्ष ज्ञवालीले कालिका हरेक हिसाबले देशकै अब्बल सामुदायिक रहेको बताउँदै यसलाई सधै निरान्तरको आवश्यक रहेको बताए ।
कालिकामा करिब ८ हजार विद्यार्थी अध्ययनरत छन् । वडा नम्बर १० का वडा सदस्य यमुना काउचाले विद्यालयका सफलता र उपलब्धीको उचित प्रचार–प्रचार आवश्यक रहेकोमा जोड दिइन । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे लगायतले आ आफ्नो भनाई राखेका थिए ।




