हरेक वर्ष झैं २०औं राष्ट्रिय कफी दिवस यसवर्ष पनि भव्य मनाइयो । कफीको बजार, उत्पादन, संभावना र भविष्यका बारेमा मिठा कुरा भए । तर नेपालमा ८६ वर्षको इतिहास बोकेको कफी खेतीको व्यवसायिक विस्तार हुन सकिरहेको छैन । देशमा खपत हुने कफीको ठूलो हिस्सा बाहिरबाट आइरहेको छ । यहाँको उत्पादनको माग विदेशमा ठूलो माग हुँदा पनि पु¥याउन हम्मेहम्मे छ । उत्पादनले बजारको काम थेग्न हम्मे परिरहेको बेला कफी खेतीको विस्तार हुन नसक्नुलाई विडम्बना मान्नुपर्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार, नेपालमा उत्पादन भएको १७ प्रतिशत कफी निर्यात हुन्छ, तर आयात दोब्बर बढी हुन्छ ।
भन्सार विभागको आर्थिक वर्ष २०७९र ०८० को तथ्यांकले भन्छ,— १३ करोड ४ लाख रुपैयाँ बराबरको ७७ टन मात्रै कफी निर्यात भयो ।त्यसैगरी, ३२ करोड ५८ लाख बराबर ४ सय ५० टन कफी आयात भयो । यसैगरी, २०८० ÷०८१ मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ टन कफी निर्यात भयो । त्यसैगरी, ४१ करोड ९८ लाख बराबरको ४ सय ४३ टन कफी आयात भएको छ ।
कफी खेतीका बारेमा राज्यले चासो र चिन्ता व्यक्त गर्न थालेको केही दशक बिते, तर हामी कफी उत्पादन बढाउन सकिरहेका छैनौं । आयात प्रतिस्थापन गर्न सकेनौं । निर्यात पनि अपेक्षाकृत बढाउन सकिरहेका छैनौं । के कारणले यस्तो अवस्था आएको छ ?
कफी विकास बोर्डको अहिलेसम्मको तथ्यांकले कुल ४ हजार ३ सय ९ हेक्टरमा कफी खेती विस्तार देखिन्छ । तर बजारले भन्छ,— कफी खेतीको व्यवसायिक विस्तार गर्दा मुलुकले धेरै लाभ पाउन सक्छ । आयात प्रतिस्थापन गरी निर्यात गर्न सक्छ । बजारको माग राम्रो भएको कफी खेती गर्न नागरिक जागरुक पनि भए तर रोगकिराको नियन्त्रण नहुँदा केही वर्ष अघि कफी किसानले ठूलो नोक्सानी व्यहोरे । यही नोक्सानीले निराश किसानलाई सरकारको साथ चाहिएको छ । किसानलाई बेर्ना अनुदान दिएर मात्रै हुँदैन्, राम्रो प्राविधिक सल्लाह र समाधान चाहिएको छ । कफी खेतीमा लाग्ने रोगकिराको पहिचान र उपचार गर्न सक्ने प्राविधिकको अभाव पूर्ति गर्न सरकारले चासो दिइरहेको छैन । कफी खेतीसम्बन्धी विषय विज्ञ तयार गर्न विभिन्न मुलुकमा अध्ययन गर्न पठाउन सकिन्छ । विषयविज्ञ तयार गरी कफी खेतीमा केही वर्ष लगानी बढाउन पनि आवश्यक छ । लगानी बढाएर युवालाई कफी खेतीमा लगाउन सक्दा मुलुकले ठूलो लाभ पाउन सक्ने संभावनाको बाली हो कफी ।
अब सानो मात्रामा होइन्, ठूलो फर्ममा खेती गर्ने, त्यस्तो खेती सामुहिक प्रणालीमा गर्ने परिपाटीको व्यवस्था गर्ने र कफी खेतीमा गाउँमा करार खेती मोडल लागु गर्ने हो भने कफीको विस्तार गर्न सकिन्छ ।




