पूर्व सभामुख दमननाथ ढुंगानाको निधनले मुलुकले इमान्दार राजनीतिज्ञ, मानवअधिकारकर्मी र कुशल सभामुख गुमाएको छ । ढुंगानाको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको छ ।
२०४७ सालको संविधान बनेपछि भएको पहिलो प्रतिनिधिसभाको चुनावपछि सभामुख चुनिएका थिए, ढुंगाना । कांग्रेस र एमालेबीचको कठोर तिक्तताका बीच पनि उनी सर्वसम्मत सभामुख चुनिए । कांग्रेसले ढुंगानालाई उम्मेदवार खडा गरेपछि एमालेले झलनाथ खनाललाई उम्मेदवारी फिर्ता गराएर सर्वसम्मत हुने वातावरण बनाएको थियो । राजनैतिक सहकार्यको वातावरण भन्दा पनि ढुंगानाको व्यक्तित्वप्रतिको सम्मान थियो त्यो । कांग्रेस सत्तामा थियो, एमाले प्रतिपक्षमा । २०४८ देखि २०५१ सम्मको यो अवधि कांग्रेस -एमाले टकरावमा बित्यो । एमालेप्रति कठोर रहेका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला विषम परिस्थिति थियो । यस्तो बेला ढुंगानाले संसदलाई सन्तुलित बनाए । उनले सत्ता पक्षको लागि सरकार र सदन प्रतिपक्षको भन्ने संसदीय मुल्य र मान्यतालाई स्थापित गराएर संसदीय मान्यतालाई संस्थागत गरे ।कठिन र चुनौतिपूर्ण अवस्थामा हो व्यक्तिको मूल्याङ्कन हुने, ढुंगानाले व्यवहारमै सदन प्रतिपक्षको भन्ने मान्यतालाई स्थापित गरेको विषय महत्वपूर्ण छ ।
माओवादी द्वन्द्वका बेला शान्तिपूर्ण अवतरणको लागि उनले निभाएको भूमिका पनि अतुलनीय छ । माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन उनले खेलेको भूमिका र सक्रियताकै कारण उनलाई माओवादीको आरोप लाग्यो । तर पनि उनले कुनै प्रवाह गरेनन् । उनी कहिल्यै माओवादी भएनन् । लोकतान्त्रिक मुल्य मान्यताको पक्षमा खुलेर बोले । द्वन्द्वको शान्तिपूर्ण रुपान्तरणमा उनको सक्रियता र समन्वय अब्बल रहयो । पत्रकारिता, वकालत, मानवअधिकारको आन्दोलन हुँदै राजनीतिमा हेलिएका उनी २०४८ सालको चुनावपछि चुनाव जित्न सकेनन्, भलै उनी निष्ठाका सिपाही थिए । लोकतान्त्रिक मुल्य र मान्यतालाई व्यवहारमै आत्मसात गर्ने एक सतिसाल थिए । चुनावमा हुने हार जितले मात्रै व्यक्तिको व्यक्तित्व निर्माण हुने होइन् । व्यक्तिले अगाल्ने व्यवहारले उसको व्यक्तित्व निर्माण हुने हो ।
मुलुक अहिले कठिन अवस्थामा गुज्रिरहेको छ । लोकतान्त्रिक प्रक्रिया संस्थागत हुने क्रममा छ । समाजमा बढ्दो अराजकता र राजनैतिक बेमेलले मुलुकका अप्ठारा दिन अझैँ आउँदै छन् भन्ने संकेत देखिन्छ । यस्तो बेला ढुंगाना जस्ता समन्वयकारी र प्रष्ट व्यक्ति जसले आफ्नो विचार र धारणमा अरुलाई सहमत गराएर हिडाउन सक्यो, यस्तै कुशल व्यक्तिको खोजी गरिरहेको छ । उनका असल गुणलाई आत्मसात गर्दा नै मुलुकले लाभ पाउनुको साथै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने छ । निष्ठा र समर्पणका खम्बा दमननाथ ढुंगानालाई हार्दिक श्रद्धाञ्जली ।




