सामाजिक सञ्जालको मनपरी प्रयोगले अहिले समाजमा अराजकता बढेको छ । कसैलाई प्रमाणहिन आरोप लगाउने र त्यही आरोपको विश्वासमा धारणा बनाइँदा समाजमा भ्रम धेरै बढेको छ । त्यही भ्रमले समाजमा अराजकता मौलाउँदै गएको छ । समाजमा मौलाएको अराजकताले देशलाई बर्बादीतिर लैजाने जोखिम बढेको छ ।
प्रधानमन्त्री केपी ओलीलगायतलाई तथ्यहिन आरोप लगाइरहेका दुर्गा प्रसाईंले गलत प्रचार गरेर समाजमा अराजकताको आगो झोसिरहेका छन् । प्रसार्इंले प्रधानमन्त्री ओलीले कम्बोडियामा करोडौं लगानी गरेको प्रचार गर्दै आएका छन् । आफूसँग प्रमाण रहेको बताउँदै आएका प्रसाईंको प्रमाणको आधिकारिता केही छैन । प्रहरीले केही समयअघि विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरी कानुनी दायरामा ल्याएको थियो । अहिले पुनः उनी पक्राउ परेका छन् । उनलाई प्रहरीले साइबर अपराध ऐनअन्तर्गत अनुसन्धान अघि बढाइरहेको छ । उनलाई मानहानी, किर्तेलगायतमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
प्रसार्इं मात्रै होइनन्, सामाजिक सञ्जालमा अभियन्ता भन्न रुचाउने पूर्व सचिव भीम उपाध्यायले अरुकाविरुद्ध मनपरी पोष्ट गर्ने र टिप्पणी गर्दै आएका छन् । समाजमा नाम चलेका अनुहार र पात्र नै अरुको चरित्रहत्या गरेर समाजमा वितृष्णा र नकारात्मक मनोविज्ञान तयार गरेका छन् । अहिले समाजमा चौतर्फी निराशा छ, यो बेला समाजमा अविश्वास र आशंका चुलिएको छ । यस्तो बेला जिम्मेवार नागरिकले अविश्वासलाई विश्वासमा बदलेर समाजको निराशालाई बदल्ने हो । निराशाले समाजलाई सही दिशामा लैजाँदैन् । सरकार र राजनैतिक दललाई कमजोर बनाउने ‘मिशन’ अनुसार चालिएका कदम पटक्कै स्वाभाविक होइनन् ।
सामाजिक सञ्जालको गलत प्रयोगले निम्त्याएको जोखिमलाई सामान्य ढंगले लिनु हुँदैन । यसले जातीय सद्भाव खल्बलाउन सक्छ, सामाजिक सद्भाव बिर्गान सक्छ । सहिष्णुता र मेलमिलापको वातावरण बिर्गान सक्छ । आपसी सद्भावको वातावरण कायम गर्न सामाजिक सञ्जालको सही प्रयोग सहयोगी बन्न सक्छ ।
सामाजिक सञ्जाललाई भ्रमको सञ्जाल बनाउनेहरु कानुनी दायरामा ल्याइनु स्वाभाविक छ । यो सामाजिक सञ्जाललाई नियमन गर्न कमजोर कानुनले अब संभव छैन । बदलिंदो परिवेशमा सञ्जालको नियमन गर्न कानुनमा सुधार गर्न जति आवश्यक छ, प्रहरीको साइबर ब्यूरोलाई साधनस्रोत सम्पन्न बनाउन उत्तिकै आवश्यक छ ।




