विनबहादुर कुँवर
प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणलाई लिएर देशभित्र र बाहिर विभिन्न खाले टीका टिप्पणी र चर्चा परिचर्चा हुन थालेको छ । चीन नेपालको उत्तरी छिमेकी मुलुक हो । त्यस्तै भारत नेपालको दक्षिणी छिमेकी मुलुक हो । यी दुई मुलुकबीच नेपालको परापूर्वकालदेखि सम्बन्ध रहँदै आएको छ । भूगोल र आकार अनि आर्थिक र शक्तिले चीन–भारत नेपालभन्दा ठूला सम्पन्न र शक्तिशाली भए पनि देशको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता अनि स्वाधीनता र स्वाभिमानताको हरहिसाबले नेपाल उनीहरु समान नै छ । तर बेला मौकामा नेपालप्रतिको यो दृष्टिकोण यी दुई छिमेकी मुलुक खासगरी भारतले राखेको पाइँदैन । त्यसैले गर्दा भारतप्रति आम देशभक्त र स्वाभिमान नेपाली जनताले अलि भय र सशंकित रुपले हेर्ने र बुझ्ने गरेको पाइन्छ । हुन पनि भारतले नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक आदि सबैमा प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गर्दै आएको छ । नेपालको सीमा अतिक्रमण साथै कैयौं भू–भाग नै भारतले कब्जा गर्दै आएको छ । यसै क्रममा नेपाली जनता चीनसितभन्दा अलि बढी भारतसित चिडिंदै आएका छन् । यस अर्थमा कुनै प्रधानमन्त्री वा नेताको भारत भ्रमणप्रति नेपाली जनता अलि बढी ससंकित हुनु स्वाभाविक छ । तर चीन भ्रमणमा भन्ने त्यस्तो देखिंदैन ।
तै पनि आसन्न प्रम ओलीको यही मंसिर १७ देखिको चीन भ्रमणलाई लिएर कतिपयले विभिन्न खाले नकारात्मक टीका टिप्पणी गर्ने गरेको पाइँदैछ । यस्तो बढी पहिले पहिले नेपाली कांग्रेसबाट हुने गर्दथ्यो । तर यसपालि भने यस्तो टीका टिप्पणी बढी एमाओवादी पार्टीबाट हुने गरेको छ । हालै भारतबाट प्रकाशित द हिन्दु भन्ने पत्रिकामार्फत् एमाओवादी अध्यक्ष प्रचण्डले प्रम ओलीको चीन भ्रमणलाई भारत विरोधी चिनियाँ कार्डको रुपमा अर्थाउँदैै भारतलाई उचाल्ने काम गरिरहेका छन् । पहिले पहिले यस्ता चिनियाँ भ्रमणहरुलाई भारतीय विभिन्न मिडिया र भारतीय नेताहरुले यस्तै आरोप–प्रत्यारोप लगाउँदै नेपाल र नेपालका नेतताहरुप्रति नकारात्मक टिप्पणी गर्ने गर्दथे । तर यसपालि भने स्वयं नेपाली दल र दल नेताहरु त्यसमा पनि अझ आफूलाई कम्युनिष्ट भन्ने माओवादी पार्टी र नेताहरुबाट नै भएको छ । यसका पछाडिको नियत र कारण के हो ? चर्चा गर्नुपर्ने देखिन्छ ।
बुझ्ने र जान्नेलाई इशारा नै काफी छ । यो हरुवा गोरुको छेरुवा दाउँ हो । पटकपटक कांग्रेस–एमालेलाई कजाई खाईपाई आएका प्रचण्ड अहिले त्यसो गर्न र खान नपाइएकोमा अर्थात् ९० सिटे कांग्रेस ८० सिटे एमालेलाई ३२ सिटे माओवादीले बस उठ गराई सत्तामा रमाउँदै आएकोमा त्यो नपाएपछि यो मुर्छित प्रचण्डको रुवावासी हो । आफू मरे भूतै राजा जसलाई भन्दा र उचाल्दा वा गर्दा यो सरकारलाई पल्टाउन सकिन्छ र फेरि आफू त्यहाँ पुगिन्छ त्यही गर्दैछन्, कमरेड प्रचण्ड । अर्काे सौताको रिसले पोइको काखमा पिसाब अर्थात् कांग्रेस–एमाले अझ बढी प्रम ओलीको रिसले नेपाल आमाको काखमा पिसाब गर्ने दुष्कर्म गर्दैछन् प्रचण्डले । त्यो पनि भारतलाई गुहारेर । कठैबरा विचरा ! १० वर्षे माओवादी जनयुद्धका नायक क. प्रचण्डको यो भारतको दलाली र चाकडी ! सयौं होइन हजारौं पटक भारतीय विस्तारवाद–मूर्दावाद भन्दै आएका प्रचण्डको यो कस्तो भारत भक्ति ? कस्तो विडम्बना र अचम्म ?
हुन त अचम्म मान्नुपर्ने केही छैन । भनिन्छ सत्ताले मान्छेलाई अन्धो बनाउँछ । त्यस्तै अन्धो अर्थात् टागन घोडाको जस्तै यो सत्ताले प्रचण्डलाई खाली अघि यस्तै सत्ता देखाई मात्र रहेको छ । के गर्दा र भन्दा खाली त्यो पाइन्छ त्यसैमा सब उनको सुर्ता सपना छ । केही महिना पहिले प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई गोप्य रुपमा भेटवार्ता गरे । पछि राजाकै दलाल दरबारिया राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रसँग त आफ्नो घर आँगनमा नै घण्टौैं भेटवार्ता गरे । त्यो भेटवार्ताका पछाडि पनि सत्ता स्वार्थ नै थियो । पूर्व राजा पूर्व पञ्च–मण्डले र दरबारिया सबलाई उचालेर यो कांग्रेस–एमाले सरकारलाई असफल पार्ने अनि आफू राजा, पञ्चे, मण्डलेहरुकै बुई चढेर पुनः यस्तो सत्तामा पुगी छाड्ने दाउ पनि छ प्रचण्डको । तर यो सब गर्दा पनि केही नलागेपछि निराशाका साथ उनले भने अब म र मेरो पार्टी २०८४ को आम निर्वाचनसम्म सरकारमा जाँदैन र प्रतिपक्षमा नै बसी यो सरकारको खबरदारी गरिरहन्छ । आवश्यक परे सडक संघर्ष त्यसले पनि नपुगे आम विद्रोह नै गरिन्छ भन्दै हिंडे ।
भनिन्छ पिंध नभएको लोटा जता गुल्टायो उतै गुल्टिन्छ । ठीक यो नेपालको राजनीतिमा एमाओवादी अध्यक्ष प्रचण्डमा देखिन्छ । कुनै बेला भारतीय विस्तारवादका विरुद्ध ‘सुरुङ युद्ध’ थालनी गरिएको भन्दै चिनियाँ सहयोगको लागि हारगुहार गर्ने प्रचण्ड अहिले प्रम ओलीको चिनियाँ भ्रमणलाई भारत विरोधी चिनियाँ कार्ड भएको भनिरहेका छन् । घुमाई फिराई भारतीय विस्तारवादको दलाली र चाकडी गरी पुनः सत्तामा फर्कने लालचा उनमा छ । प्रम ओली भारत विरोधी र चीन पक्षधर भएको भारतीय विस्तारवादी शासकहरुलाई चुक्ली लगाएर अब भारतको साथ सहयोगमा पुनः सत्तामा फर्किन्छ भनेर अहिले उनको बोली फेरिएको छ । फेरि ३२ सिटे जादुगरी चमत्कारीको उल्लेख गर्दैछन् । ओली चीन भ्रमणमा जानु प्रचण्डका लागि फलिफाप हुने अनुमान एमाओवादीका प्रचण्ड दलालहरुको पनि छ । हालै मात्र एमाओवादीका प्रवत्ता अग्नि सापकोटाले पनि ओलीको चीन भ्रमणलाई भारत विरोधी चिनियाँ कार्ड भएको बताएका छन् ।
जुनसुकै सरकार प्रमुखको विदेश भ्रमणलाई अन्यथा लिन सकिंदैन । जान्छन् र जानु पर्दछ । त्यसमा पनि अझ आफू छिमेक मुलुकहरुमा जानुलाई स्वाभाविक मानिन्छ । तर त्यस्तो भ्रमण किन र के का लागि ? मुख्य कुरा यो हो । भ्रमणको मूल उद्देश्य र कारण के हो ? पहिले त्यसको खुलासा हुनुपर्दछ । त्यो नभई खाली बधाई लिन र आशीर्वाद थाप्न मात्रै त्यस्तो भ्रमण गर्नु गलत हो । जस्तो यसभन्दा पहिले कमरेड प्रचण्डको भारत भ्रमण खाली गेरु बस्त्र धारण गरी काली मन्दिरको पूँजापाठ गर्नैकै लागि र केही मूर्रा राँगो उपहार लिनकै मात्र भएको थियो । नेपालभारतबिच भएका त्यस्ता कुनै पनि समस्याहरुको बारेमा त्यहाँ केही पनि भएन । मोदीको आशीर्वाद थाप्न मै त्यो सीमित रहयो । नेपाल–भारत सीमा विवाद, कालापानी, लिपुलेक र लिपिम्याधुरा अतिक्रमण, इपिजीको प्रतिवेदन आदिको त्यहाँ कुरै भएन । यी विषय उठाउँदा नेपाल–भारत सम्बन्ध बिग्रने देखिएकाले यी कुरा नउठाइएको प्रचण्डको स्वीकारोक्ति थियो त्यतिबेला । एक प्रकारले यो प्रचण्डको भनाइ भारतीय दलाली र चाकडी र आत्मसमर्पणको पराकाष्ठा थियो । ठीक यस्तै विदेश भ्रमण अब पनि जो कुनै नेपाली शासकहरुले गर्ने गर्दछन् भने त्यो गलत नै हुनेछ । अब हुने भनिएको प्रम ओलीको चीन भ्रमणमा पनि यस्तो नहोस् ।
चीन–नेपालबिच पनि त्यस्ता विभिन्न विषय छन् । बि.आर.आई. चिनियाँ प्रस्ताव हो भने नेपालको पहिलो प्रस्ताव भारत अतिक्रमित लिपुलेक, कालापानी र लिपिम्याधुराको हो जुन क्षेत्र भारत र चीनबिचको नेपाली भूमि हो । त्यसमा चिनियाँहरुले पनि चासो राख्ने ठाउँ हो । नेपालको हितमा हुने दुई पक्षीय सन्धि सम्झौता जस्तो विगतमा भएको ओली भ्रमणले चिनियाँ भू–भाग हुँदै तेस्रो मुलुकलाई अन्तर्राष्ट्रिय व्यापार पारवहनको बाटो खुलाइएको थियो । जसबाट नेपालको भूपरिवेष्टिक अवस्थाको बाँध तोडिको थियो । दुई पक्षीय सहयोग आदान प्रदान जुन दुवैको आपसी हितमा आधारित हुनुपर्दछ । जस्तो अमेरिकी सहयोग परियोजना एमसीसी यसबाट देशको राष्ट्रिय स्वाभिमानमा खतरा पार्ने खालको छ । त्यसै सित्तैमा सहयोग पाइयो भन्दैमा यस्ता परियोजनाहरु देशमा भित्राउँदै जाने हो भने सस्तो बेसाहाले पखला लगाउँछ भने जस्तै पुरै देशलाई नै सखाप पार्ने देखिन्छ । चिनियाँ बि.आर.आई. परियोजनाको विषयलाई पनि यही आधारमा लिनु पर्दछ ।
मूलत नेपालका जुनसुकै शासक र नेताहरुको विदेश भ्रमण खास उद्देश्य र हितका लागि भन्दा पनि बढी आआफ्नो सत्ता स्वार्थमा नै बढी केन्द्रित हुँदै आएको छ । यहाँ ओली ठीक प्रचण्ड–देउवा बेठिक भन्न चाहिँ खोजिएको होइन । केही मात्रात्मक र विषयगत रुपमा प्रचण्ड–देउवाभन्दा ओलीमा सकारात्मक देखिन्छ । खासगरी राष्ट्रियताको मामिलामा जस्तो भारतीय नाकाबन्दी विरुद्ध ओलीको अडान अनि माथि भनिए जस्तै चिनियाँ भू–भाग हुँदै अन्तर्राष्ट्रिय व्यापार तथा पारवहान विस्तार आदि सकारात्मक छन् । तर ओलीका पनि थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय गलत कामहरु पनि छन् । विगतको महाकाली सन्धि सम्झौतामा उनले देखाएको राष्ट्रघाती कदम त्यस्तै एमसीसी सदनबाट पारित गराउनमा उनको भूमिका आदि थुपैै्र राष्ट्रघाती उदाहरणहरु छन् । हुन त यो राज्य सत्ताको स्वरुप नै त्यस्तै सामन्ती दलाल र नोकरशाही बुर्जुवा प्रकारकै भएकाले यसलाई स्वीकार गरी यहाँ जो आए पनि हुने राष्ट्रघाती र दलाल नै हुने हो । अलि फरक त्यति छ कि प्रचण्ड जस्तो खुलम्खुला राष्ट्रघाती र विदेशी दलाल हुने कि नहुने भन्ने मात्रै हो ।
अन्त्यमा भ्रमण आवश्यक विषयको आधारमा गरिन्छ । त्यो पहिले वा पछि जहाँ पनि हुन सक्छ । तर नेपालमा के एउटा भाव्य जबर्जस्ती स्थापित गराउन खोजिएको छ भने त्यो पहिलो भ्रमण भारतमै हुनुपर्ने । यो भारतीय दासता र दलाली हो । यो भारतीय नव औपनिवेशिकपनको उपज हो । यसलाई भारतीय शासक र नेताहरुले मात्रै होइन नेपालकै शासक र नेताहरुले समेत स्वीकार गर्दै आइरहेका छन् । स्वयं १० वर्षे माओवादी जनयुद्धका त्यति ठूला नायक प्रचण्ड पहिलो पटक नेपालको प्रधानमन्त्री बनिसकेपछि त्यो पहिलो विदेश भ्रमण चीनमा गरेका थिए । तर नेपाल फर्केपछि भने त्यसलाई महत्व नदिई भारतकै दलाली गर्दै आफ्नो पहिलो विदेश भ्रमण भारतमै हुने बताए । १२ बुँदे दिल्ली समझदारीकै भारतीय गुन खातिर त्यो भन्न बाध्य पारिए । त्यसैको गुन खातिर प्रचण्ड पटक–पटक प्रधानमन्त्री बनिरहेका छन् । हालै हुने भनिएको प्रम ओलीको चीन भ्रमणलाई प्रचण्डले भारत विरोधी चिनियाँ कार्ड भनेर फेरि भारतलाई त्यो गुन फर्काएका छन् ।




