काशीनाथ गौतम
बाहिरबाट झट्ट हेर्दा सञ्चालनमा रहेको जस्तो देखिने गोरखकाली रबर उद्योग अहिले बन्द अवस्थामा छ । नेपालीमा एउटा भनाइ छ-‘न्याय नपाए गोरखा जानु’ ठयाक्कै भने जस्तै गोरखामा पनि रबर उद्योग न्यायको भिख मागिरहेको छ । अहिले गोरखकाली रबर उद्योग गोरखा जिल्लामा रहेको देशकै ठूलो एउटा रबर उद्योग बन्द अवस्थामा रहेको छ । बाहिरबाट हेर्दा सञ्चालनमा रहेको जस्तो देखिए पनि भित्र उद्योगको अवस्था कहालिलाग्दो छ, उद्योगको गेट अगाडि विभिन्न पार्टीका भातृ संगठनहरुका व्यानरहरु टांसिएका छन् । २०४२ सालमा राजा त्रिभुवन वीरविक्रम शाहले शिलान्यास गरेको गोरखकाली रबर उद्योग २०५० सालबाट पूणर्रुपमा सञ्चालनमा आएको थियो ।
गुणस्तरीय टायर उत्पादन गरी आफ्नै देश आत्मनिर्भर हुँदै सुरुवाती समयमा उद्योगले राम्रो व्यवसाय विस्तार गरेको थियो । उद्योगले नेपालमा मात्र नभएर भारत, बगंलादेश, भुटानलगायत धेरै देशमा निर्यात गरेको बताइन्छ । आज गोलिस्टार नेपाली जुत्ताले विश्वमाज चिनिएको छ । त्यसैगरी गोरखकाली रबर टायरले विश्वमा आफ्नो छुट्टै पहिचान बनाइ सकेको थियो । त्यती बेलाको समयमा उद्योगमा मात्र चार सय कर्मचारी कार्यरत थिए । छ सय रोपनी क्षेत्रफलमा फैलिएको उद्योग झाडीमा परिणत भएको छ । भएको मेसिनहरु खिया लागेका छन् । कच्चा पर्दाथ यत्रतत्र छरिएर रहेका छन् ।
देशमा ०६२ ०६३ को जनआन्दोलन भयो देशमा लोकतन्त्र गणतन्त्र आयो, त्यसपश्चात् राजनीतिक दल हाबी हुँदै गए, उनीहरुका विभिन्न नाममा भातृ संगठन खण्डा हुँदै गए, तब उद्योगको अधोगती सुरु भएको थियो । उद्योगमा उत्पादनभन्दा राजनीति बढी हुन थाल्यौँ, उद्योगभित्र विस्तारै राजनीतिक दलका भातृमजुदर संगठन एकपछि अर्को गर्दै बिस्तार हँुदै गए, त्यसपश्चात् उद्योगमा बन्द, हड्ताललगायत सुरु भएको थियो ।
फलस्वरुप एउटा उद्योगको २०७२ सालमा आइपुग्दा पूणर्रुपमा अवसान भयो । उद्योग बन्द भएको दश वर्ष भयो दुई/तीन जना बन्द उद्योगको सुरक्षाको लागि कर्मचारी राखिएको छ, बन्द उद्योग सञ्चालनमा नआउँदा राज्यले करोडौँ नोक्सान ब्योहोरी रहेको छ । प्रत्येक दिन व्यापार घाटा चुलिंदै गएको छ । अर्कोतर्फ देशमा बेरोजगारी चरम रुपमा चुलिंदै गएको छ । यस्तो अवस्थामा भएका उद्योगहरु विभिन्न बाहाना र समस्या देखाएर बन्द गराइएको छ ।
अहिले देशमा तीन तहका सरकार छन्, तर कुनै पनि सरकारले बन्द भएका उद्योग खोल्न कुनै अग्रसर देखाएको पाइदैन । आखिर बन्द भएका उद्योगहरु कस्ले सञ्चालन गर्ने ? र कहिले सञ्चालन गर्ने ? जनताले प्रश्न गरिरहेका छन् । घर अगाडिको उद्योग बन्द हुँदा यहाँका अधिकांश युवा अहिले वैदेशिक रोजगारीमा छन् । कसैले आएर कम्पनी कसरी बन्द भयो भनेर सोध्यो भने स्थानीयले खै भन्छन् र यिनै राजनीतिकदलको कारणले त होलानी भन्छन् । रोजगारी दिन्छौं, बन्द उद्योग सञ्चालन गर्छौं, हामीलाई भोट दिनुहोस् भन्दै जितेर गएका सांसद उद्योग सञ्चालन गर्न त के गाउँ समेत फर्केर आउँदैनन् । यिनीहरुबाट देश समृृद्धि हुन्छ भनेर हामी जनताले के आशा गर्नु । गोरखा जिल्ला आफँैमा एउटा यस्तो जिल्ला हो जसको आफ्नै इतिहास छ । जसलाई पृथ्वीनारायण शाहको जिल्ला भनेर पनि चिन्ने गरिन्छ ।
पृथ्वीनारायण शाहको बारेमा यहाँ लेखि रहनुपर्ला जस्तो लाग्दैन, थाहा नभएको सायद नहोला । जसले पृथ्वीनारायण शाहको योगदानको कदर गर्दैन उसले यो देशलाई माया गर्छ जस्तो लाग्दैन । चार वणर् छत्तीस जात मिलेर बनेको सुन्दर देश त्यहीँभित्रको आफ्नै छुट्टै अस्तित्व बोकेको छ । यो देशको त्यही विरासत बोकेको जिल्लामा वर्षेनी विभिन्न जिल्लाबाट भ्रमण गर्ने पर्यटक विद्यार्थी आउने गर्छन्, गोरखा पृथ्वीनारायण शाहको दरबार नपुग्दै गोरखा जिल्ला छिर्न लाग्दा गेटबाट पाँच सय मिटरभित्र सडकको छेउमा गोरखकाली उद्योग देखेपछि गर्वले छाति ठुलो हुन्छ, जब बन्द भएको देख्छन् सुन्छन् तब मन खिन्न बनाउँछन् र अब योभन्दा माथि के हेर्न जानु, अब वर्तमान यो उद्योगको अवस्था हेरेर गर्व गर्ने कि पृथ्वीनारायण शाहले गरेको योगदान सम्झेर गर्व गर्ने । देशमा गर्व गर्ने लाएको त्यस्तो ठाउँ छैन । जहाँ हेर्यौ त्यही राजनीति छ । एकपछि अर्को गर्दै उद्योगहरु बन्द हुँदै गएका छन् । सञ्चालनमा रहेका कति उद्योग घाटामा सञ्चालनमा छन् । कति बेला ति उद्योग पनि बन्द हुनेहुन थाहा छैन । सरकार छ, तर कहाँ छ ? के गर्दै छ ? जनताले थाहा पाउन सकेका छैनन् । जनता भूमरीमा छन्, के गर्ने के नगर्ने ।
गाउँघर युवाविहीन हुँदै गएका छन् । गाउँमा बा, आमा बिरामी ह्ुँदा अस्पाताल लैजाने युवा छैनन् । मृत्यु भैहाले घाट लैजाने युवा छैनन् । हिंड्ने जस्तो बाटो छैन, उड्ने जस्तो आकाश छैन । तर पनि काठमाडौं सरकार भनिरहेको छ-‘सबै ठीकठाक चलिरहेको छ ।’ रोजगारी माग्न गयो रोजगारी छैन, उद्योगहरु बन्द छन् । उपचार माग्न गयो अस्पतालमा डाक्टर, नर्स, औषधि छैन, तर समाचार आइरहेकोे छ-सबै ठीक छ । ठीक तिनीहरुलाई मात्र छ जो राजनीतिक दलका कार्यकर्ता भएर झण्डा बोकेका छन्, जसले सत्तामा बसेर राज्यको सम्पती दोहन गरेका छन्, उनीहरुलाई यो देश स्वर्ग जस्तै छ, बाँकी जनता नारकीय जीवन बाँच्न बाध्य छन्, भएको युवाहरु विदेशीन बाध्य छन् ।
राजनीतिक दलको अराजकता, भ्रष्टाचार, अन्याय सहेर कहिलेसम्म बस्ने । आफू अन्यायमा परेको उजुरी लिएर प्रहरीकोमा गयो भने उनैले बढुवा गरेका प्रहरी छन्, उजुरी लिंदैन्, विभिन्न बहाना गरेर पीडितलाई उल्टै पीडा थपिदिने काम गर्छ । अदालतमा गयो जताततै कालाकोटे वकिलहरु छन्, उनीहरुलाई राजनीतिक दलका कार्यर्कताभन्दा फरक नपर्ला, न्यायालयभित्र उनै राजनीतिक दलले नियुक्ती गरेका न्यायाधीदशहरु छन् । कहिकतैबाट जनता युवाहरुले न्याय पाउँदैन, न्याय नपाएको झोकमा ठूलो स्वरमा सामाजिक सञ्जालमा चिच्याउँछ, तब सरकारले प्रहरी लगाएर खोरमा जाकिदिन्छ, अनि कसरी बोल्छ ? एउटा युवा जब देशभित्र न्याय पाइदैन् तब एउटा युवा पासर्पोट बनाएर देश छोड्ने निणर्यमा पुग्छन् । भविष्यमा देश हाक्ने युवाहरु बुढा भएको बा, आमालाई छाडेर विदेशीन बाध्य छन्, यता देश दिन प्रतीदिन युवाविहीन हुँदैछ, अब कसले चलाउने ति बन्द भएका उद्योगहरुलाई ? कसले न्याय दिने अन्यायमा परेका जनताहरुलाई ? आउनुहोस् एक पटक अन्यायको विरुद्ध न्यायको लागि सबै मिलेर चिच्याउँ हामीलाई न्याय देउँ, बन्द भएका उद्योगहरु सञ्चालन गर, हामीलाई यही देशमा बाँच्न देउ, रोजगारी देउ ।




