भैरहवा । नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक अत्याधुनिक डिपो निर्माणको लागि डिपीआर गर्ने सम्झौता भएको छ ।
आयल निगमको रुपन्देहीको रोहिणी नदी किनारस्थित ओमसतिया र रोहिणी गाउँपालिका क्षेत्रमा अवस्थित जग्गामा बुद्धबार भण्डारण क्षमता वृद्धि परियोजना र काठमाडौं विश्वविद्यालय, (कन्सल्टेन्सी सेवा) बीच कार्यालय भवन र डिपो निर्माणका लागि डीपीआर तयार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
एक समारोहका बीच क्रममा भण्डारण क्षमता वृद्धि परियोजना, रुपन्देहीका प्रमुख तथा निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौं विश्वविद्यालय (केयू) कन्सल्टेन्सी विभागका प्रमुख विवेक बरालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
डिपिआरका लागि नेपाल आयल निगम निगम लिमिटेड, भण्डारण क्षमता वृद्धि परियोजना र काठमाण्डौ विश्वविद्यालय, कन्सल्टेन्सी सेवाबीच १ करोड ९५ लाख ७६ हजार ५ सय ७८ रुपैयाँ ५५ पैसा (मूल्य अभिवृद्धि कर सहित) मा सम्झौता भएको छ । ६ महिना भित्र डिपिआर हस्तान्तरण हुने सहमति भएको छ ।
नेपाल आयल निगम भलवारी डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीय बासिन्दाको निरन्तरको माग र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्नका लागि रोहिणी नदी किनारमा २१ बिघा जमिनमा आधुनिक डिपो निर्माणको काम थालिएको हो । नेपाल आयल निगम लिमिटेडले चालू आर्थिक बर्ष ०८१/०८२ को नीति कार्यक्रममा नै बजेट समावेश गरेको आयोजना प्रमुख प्रदिप कुमार यादवले जानकारी दिए ।
उनले केयूको विज्ञता यो परियोजनामा प्रयोग गर्न पाउँदा खुसी भएको बताए । उनका अनुसार यहाँ आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठूलो क्षमताको स्टोरेज टंयाक समेत बनाइनेछ । केयूको डीपीआरअनुसार तयार हुने परियोजन दिगो र आधुनिक सुविधासम्पन्न हुनेमा विश्वस्त रहेको यादवले बताए ।
भैरहवा-बुटवल मुख्य राजमार्गसँग जोडिएको तिलोत्तमाको भलवारीमा करिब साढे पाँच बिघा जमिनमा हालको लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ । यहाँ पाँच सय १९ किलोलिटर पेट्रोल, ३ हजार ४० किलोलिटर डिजेल र १ सय ४० किलोलिटर मट्टितेल भण्डारण क्षमताका ट्यांकर छन् । बढ्दो खपतको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून रहेको निगमको भनाइ छ ।
अहिलेको भण्डारण क्षमताले पेट्रोलको दुई दिन र डिजेलको ५-६ दिनको माग मात्रै धान्न सक्ने अवस्था रहेको उपनिर्देशक यादवले जानकारी दिए । डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीयबासीको निरन्तरको माग र बढ्दो पेट्रोलियम पदार्थको खपतलाई सम्बोधन गर्नका लागि डिपो स्थानान्तरण नै सबैभन्दा उपयुक्त विकल्प भएकाले रोहिणी नदी किनारमा आधुनिक डिपो निर्माण गर्न लागिएको उनले बताए । रोहिणी नदिको छेउमा रहेको भण्डारण गृहले यस्ता धेरै समस्याहरु हटाउने यादवको विश्वास छ । नेपाल आयल निगमले अहिले प्रादेशिक रुपमै यस्ता भण्डारण गृहहरुको निर्माणको योजना बनाएको उनले बताए ।
सम्झौता कार्यक्रममा बोल्नुहुदै विश्वविद्यालय कन्सल्टेन्सी सेवाका प्रमुख विवेक बरालले निश्चित समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले परियोजनाले विश्वास गरेकोले यसमा खरो उत्रि उत्कृष्ट काम गरेर देखाउने बताए । “निश्चित समय भित्र निश्चित गुणस्तरमा काम सकाउन हामी प्रतिवद्ध छौं ।” यो डिपिआर निर्माण मात्र नभई सिक्ने र सिकाउने स्थलको रुपमा पनि रहने बताए ।
निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी करिब ३ अर्ब २० करोड रुपैयाँको लागतमा आयल निगमले रोहिणी नदी किनारमा सुविधासम्पन्न आधुनिक डिपो बनाउँदैछ । तीन हजार किलोलिटर क्षमताको तीन ठूला भर्टिकल ट्यांकीमा कूल ९ हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह बन्नेछ । त्यस्तै ७ सय ६० किलोलिटर अटाउने तीनवटा भर्टिकल ट्यांकीमा कूल २ हजार २८० किलोलिटर क्षमताको पेट्रोल भण्डारण गृह र २ सय ५० किलोलिटर क्षमताको दुई वटा भर्टिकल ट्यांकीमा ५ सय किलोलिटरको मट्टितेल भण्डारण गृह बन्नेछ ।
डिपो भित्र कम्तीमा एक सय ५० वटा टैंकट्रक सजिलै आवात जावत गर्न सक्न ठूलो क्षमताको पार्किङ स्थल पनि बन्नेछ । अमेरिकन पेट्रोलियम इन्स्टिच्यु (एपिआई) को मापदण्डलाई पूणर् पालना गरी तयार हुने डिपोमा नविन प्रविधिको सुरक्षा प्रणालीहरु जडान हुने छ ।
काठमाडौं विश्वविद्यालयका डीन मनिष पोखरेलले निगमले केयूलाई विश्वास गरेको भन्दै खुसी व्यक्त गरे । उनले केयूको इमान्दारिता र मिहिनेतलाई विश्वास गरिदिन आग्रह गरे । २०२७ सालमा स्थानमा भएको नेपाल आयल निगम काठमाण्डौंको टेकुमा प्रधान कार्यालय रहेको छ । आयल निगमको ७ वटा प्रादेशिक कार्यालय, ३ वटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र २ वटा हवाई इन्धन रिफ्युलिङ्ग स्टेशन संचालनमा छन् ।
पेट्रोलियम पदार्थका लागि आयातमा निर्भर रहेको नेपालका लागि नेपाल आयल निगमले भारतको सरकारी स्वामित्वको ईण्डियन आयल कर्पोरेशन (आइओसी) बाट इन्धन खरिद गरी देशभर बिक्री वितरण एवं भण्डारण गर्दै आईरहेको छ । बिराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, काठमाण्डौ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार ३ सय ८४ किलोलिटर रहेको छ भने करिब ६ सय कर्मचारी निगममा कार्यरत छन् ।




