वर्गीय समाजमा हरेक कुरामा वर्गीय पक्षधरता हुन्छ । राज्य, राज्यसत्ता र व्यवस्था सबैमा वर्गीय पक्षधरता हुन्छ । त्यस्तै हरेक वाद, सिद्धान्त, विचार अनि नीति कार्यक्रममा पनि वर्गीय पक्षधरता नै हुन्छ । जस्तो वादमा सामन्तवाद–पूँजीवाद अनि समाजवाद । त्यस्तै सामन्ती र बुर्जुवा विचार र सिद्धान्त अनि द्वन्द्वात्मक भौतिकवादी विचार र सिद्धान्त । सामन्ती र बुर्जुवा विचार र सिद्धान्त भनेको पूँजीवादी विचार र सिद्धान्त हो भने द्वन्द्वात्मक भौतिकवादी विचार र सिद्धान्त भनेको समाजवादी–साम्यवादी विचार सिद्धान्त अर्थात् कम्युनिष्ट विचार र सिद्धान्त हो । प्रजातन्त्र वा लोकतन्त्र पनि वर्गीयता नै छ । बुर्जुवा प्रजातन्त्र वा लोकतन्त्र भनेको पूँजीवादी प्रजातन्त्र हो भने जनतन्त्र भनेको समाजवादी प्रजातन्त्र हो । गणतन्त्रमा पनि बुर्जुवा र जनराज्य व्यवस्था सबैमा वर्गीय पक्षधरता नै हुन्छ ।
वर्तमान हाम्रो देशको राज्य व्यवस्था सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्य व्यवस्था हो । यहाँ यसैको सत्ता छ । सेना, पुलिस, अड्डा, अदालत सबै यसैको छ । त्यसैले यो जनताको राज्य व्यवस्था र सत्ता होइन । खाली केही मुठ्ठीभर सामन्ती दलाल र नोकरशाही बुर्जुवा–पूँजीपतिहरुको मात्र यो व्यवस्था र सत्ता हो । यहाँ यिनीहरुकै बढी हालीमुहाली, दबदबा छ । प्रजातन्त्र यिनीहरुका लागि मात्र छ । आम जनतालाई शोषण र दमनतन्त्र मात्रै छ । यो बुर्जुवा लोकतन्त्र अनि बुर्जुवा–पूँजीवादी शासनतन्त्र खाली यिनै केही मुठ्ठीभर सामन्ती, दलाल र नोकरशाही बुर्जुवाहरुका लागि मात्र छ । त्यसैले वर्गीय रुपले नै समाज राज्य र राज्य व्यवस्था-सत्ता दुई विपरीत धु्रवमा विभाजित छ । बुर्जुवा,व्यवस्था, सत्ता अनि प्रजातन्त्र यसको विपरीत सर्वहारा राज्य-सत्ता अनि प्रजातन्त्र ।
बुर्जुवा राज्य सत्ता र प्रजातन्त्र भनेको व्यक्ति आत्मकेन्द्रित राज्य-सत्ता र प्रजातन्त्र हो । यो सबै पूँजीमा आधारित छ । पूँजी जसको धेरै छ उसैको राज्य–सत्ता र प्रजातन्त्र छ । उसैको ल एण्ड अडरमा शासन सत्ता चलेको हुन्छ । पुलिस, सेना, अड्डा, अदालत सबै उसैको निगाहामा चल्छ । त्यसैले केही मुठ्ठीभर सामन्ती, दलाल र नोकरशाही बुर्जुवाहरुको शासन सत्तामा बहुसंख्य जनता शासित भएका हुन्छन् । सत्ताको स्वरुप जहिले पनि निरंकुश नै हुन्छ । त्यसैले यो बुर्जुवा शासन सत्ताकोे निरंकुशतामा बहुसंख्यक गरिब, किसान, मजदूर जनताहरु दबिदै आएका छन् ।
पूँजीपतिको पुँजीको आधार शोषणमा छ । बहुसंख्यक किसान–मजदूरहरुको मेहनतको शोषण नै उनीहरुको पूँजी कमाइको आधार हो । त्यसैले यो राज्य व्यवस्था ठग, लुटेरा, भ्रष्टाचारी, तस्करी, चोरी, डकैतीहरुका लागि स्वर्ग र आम शोषित पीडित जनताका लागि नर्क समान नै छ । त्यसैले जे जति राजनीतिक दल, दल नेता र व्यक्तिहरु यो राज्य व्यवस्थामा आउँछन् ती सबै यस्तै ठग, दलाल, भ्रष्टाचारी र तस्करी आदि हुनै पर्दछ । नत्र भने उनीहरुको कुनै हैसियत यसमा रहन्न । त्यसैले आज यहाँ जे जस्ता अपराध अर्थात् ठगी, दलाली, भ्रष्टाचारी र तस्करीहरु भइरहेका छन् । यो सबै यही राज्य व्यवस्थाकै उपज हुन् । सुरु–सुरुमा केही दिन–महिना बडो उदार, स्वच्छ जनमुखी जस्तो देखिए पनि पछि सामन्ती, भ्रष्टाचारी र तस्करी नै भई छाड्छन् । जस्तो राज्य व्यवस्था र सत्ता त्यस्तै नेता कार्यकर्ता र कर्मचारी हुनु स्वाभाविक नै छ ।
आज पुराना पञ्चे–मण्डले र कांग्रेसका त कुरै नगरौं आफूलाई कम्युनिष्ट माले, एमाले, मसाल, माओवादी सबैको हालत त्यस्तै छ । नामले कम्युनिष्ट माक्र्सवादी–लेनिनवादी अझ माओवादी तर काम र व्यवहारले सबै लुटेरा, ठग, दलाल, भ्रष्टाचारी र तस्करी साथै राष्ट्र र जनघाती र गद्दार । वर्गीय दृष्टिकोणले कम्युनिष्टहरुको शासन व्यवस्था र शासन सत्ता बेग्लै छ । जन गणतन्त्र अर्थात् नयाँ जनवाद हुँदै समाजवाद, साम्यववाद कम्युनिष्टको गन्तव्य हो । वर्तमान यो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा शासन सत्तालाई धुलोपिठो नपारी त्यो सम्भव छैन । त्यसका लागि क्रान्तिको विकल्प नै छैन । त्यस्तो क्रान्तिका लागि अर्काे वैकल्पिक शासन सत्ता, क्रान्तिकारी कम्युनिष्ट पार्टी र क्रान्तिकारी जनसेना जरुरी छ ।
यो विना खाली कम्युनिष्ट पार्टी मात्र भनेर पुग्दैन । त्यसमा पनि अझ यही शासन सत्ताअन्तर्गत चुनावबाट सदन र सरकारमा गएर कम्युनिष्ट शासन सत्ताअन्तर्गतन समाजवादको कुरा गर्नु स्वर्ग जाने नर्कको बाटो भने जस्तै हो । यो जनतालाई ठग्ने, छल छाम र बेकुप बनाउने काम मात्र हो । यहाँका माले, एमाले, मसाले र माओवादी सबैको धन्दा नै यही छ । त्यसैले यी सबैले आफूलाई कम्युनिष्ट भने पनि खासमा यी सबै भाई पञ्चे, कांग्रेस जस्तै भइसकेका छन् । समग्रमा यी सबै यही सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य व्यवस्था र सत्ताका कारिन्दा नै भइसकेका छन् । यी कसैबाट पनि देश र जनताको उद्धार हुनेवाला छैन । कम्युनिष्ट नाम जप्दैमा, खोल उड्दैमा कम्युनिष्ट भईदैन । यो सबै यिनीहरुको ढाँट, छल, ढोङ र फटाइ मात्र हो ।
यी सबै कम्युनिष्ट नामधारी पार्टीहरुले कम्युनिष्ट विचार, सिद्धान्त र राजनीति अनि यसकोे आदर्श र नैतिकता अनुसार गर्ने कुरा त परै छाडौ स्वयं यही बुर्जुवा राजनीतिक सत्ता अन्तर्गत नै पनि केही गर्न सकिरहेका छैनन् । जस्तो भनिन्छ संसदीय राज्य व्यवस्थामा सत्तापक्षको सरकार र प्रतिपक्षको सदन र सडक । त्यस्तै बहुमतको सरकार र अल्पमतको सदन । तर यहाँ यसको ठीक उल्टो अल्पमतको सरकार बहुमतको सदन हुने गरेको छ । ३२ सिटे माओवादीको सरकार नै भयो । त्यस्तै बहुमतको कांग्रेस प्रतिपक्षी भयो । अहिले पनि दोस्रो ठूलो दल एमाले नेतृत्वको सरकार र पहिलो ठूलो दल कांग्रेस त्यसको सहयोगी दल भइबसेको छ । कथित यो बुर्जुवा संसदीय मूल्य मान्यताअन्तर्गत हुने हो भने बहुमत ठूलो दलको सरकार दोस्रो ठूलो दल एमाले प्रतिपक्ष भई बस्नु पर्ने हो । तर तेस्र्रो ठूलो ३२ सिटे माओवादी दलले कहिले कांग्रेस र कहिले एमालेलाई डो¥याउँदै सरकार चलाइरहयो । कही नभाको जात्रा हाडी गाउँमा भने जस्तै गाई जात्रा नै देखाइरहेका छन्, यहाँका संसदीय ठूला दल कांग्रेस, एमाले र माओवादीहरुले ।
हुनतः माथि नै भनिसकियो यो बुर्जुवा सत्ता र यसको प्रजातन्त्र भनेकै ठूला बडाको मनपरितन्त्र नै हो । बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल नै नविक्ने । के को विचार, नीति नियम ? के को इमान जमान नैतिकता ? जसको शक्ति उसैको भक्ति । सत्ता शक्ति हुँदा जे गर्दा पनि हुन्छ । असन बजारको छाडा साँडे जस्तै न कसैको डर, न कसैको कर । जस्तो एउटा उदाहरण सहकारी ठग रवि लामिछाने कुनै बेला गृहमन्त्री हुँदा देशका प्रहरी प्रमुख (आई.जी.पी.) बसन्त बहादुर कुँवरले मन्त्रीज्यूको नाममा त्यस्तो कुनै उजुरी नपरेको अत्यन्त झुटो जानकारी संसदीय समितिमा बताएका थिए । जबकि त्यतिबेलै पोखरा र बुटवलका सहकारी पीडितहरुले किटानीका साथ रवि लामिछानेमाथि उजुरी हालेका थिए । बल्ल अहिले फेरि तिनै रविमाथि त्यही पहिलेको उजुरीका आधारमा मुद्दा चलाइदैछ ।
कांग्रेस–कम्युनिष्ट वा अरु कुनै पार्टी र स्वतन्त्र जो पनि जब यो राज्य व्यवस्थालाई स्वीकारी यसमा पस्छ तब विस्तारै विस्तारै ती सबैको रुप रंग बदलिंदै जान्छ । अन्त्यमा यी जो कुनै पनि रवि लामिछाने जस्तै ठग, अरु कांग्रेस–एमाले र माओवादीका नेताहरु जस्तै भ्रष्ट जाली र तस्कर नै बन्ने निश्चित छ । कसले सोचेको थियो र माओवादी नेता कृष्णबहादुर महरा यस्ता अनैतिक र तस्कर बन्लान् भनेर ? त्यस्तै कसले पो सोचेको थियो पूर्व माओवादी नेता तथा हालका एमाले सचिव टोपबहादुर मानव तस्कर होलान् भनेर ? त्यस्तै कसले यो सोचेको थियो र १० वर्षे माओवादी जनयुद्धका सर्वाेच्च कमाण्डर पुष्प कमल दाहाल ‘प्रचण्ड’ यस्ता राष्ट्रघाती दलाल बन्लान् भनेर ? आखिर हिजोका जतिसुकै चोखा, इमान्दार अनि त्यागी नै भए पनि जब यो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य सत्तामा छिर्छन तब विस्तारै यी सबैको रुप रंग बदलिदै अन्ततः सबै जस्तो सत्ता छ त्यस्तै सामन्ती दलाल र नोकरशाही बुर्जुवा नै बन्ने निश्चित छ । उदाहरण प्रचण्डको अनि एमाले अध्यक्ष केपी, माधवकुमार साथै डा. बाबुराम भट्टराई जो देशका प्रधानमन्त्री बने सबै कुनै कुनै भ्रष्टाचारमा मुछिएकै छन् । पञ्चे–मण्डले, दरबारिया र कांग्रेसको त कुरै छोडौ यिनीहरुको त जातै जम्दार ठगी खाने, लुटी खाने जे गर्दा पनि हुने कुनै खतवात नै नलाग्ने ।
यी सबैको विकल्पमा केही व्यक्ति र समूह स्वतन्त्रको नाममा यही व्यवस्थाअन्तर्गत चलखेल गर्दै छन् । यिनीहरुको पनि केही दिनको चुरीफुरी मात्रै हो । ढिलो चाडो यिनीहरुको पनि त्यस्तै रुप रंग बदलिने निश्चित छ । घण्टी पार्टी र त्यसका सभापति रवि लामिछानेको रुप रंग उदाङ्गिसकेको छ । अब उदाङ्गिन बाँकी काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङको मात्र बाँकी छ । कुनै बेला यस्तै चुरी फुरी ज्ञानेन्द्र शाही र रविन्द्र मिश्रको पनि थियो । अन्ततः यी दुई पनि पञ्चे मण्डले र दरबारिया नै बनिछाडे । वास्तवमा स्वतन्त्र भन्ने राजनीति नै हुन्न । कुनै न कुनै राजनीतिसँग सम्बन्धित हुनै पर्दछ । आज हाम्रो देशको राजनीति तीन थरी अर्थात् घोर पश्चगामी र यथास्थिति अनि अग्रगामी क्रान्तिकारीमा विभाजित छ । पहिलोमा पुराना पञ्चे मण्डले र दरबारियाहरुको छ, दोस्रोमा कांग्रेस–एमाले–माओवादी, मधेसी आदि छन् भने तेस्रोमा सच्चा क्रान्तिकारी कम्युनिष्टहरु छन् । यसरी अहिले स्वतन्त्र भनिनेहरु पनि ढिलो चाँडो यी कुनै न कुनै पक्षमा जोडिनै पर्ने हुन्छ ।
यी माथि उल्लेखित पश्चागामी र यथास्थितिवादी पक्षधर पार्टी र समूह सबै राष्ट्रघाती र जनघाती भइसकेका छन् । यिनीहरुले भन्ने लोकतन्त्र, गणतन्त्र देश र जनता सबै व्यक्तिगत लुटतन्त्रमा बदलिसकेको छ । सत्ता र शक्तिको लागि यी सबै मरिहत्ते नै गरिरहेका छन् । जे गर्दा र भन्दा त्यो पाइन्छ त्यही नै गर्ने यिनीहरुको निश्चित छ । यी सबैको खबरदारी गर्ने र जनतालाई गोलबन्द गर्दै देशको राष्ट्रियता र जनतन्त्रका लागि अग्रगामी क्रान्तिकारी कम्युनिष्ट पार्टीको खाँचो छ ।




