धरानका प्रमुख हर्क साम्पाङले समाचार लेखेकै आधारमा पत्रकार गोपाल दाहाललाई सामाजिक सञ्जाल फेसबुकबाट दिएको धम्की निन्दनीय छ । प्रमुख साम्पाङले विधि मिचेर मनोमानी ढंगले चलेको बारेमा दाहालले समाचार लेखेका थिए । प्रकाशन र प्रसारण भएको समाचार चित्त नबुझे सम्बन्धित सञ्चारमाध्यममा खण्डन पठाउनुपर्ने र त्यो खण्डन प्रकाशन तथा प्रसारण नभए प्रेस काउन्सीलमा उजुरी दिन पाउने अधिकार सुरक्षित छ । प्रक्रियागत रुपमा अघि बढ्नुको साटो अशिष्ट र अर्मादित शब्द प्रयोग गरेर जिम्मेवार जनप्रतिनिधिले गैरजिम्मेवार हर्कत देखाउनु लोकतन्त्रकै हुर्मत लिनु हो ।
पालिकाका जनप्रतिनिधि जनताको घरदैलोका जनप्रतिनिधि हुन् । त्यसैले तहगत सरकारमध्ये स्थानीय सरकारलाई घरदैलोको सिंहदरबार भनिएको हो । नागरिकको घरदैलोको सरकारलाई सेवा प्रवाहको जिम्मेवारी छ । नागरिकप्रति धेरै जवाफदेही र जिम्मेवार हुनुपर्ने तथा उनीहरुका हरेक प्रश्नको सामना गर्नुपर्ने बाध्यता छ । नागरिकले सिधँै भेट्न पाउने भएकाले गुनासा र समस्या राख्न सक्छन्, त्यसैले स्थानीय तहका जनप्रतिनिधिप्रति बढी भरोसा र विश्वास छ । तर जब जनप्रतिनिधि अराजक र उदण्ड बन्छन्, नागरिकमा निराशा आउँछ । अहिले हर्क साम्पाङले अराजकताको आगो झोसेर नागरिकको मतको अपमान गर्दैछन् । सधँै उग्र बोली बोल्ने उनले केही समय अघि कानुन विपरीत उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवहाकको जिम्मेवारी दिए । प्रमुखले कार्यवहाक दिनुपर्दा उप–प्रमुखलाई दिनुपर्ने हो । उनको रोजाइमा वडाध्यक्ष परे । उनको यो कार्य संवैधानिक प्रबन्धभन्दा बाहिरको विषय हो । साम्पाङले निर्वाचित भएयता धरानमा जातीय द्वन्द्वको बीउ रोपेका छन् । जाति—जातिबिच भिडाउने पटक–पटक प्रयत्न गरे, तर उनका यस्ता हर्कतको नागरिकले खारेज गर्दै आएका छन् । उनका उदण्ड र अराजक क्रियाकलापलाई बैधता सञ्चारमाध्यमले किमार्थ दिन सक्तैन् ।
धरानमा खानेपानीका लागि उनले श्रमदान चलाएर राम्रै गरेका हुन् । यस्ता राम्रा कामले जनसमर्थन पाउनुको अर्थ अरु अराजक हर्कत गर्नका लागि होइन् । अरु राम्र्रो गर्नका लागि हो । सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भएका समाचार सबै प्रशंसाका हुँदैनन् । कतिपय आलोचना र कमजोरी उजागार गरिएका हुन्छन् । आलोचनालाई सहज लिने संस्कार लोकतान्त्रिक प्रणालीमा हुर्केका हरेक नागरिकमा हुनुपर्छ । नगर प्रमुख साम्पाङले विधिविपरीत गरेका काम सच्चाउनुपर्छ । जनप्रतिनिधिको जिम्मेवारीबोध हुनुपर्छ । सामाजिक सञ्जालमा पत्रकारलाई दिएको धम्कीप्रति क्षमायाचना गरी अब त्यस्तो क्रियाकलाप नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ,जसले साम्पाङको मात्रै नभई सबै जनप्रतिनिधिको शिर उचो बनाउँछ ।




