गोविन्द घर्ती / देवदह । देवदहको खयरडाडामा उत्खनन्को क्रममा भेटिएका ऐतिहासिक वस्तुहरु संरक्षणको लागि लुम्विनी विकास कोषमा लगिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा भएको खयरडाडा क्षेत्रमा गरिएको उत्खनन्को क्रममा भेटिएका वस्तुहरु देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको रोहवरमा लुम्विनी विकास कोषमा लगिएको हो ।
एक महिना लगाएतर खयर डाडामा गरिएको उत्खनन्को क्रममा ऐतिहासिक ईनार, कौडा, माटोको करुवा, फलामको बन्चरो, भाचिएको फलामको हसिया, माटोको घैटो, धार लगाउने ढुंगा लगायतका सामाग्री फेला परेको लुम्विनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले जानकारी दिए ।
उक्त ऐतिहासिक वस्तुहरु ईनारमा भेटिएको हिमाल उप्रेतीले जानकारी दिए । खयरडाडा गरिएको उत्खनन्को क्रममा भेटिएका माटोको भाडाहरुलाई जोड्ेर पुनः देवदह नगरपालिकालाई हस्तान्तरण गरिने पुरातत्वविद् उप्रेतीले जानकारी दिए ।
देवदह खयरडाडा क्षेत्रमा गरिएको उत्खनन्मा भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तुको तिलौराकोटमा पाईने वस्तुहरु फेला परेको उप्रेतीले बताए ।
बुद्धकालिन अवस्थामा ईट्टाको प्रयोग नहुने तर माटो र काठको मात्र प्रयोग गरिने भएकोले वास्ताविक देवदह कहा भन्ने एकिन हुन नसकेको उप्रेतीले बताए । देवदह क्षेत्रको उत्खनन्मा पाईएको सवै संरचना महत्वपूणर् रहेपनि खयरडाडामा फेला परेको ईनार अध्ययन पछि मात्र भन्न सकिने बताउँदै उप्रेतीले खयरडाडामा उत्खनन्को क्रममा भेटिएको ईनारलाई नगरपालिकाको आग्रहमा ट्रस निर्माण गरिएको बताए ।उत्खनन्को क्रममा भेटिएका पर्खालहरुलाई भने प्लाष्टिक राखेर पुरिएको उप्रेतीले जानकारी दिए ।
देवदहमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन्को लागि आगामी बर्षपनि बजेटको व्यवस्था गरेको नगर प्रमुख धु्रवप्रसाद खरेलले बताए । देवदह क्षेत्रमा पुरातात्विक क्षेत्रहरु धेरै रहेकोले बार्षिक रुपमा बजेटको व्यवस्था गरेर लुम्विनी विकास कोष र पुरातत्व विभाग संग समन्वय गरेर उत्खनन् गरिने नगर प्रमुख खरेलले बताए ।
देवदह क्षेत्रको पुरातात्विक क्षेत्रमा गरिएको उत्खनन्मा भेटिका ऐतिहासि वस्तुहरुको संरक्षण सम्वद्र्धन गरी देवदह क्षेत्रमा आएका पर्यटकहरुलाई देखाउने गरी व्यवस्थापन गरिने नगर प्रमुख खरेलले जानकारी दिए । देवदहमा रहेका पुरातात्विक क्षेत्रको उत्खनन् गरी देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागिरहेको बताए ।




