अर्घाखाँची । दशैँ, तिहारलगायतका चाडपर्व नजिकिएसँगै अर्घाखाँचीमा हुने सवारी आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन सन्धिखर्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको पहलमा सन्धिखर्क नगरपालिका–१ स्थित शान्तिबगैँचामा बिहीबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। सहायता कक्षको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो।
चाडपर्वका बेला जिल्ला बाहिर रहेका नागरिक घर फर्किने तथा जिल्लाबाट बाहिर जाने यात्रुको संख्या बढ्ने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सूचना, सुरक्षा र सहजीकरण उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले चाडपर्वका समयमा हुने यात्रालाई सुरक्षित बनाउन यात्रु, चालक र यातायात व्यवसायी सबै सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले सडक तथा सवारीको अवस्था बुझेर सुरक्षित ढंगले यात्रा गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीले चाडपर्वका समयमा सवारी साधनको चाप र यात्रुको आवागमन बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि विशेष सावधानी आवश्यक रहेको बताउनुभयो।
उहाँले चालकलाई तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नराख्न तथा लामो यात्रामा निस्कनुअघि सवारी साधनको अवस्था जाँच गर्न आग्रह गर्नुभयो। यात्रुहरूले पनि आफू चढेको सवारी साधन र चालकको अवस्थाबारे सचेत रहनुपर्ने उहाँको भनाइ छ।
दशैँका समयमा जिल्लाका ग्रामीण तथा मुख्य सडकमा सवारीको चाप बढ्ने भएकाले सडकको अवस्था र मौसमलाई ध्यान दिएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। वर्षाका कारण ग्रामीण सडकका कतिपय स्थानमा सडक बिग्रिएको, साँघुरो तथा जोखिमपूर्ण अवस्था रहेकाले चालकलाई गति नियन्त्रण गरी सावधानीपूर्वक सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ।
सहायता कक्षबाट यात्रु तथा सर्वसाधारणलाई आवश्यक सूचना उपलब्ध गराउनुका साथै यात्राका क्रममा देखिएका समस्या र गुनासो सम्बोधन गर्न सहजीकरण गरिनेछ। आवश्यक परेमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, जिल्ला अनुसन्धान कार्यालयका प्रतिनिधि, स्थानीय समाजसेवी, पत्रकार, यातायात व्यवसायीलगायत सरोकारवालाको सहभागिता थियो। सहभागीहरूले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
सन्धिखर्कको शान्तिबगैँचामा सञ्चालनमा आएको सहायता कक्षले दशैँका समयमा अर्घाखाँची भित्रिने तथा बाहिरिने यात्रुलाई आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रहरीले सुरक्षित तथा दुर्घटनारहित यात्रा सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।




