नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको विवाद छताछुल्ल भएको छ । शुद्धिकरणको नाममा चुलिएको सदस्यता विवादले जेठ २६ गते तोकिएको चुनावको मिति स¥यो । असार २२ गते अर्को मिति तोकिए पनि आपसी विवाद नमिल्दा चुनाव हुन्छ भन्ने ग्यारेण्टी छैन ।
नेपाल प्रेस यूनियनले सदस्यता विवाद टुंगो लगाएपछि चुनाव गर्नुपर्ने भन्दै तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला कार्यालयमा लगाइएको तालाबन्दीले विवाद चर्केको छ । यूनियनले पत्रकार महासंघमा लगाएको ताला अरु संगठनका पत्रकारले खोलेका छन् । सदस्यतालाई विवादरहित ढंगले टुंगो लगाउन नसक्नु पत्रकार महासंघको वर्तमान नेतृत्वको चरम असफलता हो । यही कमजोरीमा टेकेर प्रेस यूनियनले तोकिएको मितिमा चुनाव हुन नदिने रणनीति बनाएको छ । पहिले मनपरी गर्न पत्रकार महासंघको नेतृत्वलाई साथ दिने अहिले असहमति राख्ने यूनियनको चालबाजी बुझ्न कठिन छैन । सदस्यता शुद्धिकरणको विषय विधान सम्मत ढंगले गर्नुको साटो लहडका आधारमा अघि बढाइएपछि विवाद चुलिएको हो ।
आफ्ना जति क्रियाशिल, अरुका गैरपत्रकार ठान्ने प्रवृत्तिले कतिपय जिल्लामा क्रियाशिल र राम्रा पत्रकार सदस्यताबाट वञ्चित भएका छन् । जिल्ला-जिल्लामा सदस्यता शुद्धिकरण भन्दै गरिएको पूर्वाग्रह व्यवहारले विभाजनको रेखा कोरिएको छ । फरक विचार, आस्था र समूहमा रहेका उस्तै खालका व्यक्ति हटाइएका छन्, निकटहरुको सदस्यता कायमै राखिएको छ । अझैँ महासंघ प्रदेश र केन्द्रले जिल्लाबाट हटाउने सिफारिस भएका कतिपय व्यक्तिको सदस्यता कायमै राख्ने निर्णय गरेकाले विवाद झनै चुलिएको छ । शुद्धिकरणको विषय पारदर्शी ढंगले कार्यान्वयन गर्नुको साटो आग्रह र पूर्वाग्रह राखेर अघि बढाएर पत्रकार महासंघमा कहिल्यै नपुरिने विभाजन ल्याउन खोजिएको छ ।
नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण गर्नुपर्ने माग केही वर्षदेखि उठ्दै आएको विषय भए पनि पर्याप्त तयारी विना शुद्धिकरणलाई अघि बढाउनु कमजोरी थियो । सदस्यता वितरण गर्दै जाने तर पत्रकारिता छाड्दा समेत नविकरण गरे पत्रकार महासंघको सदस्य कायम रहने प्रवृत्ति गलत थियो । पत्रकारिता छाड्दा स्वतः सदस्यता त्याग्ने वा सदस्यता निष्कृय हुने व्यवस्था विधानमै गरेर अघि बढ्नुको विकल्प छैन । सदस्यता शुद्धिकरणको नाउमा भएको जालझेल र पूर्वाग्रहले अब नेपाल पत्रकार महासंघको विगतको शान, गौरव र गरिमा गिरेको छ । नेतृत्व कौशलमा चुक्दा संगठन अराजक भीडले निर्देश गर्ने विन्दुमा पुगेको छ ।
नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ नेपालको सशक्त संगठन हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा यो संगठनले खेलेको भूमिकाले यसको ओज र शान अब्बल भएको हो । संगठनमा अराजकता बढ्दै जाँदा त्यो ओज र शानमा खिया लाग्न सक्छ । पत्रकार महासंघको ओजलाई जोगाउन महासंघका पूर्व अध्यक्षसहित अगुवाले विवाद मिलाएर चुनाव गराउने वातावरण तयार गर्न भूमिका खेल्नुपर्छ । वर्तमान नेतृत्व असफल भइसकेकोले यो नेतृत्वबाट अब धेरै अपेक्षा गर्नु उपयुक्त छैन ।




