काम गर्दा जस अपजस जे पनि हुन सक्छ । मान्छे हो गल्ती कमजोरी हुन्छ । सदा राम्रो नै हुन्छ भन्ने केही छैन । जे भए पनि त्यसको जिम्मेवारी आफैले लिन सक्नुपर्दछ । राम्रो हुँदा गम्किने–चम्किने तर नराम्रो हुँदा सारै दुःखित र निरास हुने यो राम्रो बानी होइन । सदा एकनास राम्रो नराम्रो दुवैको समीक्षा र मूल्यांकन अनि नकारको नकार हुँदै सदा सकारात्मक सोंचमा रही रहनुपर्दछ । तर नेपालको राजनीतिमा र यसका संचालक नेताहरुमा यो भएको पाइदैन । राम्रो सबै आफ्नो र नराम्रो सबै अर्काको भन्ने बानी व्यवहार यहाँका सबै नेताहरुमा देखिन्छ । कसैको सकारात्मकको मूल्यांकन नै कहिल्यै नगर्ने सदा नकारात्मक नै देख्ने यो सामन्ती मपाईवाद हो । भन्नत यहाँका प्राय सबै दल नेताहरुले लोकतान्त्रिक भन्छन् अझ कतिपयले त समाजवादीसम्म पनि भन्ने गरेका छन । तर खासमा यी सबैमा अहिले पनि सामन्तवाद नै बढी हुन्छ । सामन्तवादको असली चरित्र व्यक्तिवाद हो । जसको शैली निरंकुश, दलाली, चाकडी, मनसुन आदिमा देखिन्छ ।
आज नेपालका धेरै जसो दल नेताहरुमा यस्तो प्रवृत्ति अत्यधिक बढी छ । उदाहरणहरु अन्नगिन्ती छन् । हालै नेपालका प्रधानमन्त्री केपी ओली चीन भ्रमण गरी देश फर्केका छन् । अनगिन्ती टीका टिप्पणी भए र भइरहेका छन् । चीन जाँदा अनेक थरी टिकाटिप्पणी भए त्यस्तै फेरि आउँदा यस्तै भइरहेका छन् । उदाहरण नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्डको लेऊ । प्रम ओली भारत भ्रमण गर्न जाँदा प्रचण्डको एउटा टिप्पणी थियो– प्रधानमन्त्रीको चीन भ्रमण भारत विरोधी चिनियाँ कार्ड मात्रै हो । यसको अर्थ हो ओली चीन जानुको मूल काम भनेको भारतलाई देखाउनु हो । अर्थात् भारतले सुरुमा नै आफूलाई भारत भ्रमण गर्न नबोलाएको झोकमा चीनको दलाली गरी चीन भ्रमण गर्न मात्र खोजेको भन्ने आसय त्यसको थियो । तर पछि प्रम ओली चीन भ्रमण सकी नेपाल फर्केपछि फेरि प्रचण्डले भने यो भ्रमणमा चीनमार्फत् जे जति उपलब्धि भएका छन् । ती सबै मेरै कार्यकाल र चीन भ्रमणमा नै भएका थिए, नयाँ केही छैन । प्रम ओलीप्रति दया लाग्छ आदि इत्यादि ।
एकातिर प्रम ओली चीन भ्रमणमा जाँदा केही नहुने खाली भारत विरोधी चिनियाँ कार्ड मात्र देख्ने प्रचण्ड फेरि चीनबाट फर्केपछि यी दुई देशबीच भएका केही सन्धि–सम्झौता र सहमति सबलाई आफ्नै कार्यकालमा भइसकेका भनी त्यसको अबमूल्यांंकन गर्ने ? यो नै प्रचण्डमा देखिएको सामन्तवादी मपाईवादको नमूना हो । अर्थात् विपक्षीको कदर नै गर्न नसक्ने एकमनावाद । द्वन्द्ववादले पक्ष–विपक्ष दुवैको कदर गर्दछ । पक्ष नभई विपक्ष नै हुन्न त्यस्तै विपक्ष विनाको पक्ष मात्र पनि हुँदैन । अहिले प्रम ओली र प्रचण्डबिच यस्तै हानथाप र जुहारी चलिरहेको छ । अर्थात् ओलीले जे गरे पनि गलत नकारात्मक नै देख्ने प्रचण्डको दृष्टिकोण भने त्यस्तै प्रचण्डले जे गरे पनि त्यो सबै नकारात्मक देख्ने र बुझ्ने ओली दृष्टिकोण । यो दुवैको दोषी चस्मालाई हु बहु जनतामाझ पु¥याइरहेका छन्, उनीहरुका तल्ला नेता कार्यकर्ताहरुले । यसको प्रत्यक्ष फाइदा कांग्रेसीहरुले उठाइरहेका छन् । प्रचण्ड भन्छन्–‘ओली चोर ।’ ओली भन्छन्–‘प्रचण्ड चोर ।’ आखिर यी दुवै चोर । सद्धे साधु को भन्दा कांग्रेसीहरु । भ्रम जनतालाई पारिंदैछ ।
यस्तै उदाहरण फेरि प्रम ओलीको पनि लिउ । हालै कुनै एक कार्यक्रममा प्रम ओलीले प्रचण्डलाई सराप्दै भने यी माओवादी जन्मदेखि नै उदण्ड मच्याउँदै आए । राम्रो केही पनि गरेनन् । खाली लुट्ने, ठग्ने, मार्ने, तोडफोड र द्वन्द्व मात्रै मच्याउँदै आए । यसको सिधा अर्थ माओवादी जन्मकालदेखि नै यस्तै हुन यिनीहरुबाट केही पनि राम्रो काम भएन । यस्तो हो भने हिजो क. ओलीले माअोवादी प्रचण्डसँग पार्टी एकता गर्ने नै गलत भयो । यस्तै यस्ता उदण्डवादीहरुसँग पटकपटक एकता गरी सरकार नै बनाउने पनि गलत भयो । आफूलाई फाइदा हुँदा हाई हाई तर पछि फाइदा नहुँदा बाईबाई । ताक परे तिवारी नत्र गोतामे ओली प्रवृत्ति पनि यसैको नमूना हो । स्वार्थ मिल्दा साख्खै लालजोडी । सबै बस्याउने फेरि स्वार्थ नमिल्दा सास त के मुखै र अनुहार नै गन्याउने छिछि र दुरदुर । यो सामन्ती र व्यक्तिवादी प्रवृत्ति यो ओली–प्रचण्ड दुवैमा व्याप्त छ । यस्तो प्रवृृत्तिलाई झन् मलजल गर्ने काम प्रचण्ड–ओली दुवैका आसेपासे दलाल एमाले–माओवादी छाउराहरुबाट भइरहेको छ ।
ओली, प्रचण्डमा देखा परेको यो व्यक्तिगत रिसईवि, आक्रोश र द्वन्द्वले नेपालको सिंगो वापमन्थी आन्दोलनप्रति नै जनताको विस्तृष्णा बढ्दै जान थालेको छ । आखिर वामपन्थी जो आए पनि त्यस्तै ढाँट, छल, बेइमानी भन्ने भ्रम धेरैमा पर्दै जान थालेको छ । हुन पनि ओली, प्रचण्ड बीचको यो घोचपेज, गाली गलौज सौताका रिसले पोइका काखमा पिसाब गर्ने जस्तै भएको छ । ओलीको १० वर्षे जनयुद्धप्रतिको बोली अनि प्रम ओलीको चीन भ्रमणप्रतिको प्रचण्डको त्यो बालीले अन्ततः १० वर्षे माओवादी जनयुद्ध र झापा विद्रोहका हजारौं क्रान्तिकारी सहिदप्रति ठूलो अपमान भएकमो छ । एक प्रकारले यी सहिदहरुप्रति मात्रै होइन यो सिंगो देश र जनताहरुप्रति नै खेलवाड धोका र गद्दारी भइरहेको छ । जुन चाहना देशी तथा विदेशी प्रतिक्रियावादीतत्वहरुको छँदै थियो ।
हो, निश्चय नै अहिले प्रचण्ड र उनको परिवार अनि उनका आसेपासे दलालहरुमा माथि प्रम ओलीले भने जस्तै लुट्ने, खाने, ठग्ने, षड्यन्त्र र बेइमानी व्याप्त छ । एक प्रकारले प्रचण्डले १० वर्षे जनयुद्ध यसैको लागि नै गरेका रहेछन् भन्ने अर्थ पनि लाग्न सक्छ । प्रचण्डको यो बानी र व्यवहारले पनि त्यही पुष्टि गर्दैछ । तर त्यो जनयुद्धको थालनीमा प्रचण्डको मात्र पनि हात छैन । त्यसमा सयौं माओवादी नेता कार्यकर्ताहरुको पनि योगदान छ । हजारौं क्रान्तिकारी सहिदहरुको त्याग, तपस्या र बलिदानकै कारण अहिले देशमा यो लोकतन्त्र र गणतन्त्र आएको हो । तब मात्र प्रचण्ड–ओली–देउवा आदि प्रधानमन्त्री बन्न पाए । तर अहिले प्रम ओलीले जुन थालमा दाल–भात खाए त्यही थालमा प्रचण्डको रिसले थुक्दै हिंड्न थालेका छन् । नत्र भने हिजोको त्यो जनयुद्ध र अहिलेका प्रचण्डबिच जमिन आसमानको फरक छ । प्रम ओलीको त्यो आरोप व्यक्तिगत रुपमा प्रचण्ड र उनको परिवार अनि उनका आसेपासे दलालहरुका लागि ठिकै होला तर समग्र १० वर्षे माओवादी जनयुद्ध र त्यसका हजारौैं क्रान्तिकारी शहिद र अरु नेता कार्यकर्ताहरुप्रति त्यो घोर अपमानजनक छ ।
वास्तवमा प्रम ओली देउवा र प्रचण्डबीच त्यस्तो तात्विक भिन्नता केही पनि छैन । यी सबै यो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ताका विदेशी कारिन्दा मात्रै हुन् । तर आज यी बिच आपसी कलह र द्वन्द्व बढ्दो छ । यसका पछाडि मूलमा सत्ता स्वार्थकै छ । साथै विदेशी शक्ति केन्द्रहरुले यिनीहरुलाई उचाल्ने र पछार्ने क्रममा यी बीच द्वन्द्व खडा छ । विदेशीहरुको साख्खै को हुने भन्नेमा तछाडमछाड छ । एउटाले भन्छ चिनियाँ कार्ड भने अर्काले भन्छ भारतीय कार्ड वा अमेरिकी कार्ड । चिनियाँ कार्ड भन्नका लागि भारतीय कार्ड प्रयोग गर्ने उस्तै परे अमेरिकी कार्डलाई पनि उपयोग गर्ने गरिएको छ ।
ओलीको चीन भ्रमणलाई चिनियाँ कार्ड भन्नका लागि प्रचण्डले सिधै लाज नै नमानी भारतीय कार्ड नै प्रयोग गरे । भारतीय द हिन्दू भन्ने पत्रिका मार्फत् भारतीय विस्तारवादीहरुको पहलकदमी र डिजाइनमा यस्तो भन्न लगाइयो । यदि यो देशमा देशभक्त र राष्ट्रवादी र जनवादी गणतान्त्रिक राज्य सत्ता र त्यसको शासक र नेता भएको भए प्रचण्डलाई सिधैँ राष्ट्रद्रोहको मुद्दा लगाई जेल कोची सकिने थियो ।
यस्ता राष्ट्रघाती द्रोहीहरुलाई अरु मुलुकमा भएको भए त फासी नै चडाई सक्यो । हालै मात्र चिनियाँ सरकारले एक पूर्व शासकलाई यस्तै भ्रष्टाचारको आरोपमा मृत्युदण्ड नै दिइएकै समाचार छ । यति हुँदा पनि सत्ताधारी नेता ओली र देउवा चुप लागि बस्नुका पछाडि पनि ठूलै रहस्य लुकेको छ । सबै विदेशी दलाल र गोटी कसलाई के भन्ने ? जो चोर उसैको ठूलो स्वर भने जस्तै अझ पनि प्रचण्डकै स्वर ठूलो छ । फेरि सत्तामा फर्किने दिवा सपना देख्दै छन् । यस्तो सपना बाँड्ने र उचाल्ने काम सबै विदेशी गुप्तचर निकाय भारतीय ‘रअ’ ले गर्दैछ । हालै मात्र एक भारतीय ‘रअ’ का प्रतिनिधिले ओली सरकारको आयु केवल एक महिना मात्र भन्ने समाचारले यसको पुष्टि गरिरहेको छ ।




