अनिता चौधरी- सैनामैना । ढकिया र थारु समुदाय एकअर्काका परिपुरक जस्तै छन् । विहे पूजा होस् वा मृत्यु संस्कार सबै काममा ढकियाको प्रयोग हुन्छ । यसैले केही समय पहिलासम्म थारु समुदायका हरेकजसो महिलाले ढकिया बुन्थे । थरीथरीका ढकिया सजाएर धार्मिक र सांस्कृतिक कार्यक्रम गरिन्थ्यो । थारु परम्परा र संस्कृतिसँग जोडिएको ढकीया बुन्ने प्रचलन पछिल्लो समय हराउँदै गएको छ ।
बुन्न धेरै दिन लाग्ने, लागतअनुसारको रकम नपाउने, त्यो पनि नगद रकम नपाउने भएपछि नयाँ पुस्ताले ढकिया बुन्न छोड्न थालेका हुन् । व्यवसायिक रुपमा ढकिया बुन्ने महिलाले पनि पछिल्लो समय काम छोडेका छन् ।
त्यसमध्येकी हुन्, सैनामैना २ की १९ वर्षीया सिमरन थारु । उनले ढकिया बुनेर अत्मनिर्भर बन्न नसक्ने देखेपछि अन्य पेशा अँगालेको बताउँछिन् । उनले हजुरआमा र आमालाई देखेर आफूलाई पनि ढकीया बुन्ने रहर जागेर ढकिया बुन्न सिकेकी थिइन् । तर, समय धेरै लाग्ने र भनेअनुसार रकम नपाउने गरपछि अहिले छोडेकी छिन् । उनी भन्छिन्–“एउटा ढकिया बनाउन कम्तिमा ३ देखि ४ दिनसम्म लाग्छ, भने त्यसको मूल्य ५ सयदेखि १ हजार पर्ने गर्छ । समय र मेहेनत धेरै लाग्छ । बेच्ने मूल्य कम पर्नाले पनि यो सीप सिकेर उपयोग गर्न सकिन ।”
सिमरन ढकिया बुनेर मात्रै आम्दानीको स्रोत नबनेपछि अन्य सीप र पेशातर्फ अकर्षित भएको बताउँछिन् । १२ कक्षासम्म अध्ययन गरेकी उनले आर्थिक उपार्जनका लागि कपडा सिलाउने काम गर्छिन् ।
वनमा पाइने वनस्पति र मुजा घाँसको प्रयोगबाट कलात्मकरुपमा रङ्गीचङ्गी बनाएर ढकीया निर्माण गरिन्छ । कम लगानी र सीमित स्रोत साधानबाट सिर्जनात्मक रुपमा बनाइने ढकीयालाई व्यवसायीकता दिन जरुरी रहेको सैनामैनाकै फूलकुमारी थारु बताउँछिन् । एउटा ढकीया बनाउन लाग्ने समय र मेहेनतअनुसार मूल्य र बजार नपाए पछि ढकीया बुन्न मन नलाग्ने उनी सुनाउँछिन् । बरु दैनिकी ६ सय रुपैँया लेभर मजदुरी गरेर दैनिकी टार्न सकिन्छ, तर ढकीया बुनेर छाक टार्न नसकिने उनको भनाइ छ ।
“एउटा ढकीया तयार गर्न कम्तिमा ३ दिन लाग्छ, निर्माण भएको ढकीया कसले किन्ने ? ग्राहक भेटिए पनि कम पैँसामा माग्छन्, त्यसकारण त्यति लामो समय र मेहेनत गर्नुभन्दा बरु मजदुरी गरेर जितिन्छ भन्दै लेबर काम गर्दै आएँ ।”–फूलकुमारीले भनिन् ।
पहिला बजारमा भाडाहरु नहँुदा घरायसी काममा लागि पनि ढकीया बनाउनु पर्ने बाध्यता थियो । अहिले त्यो अवस्था छैन । आर्थिक पक्ष बलियो बनाउन पालिकाले यस्ता खालका सीपहरुलाई अर्थसँग जोड्दै व्यवसायिक बनाएर लैजानुपर्ने उनले भनाइ राखिन् ।
परम्परा र संस्कृतिप्रतिको मोहले रकम कम भए पनि केही थारु महिलाले ढकिया बुन्ने परम्परा छोड्न सकेका छैनन् । रुपन्देहीको सैनामैना निवासी पार्वती थारु फुर्सदको समयलाई उपयोग गर्न बिहान बेलुकाको घरायसी काम सक्काएर दैनिकी ढकिया बनाउने काम गरेको बताउँछिन् । फुर्सदको समयमा उनी हरेक वर्ष ढकिया, मौनी, डेलवालगायतका सामग्री बुन्ने काम गर्छिन् । थारु समुदायमा ढकिया घरायासी कामसँगै विवाह, पूजा र शुभकार्यमा दान दिने प्रचलन छ । उनी भन्छिन्–‘पैसा त हुँदैन, तर छोड्न सकेकी छैन । सानो उमेरमा आमाहरुलाई ढकिया बुनेको देख्दाँ देख्दै सिकेको हु, छोरी मान्छे पढ्न हुँदैन धरायासी काम सिक्न सक्ने राम्रो घरबार मिल्ने भन्दै परिवारमा खेतीपाती, ढकिया बुन्नेलगायतका काम गर्न लगाइन्थ्यो, त्यही कामसँगसँगै थारु समुदायको परम्परागत ढकिया बनाउने सीप आफूले पनि सिकेकी हुँ ।’
पार्वतीले फुर्सदको समयमा बुनेको ढकिया आफन्त छोरीचेलीहरुको विवाह र पूजामा दिने र आवश्यकता परेकालाई बेच्ने गरेको बताइन् । ‘नगद नहुने भएपछि हामीले गरे पनि युवती छोरीबुहारीले ढकिया बुन्ने काम गर्न समस्या छ ।’— उनले भनिन् ।
सैनामैना–४ बस्ने दासिया थारु उमेरले ७५ वर्षकी भइन् । उनले आफू ७ वर्षको हुँदाबाट ढकिया बुन्दै आएको बताइन् । ‘म सानो हँुदा हजुरआमाले ढकिया बुन्न लाग्दा हेरेर बस्थे, कति बेला हजुरआमा ओझेल हुन्छिन् अनि म बुन्छु भन्दै कुरेर बस्ने गर्थे ।कहिले काँही त बिगार्ने पनि गर्थे जसले गर्दा गाली र पिटाइसम्म खाए,’ उनले विगतलाई सम्झीदै भनिन्–‘उ बेला, गाईभैँसी चराउन जाँदा पनि ढकिया बुन्ने गरिथ्यो । दिउँसोमा साथीहरु गाउँको बगियामा बसेर ढकिया बनाउने प्रतिस्पर्धा नै हुन्थ्यो कसले छिटो र कति राम्रो बनाउने ।’
पहिले पहिले अहिलेको जस्तो सामान राख्नलाई प्लाष्टिकका भाडाहरु हुँदैनथे, घरको सरसामान राख्न, अन्नपात राख्न, विवाहमा छोरी चेलीलाई दाइजो दिन समेत ढकिया काम लाग्छ । घरायासी कामकाज सक्काएर दिउँसोकोे समयमा थारिथारि आकार र डिजाइनका ढकिया बनाउने गर्थे । थारुको पहिचानसँग जोडिएको ढकिया अहिले हराउने अवस्थामा आउँदा चिन्ता लाग्ने पाका महिलाहरु बताउँछन् । अहिलेका नयाँ पुस्ताका युवतीले यो सीपलाई अँगालेको देखिंदैन, युवा पुस्ताले थारु संस्कार संस्कृतिसँगै परम्परागत सीप अँगाल्न र संरक्षण गर्न जरुरी रहेको पाकाहरु बताउँछन् ।
थारु समुदायमा पछिल्लो समय ढकिया बनाउने परम्परागत सीप हराउँदै गएकोमा थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । नयाँ पुस्ताले ढकिया बुन्ने सीप नअँगाल्दा लोप हुने अवस्थामा आएको थारु अगुवा खुशीराम चौधरी बताउँछन् । ‘ढकिया थारु समुदायको पहिचानसँग जोडिएको छ,’ उनले भने –‘तर पछिल्लो समय थारु युवापुस्तामा ढकिया पेशातर्फ त्यति चासो र चिन्ता नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।’
पछिल्लो समय नयाँ पुस्ता शिक्षा र प्रविधितर्फ मात्र आकर्षण देखिएकाले थारु समुदायको पहिचान र अस्तित्वका लागि पनि यो सीपलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘यो सीपलाई हस्तान्तरण गर्न नसके ढकिय र थारु परम्परागत सामग्रीहरु पनि हराएर जान्छ,’ उनले भने–‘थारु समुदायको पहिचान नै बोलीभाषा, खानपान, पहिरन, परम्परागत पेशा, सीप हुन्, यी कुरालाई जोगाउन नसके थारु पनि हराएर जानेछ ।’
जबसम्म पुराना पुस्ता रहन्छन्, तबसम्म ढकिया रहन्छ, पुरानो पुस्ता सकिए ढकिया पनि हराउँछ कि भन्ने चिन्ताले सताउने गरेको थारु अगुवा राम कृपाल थारुको भनाइ छ । खाली समयको सदुपयोग गरेर आकर्षक खालका हस्तकला सामग्रीहरु थारु महिलाहरु बनाउने गर्थे, ती सामग्री घरायसी कामकाज र पूजा, विवाहमा पनि दान र उपहार स्वरुप प्रदान गरिन्थ्यो, तर पछिल्लो समय ढकिया बनाउने चलन नै लोप हुने अवस्थामा छ । पूजाआजा, शुभाकार्य, विवाहमा दाइजो तथा मृत्युवरणको बेला दानका सामान राखेर ढकिया दिने थारु समुदायको चलन छ, तर यी परम्परा विस्तारै हराउँदै गएको छ ।
पुराना पुस्ताले मात्र यी र यस्ता परम्परालाई निरन्तरता दिएका छन् भने आजका नयाँ पुस्ताले आधुनिक जीवनशैलीलाई अँगाल्दै थारु संस्कार संस्कृति भुल्दै गएका छन्, जुन थारु समुदायका महिलाले हस्तकला सीपलाई प्रयोग गरी ढकिया बनाउने कार्य उनीहरुको परम्परागत सीप हो र यसको संरक्षणका लागि समुदाय नै अग्रसर भएर लाग्नुपर्छ ।
सजावटका लागि मात्र नभएर व्यवसायीकतातर्फ लैजान तीनै तहको सरकारले विशेष महत्वका साथ हेर्नुपर्ने हुन्छ । नयाँ पुस्तालाई स्थानीय र प्रदेश सरकारले ढकिया बनाउने तालिम प्रदान गर्नुपर्ने उनीहरुले बताए ।
तालिमबाट उत्पादित सामग्रीहरुलाई पालिका र प्रदेश सरकारले बजारीकरण गरेर व्यवसायी बनाउनतर्फ लाग्नुपर्ने छ, जसले पेशाको संरक्षण पनि हुन्छ भने आम्दानीको स्रोत बनी अत्मनिर्भरता पनि बढ्ने हुनाले यसतर्फ ध्यान दिन उनीहरुले आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरीदेवी चौधरीले थारु समुदायको संस्कार संस्कृति संरक्षण र प्रवद्र्धन गर्न थारु उत्थान विकास कार्यक्रम शीर्षक छुट्टाएर हरेक वर्ष १० लाख बजेट विनियोजन गरी कार्यक्रम गर्दै आएको बताइन् ।
आफू उपमेयरमा निर्वाचित भैसकेपछि थारु समुदायको पहिचानसँग जोडिएको ढकिया बनाउने तालिम, थारु संस्कृतिक संग्रहालय, थारु झुमडा नाच, मयुर नाच, मनारा बजाउने तालिम, लोपोन्मुख सोराठी विवाहको नाचलाई जर्गेनाको लागि बजेट छुट्टाएर नयाँ युवायुवातीलाई सिकाउने काम गरिंदै आएको उनले जानकारी गराइन् । उनका अनुसार महिलाहरुलाई व्यवसायिक र आर्थिक रुपमा सबल बनाउन युवातीहरुलाई ढकिया बनाउने तालिम पनि सञ्चालन गरिएको छ ।
पालिकाले स्थानीयस्तरमा उत्पादन गर्ने सामग्रीहरुलाई किनिदिने व्यवस्था गरे पनि सोचे जस्तो प्रतिफल आउन नसकेको र महिला दिदिबाहिनीहरुले सीप सिकेर व्यवसायिक बन्न नसक्नु दुःखको कुरा रहेको उनले बताइन् । ढकीय बनाउन बढी समय लाग्ने र अन्य काम गर्दा छिटो पैँसा पाउने हुनाले पनि यस सीपतर्फ त्यति ध्यान र अकर्षित नभएको हो कि भन्ने उनको भनाइ छ ।
थारु समुदायको परम्परा र सँस्कृतिको जर्गेना गर्न घर परिवार र समुदायबाट नै आउँदो पिढीलाई सिकाउन जरुरी रहेको शिवराज नगरपालिकाका उप–प्रमुख शिवकुमारी चौधरीले जानकारी गराइन् । थारु समुदायका परम्परागत वस्तुहरुलाई संकलन गरी शिवराजमा थारु संग्रहालय बनाइएको बताउँदै त्यहाँ आउने नयाँ पुस्ताले आफ्नो समुदायको पुरात्विक चिजवस्तुको अवलोकन गरी जानकार बनेका छन् ।
उनका अनुसार थारु महिलाहरुलाई आयआर्जनमा सक्षम बनाउन पालिकाभित्रका युवातीहरुलाई ढकिया बनाउने हस्तकला सीप सिकाइएको छ । उनीहरुले उत्पादन गरेका सामाग्रीहरुलाई खरिद गरी पालिकामा आउने अतिथिहरुलाई उपहार स्वरुप ढकीया मौनी दिइने गरेका छौँ ।
सैनामैना नगरपालिका उप–प्रमुख विना रानाले महिलाहरुलाई आत्मनिर्भर बनाउन वर्षेनी उप–प्रमुखसँग महिला कार्यक्रमअन्तर्गत महिलादिदी बाहिनीहरुका लागि विभिन्न सीपमूलम तालिम दिँदै आएको बताइन । ‘नगरभित्रका महिलाहरुलाई सक्षम र आर्थिक रुपमा सबल बनाउन महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत रहेर सिलाइकटाइ, बुटिक, व्युटिसियन, अचार, फुल्की बनाउने तालिम, थकालबाट हस्तकलाका सामग्री बनाउने तालिम दिँदैँ आएका छौँ,’ उनले भनिन्–वडाबाट महिलाहरुको मागको आधारमा तालिम संचालन गरेका छाँै, सीप सिकेर व्यवसायी बन्ने महिलाहरुका लागि अनुदानमा मेसिनलगायतका समान पनि वितरण गरिएको छ ।’
साथै उनले तालिमबाट सीपसिकेर उत्पादन गरेका वस्तुहरुलाई बिक्रीवितरण गर्न सहजहोस् भन्ने हेतुले सैनामैना–१० मा कोसेलीघर निर्माण गर्ने योजना रहेको सुनाइन् । स्थानीयस्तरमा उत्पादित सामानलाई संकलन गरी कोसेलीघरमा राख्ने जसले बजारमा पु¥याउन र ती वस्तुहरुलाई एकमुष्ट बेच्न सहज हुनेछ ।
कोसेली घर निर्माणका लागि यस आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरिएको छ र निर्माण कार्य छिट्टै सुरु हुने उपमेयर रानाले जानकारी गराइन् ।




