नेपालको व्यापार घाटाको एउटा हिस्सा विदेशबाट आयात गरिने रासायनिक मल हो । रासायनिक मलमा नेपाल सधैँ विदेशमा निर्भर हुनुपर्ने बाध्यता छ । वर्षेनी अर्बौं रुपैयाँको रासायनिक मल विदेशबाट खरिद गर्नुपर्ने बाध्यता छ । त्यो पनि समयमा नपाउँदा किसानले वर्षेनी सास्ती बेहोर्न बाध्य छन् । मलकै लागि किसानले आन्दोलन समेत गर्नुपर्ने विडम्बना छ । जुन कृषिप्रधान मुलुक लागि लज्जाको विषय हो । यद्यपि रासायनिक मलले खेतीयोग्य माटोको उर्बरा शक्ति क्षयीकरण गर्दै लगेको छ । माटोलाई नकारात्मक असर गरेको छ । अर्कोतर्फ रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ । तराई क्षेत्रमा रासायनिक मलको व्यापक प्रयोगका कारण मानिसमा विभिन्न प्रकारका स्वास्थ्य समस्या निम्तिएको स्वास्थ्य क्षेत्रका जानकार र डाक्टरहरु बताउँछन् ।
यही परिवेशमा रुपन्देहीमा ३० करोड लगानीमा नेपालकै हालसम्मकै ठूलो अर्गानिक मल उद्योग सञ्चालनमा आएको छ । यसबाहेक सानो लगानीका अर्गानिक मल उद्योगहरु देशका विभिन्न जिल्लामा सञ्चालित छन् । तर सरकारले अर्गानिक मललाई प्रवद्र्धन गर्नेतिर खासै चासो दिएको देखिन्न । सरकारले अर्गानिक मललाई प्रोत्साहन र प्रवद्र्धन गर्ने हो भने निजी क्षेत्रले देशलाई आवश्यक पर्ने परिणामको अर्गानिक मल स्वदेशमै उत्पादन गर्न सक्ने बताइरहेका छन् । रुपन्देहीको रोहिणीमा व्यवसायी दम्पति सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिले मात्रै दैनिक दुई सय मेट्रिक टन मल उत्पादन गरिरहेको छ । उद्योगले वार्षिक एक लाख मेट्रिक टन उत्पादन गर्न सक्ने बताएको छ । नेपालमा वार्षिक ५ लाख ३० हजार मेट्रिक टन डीएपी मलको माग हुने गरेको छ । राज्यको अर्गानिक मल मैत्री नीति हुने हो भने आफू र अन्य उद्योगीले मलमा नेपाललाई आत्मनिर्भर बनाउन सक्ने बताउँछन् । माटो र मानव स्वास्थ्य दुबैको सुरक्षाका लागि अर्गानिक मललाई प्रवद्र्धन गर्नु अपरिहार्य देखिन्छ ।
व्यवसायिक उत्पादन थालेको छोटो समयमै एउटै उद्योगले नेपालका ३० जिल्लामा बजार विस्तार गर्न सकेको उदाहरणले राज्यले प्रोत्साहन र प्रवद्र्धन गरेमा अरु लगानीकर्ता पनि अर्गानिक मल उद्योगमा आकर्षित भई मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने राम्रो संभावना छ । अर्गानिक मल रासायनिक मलको तुलनामा मूल्य पनि सस्तो र गुणस्तरीय हुने भएकाले किसानलाई पनि राहत हुन्छ । अर्गानिक मल प्रवद्र्धनका लागि रासायनिकमा जस्तै अनुदानको व्यवस्था, स्थानीय तहमा अर्गानिक मल प्रयोगलाई अनिवार्यको नीति र किसानलाई अर्गानिक मलको महत्व र फाइदाबारे देशव्यापी जनचेतना वृद्धिका कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । तीनै तहका सरकारले स्वदेशी अर्गानिक मलको खपत बढाउने नीतिगत व्यवस्था गरेमा रासायनिक मल आयातमा बर्सेनि बाहिर जाने अर्बौं रकम जोगिने मात्र नभई विश्वव्यापीरुपमा रासायनिक मलको अभाव भइरहेका बेला अर्गानिक मल भारत निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने राम्रो संभावना छ ।
सरकारले अर्गानिक मललाई प्रवद्र्धन गर्ने नीति, योजना र कानुन बनाउने हो भने रासायनिक मल आयातमा बर्सेनि विदेशिने अर्बौं रुपैयाँ जोगाई व्यापार घाटा सन्तुलनमा ल्याउन योगदान गर्न सकिने छ ।




