२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

माओको जन्म दिन

माओको जन्म दिन

माओको जन्म दिन

माओको जन्म दिन

माओको जन्म दिन
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • आज २६ डिसेम्बर विश्व सर्वहारा वर्गका महान् गुरु तथा नेता क. माओत्सेतुङको जन्म दिन हो । उहाँको जन्म २६ डिसेम्बर १८९३ मा चीनको हुनान प्रान्तमा भएको थियो । क. माओले  चीनको १९११ को बुर्जुवा क्रान्तिदेखि आफ्नो राजनीतिक जीवनको थालनी गर्नु भएको थियो । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । त्यसपछि लगातार १९७६ सम्म त्यसको  नेतृत्व गरिरहनु भयो । क. माओको मृत्यु १९७६ मा भएको थियो । उहाँको निधन भएको एक महिनापछि चीनमा  प्रतिक्रान्तिको थालनी भयो । १० वर्षे महान् सर्वहारा सांस्कृतिक क्रान्तिको कमाण्डर क. च्याङचिङको गिरफ्तारी भयो । उहाँको पछि सन् १९९२ मा जेलमै हत्या गरियो । त्यसपछि हिजोको त्यो चिनियाँ सर्वहारा वर्गीय राज्यसत्ता क्रमशः प्रतिक्रान्तिमा बदलिंदै अहिले विश्व साम्रराज्यवादी तथा प्रभुत्ववादमा रुपान्तरण भइसकेको छ । तैपनि क. माओले चीनलगायत अन्य मुलुकको क्रान्ति र रुपान्तरणका लागि गरेको क्रान्तिकारी महान् ठूलो योगदान अहिले पनि ताजै र अपरिहार्य नै छ । 


    क. माओ विश्व क्रान्तिका नेता मात्रै होइन उहाँ माक्र्सवादी–लेनिनवादी सिद्धान्त र विचारका विचारक पनि हुनुहुन्थ्यो  माक्र्सवाद–लेनिनवादलाई नयाँ रुपमा विकसित पार्दै माओ विचारधारा अर्थात् माक्र्सवाद–लेनिनवाद–माओवाद छोटकरीमा मालेमावादका मुख्य विचारक र सिद्धान्तकार पनि हो । अहिले खास रुपमा कम्युनिष्ट बन्नका लागि माक्र्सवाद–लेनिनवाद भएर मात्रै पुग्दैन मूलमा माओवादी नै हुनुपर्दछ । अर्थात् त्यसको सिद्धान्त र विचार मालेमावादी नै भएको हुनुपर्दछ । 
    क. माओ चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनादेखि कोमिडताङ पार्टीसँगको सहकार्य गर्दै १९२७ मा चिनियाँ सोभियत जनगणतन्त्रको अध्यक्ष तथा जनमुक्ति सेना र जनयुद्धको नेता र संस्थापक बन्नु भयो । क. माओ अनगिन्ती क्रान्तिकारी रचना लेखेर चीनलगायत विश्वभरिका जनताको मुक्ति बाटो देखाउनु भयो । विश्वका अर्धसामन्ती र अर्ध औपनिवेशिक मुलुकहरुको लागि नयाँ जनवादी क्रान्तिको बाटो देखाउनु भयो । स्वयं चीनमा नै सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गराउनुभयो । नयाँ जनवादी राज्य सत्ता स्थापना गर्दै चीनलाई सच्चा समाजवादमा परिणत गराउनु भयो । समाजवादी क्रान्तिलाई अघि बढाउने क्रममा अनेक थरीका संशोधनवादीहरुको विरुद्ध उहाँले लगातार संघर्ष गरिरहनु भयो । रुसी खु्रश्चोभी नव संशोधनवादको विरुद्ध उहाँले विश्वमा ‘महान बहस’ दुई लाइन संघर्ष सञ्चालन गर्नु भयो । स्वयं आफ्नै देशका ल्यूसाओ देङ संशोधनवादको विरुद्ध महान सर्वहारा सांस्कृतिक क्रान्ति संचालन गर्नु भयो । समाजवाद आइसकेपछि पनि निरन्तर समाजमा वर्ग संघर्ष अर्थात दुई लाइनको संघर्ष चलिरहन्छ र चलाइरहनु पर्ने पाठ उहाँकै उपज हो । स्वयं रुसमा क. स्टालिनले समेत रुसी समाजवादमा वर्ग लोप भइसकेको र वर्ग संघर्ष जरुरी नभएको भनिरहँदा क. माओको भने समाजवादको अन्त्यसम्म पनि वर्ग संघर्ष भइरहने पाठ नै महान् सर्वहारा सांस्कृतिक क्रान्ति उपज हो ।


    क. माओको विचार–सिद्धान्त, आर्थिक र सामाजिक विज्ञान आदिमा पु¥याउनु भएको योगदानको मूल्यांकन गर्दै माओत्सेतुङ विचारधारालाई ‘माओवाद’ मा अहिले रुपान्तरित गरिएको छ ।  अर्थात् अहिले माक्र्सवाद–लेनिनवाद र माओवाद भन्न थालिएको छ । अझ हाम्रो जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक र मुलुकका लागि माओवाद नै प्रमुख हो । तर अहिले हाम्रो देशमा माओवाद त के माक्र्सवाद नै हराइसकेको छ । स्वयं १० वर्षे माओवादी जनयुद्ध लडेको माओवादी पार्टी नै अहिले संसदमा चुलुम्ब डुबेको छ । यही प्रतिक्रियावादी राज्य व्यवस्थाबाटै समाजवादमा पुगिने सपना बाँड्दै हिंड्न थालेका छन् । प्रचण्ड–बाबुराम र विप्लव गुटको यो हरकतले सिंगो नेपालको जनक्रान्तिप्रति नै गुमराहा पार्ने प्रयास भइरहेको छ । यी सबैले नयाँ जनवादी क्रान्तिको बाटो छोडिसकेका छन् । तथाकथित समाजवादको नारा फलाक्दै मालेमावादबाट टाडिदै छन् । एमाले, माओवादी केन्द्र नेकपा विप्लव आदि त घोषित रुपमा नै माओवाद छोडिसकेका छन् । माओवादी भने पनि वैद्य समूहले पनि नयाँ जनवादी क्रान्तिलाई खाली एउटा खुड्किलो मात्र बताउँदै नेपालमा यसको अर्थात् नयाँ जनवादी क्रान्तिको औचित्यलाई नकार्दै जान थालेको छ । 


    स्वयं माओवादको विकल्पमा माओ विचारधारामा समेत बहस पैरवी भइरहेको छ । यसरी ढिलो चाँडो नेपालमा माओवादबाट प्रायः सबै वाम भनिने दलहरु टाडिदै जान थालेका छन् । नेपालमा नयाँ जनवादी क्रान्तिको औचित्यमाथि नै प्रश्न खडा गर्दै यसबाट समेत माग्दै छन् । स्वयं भारत जस्तो देशमा समेत नयाँ जनवादी क्रान्तिको आवश्यकताकै लागि त्यहाँको भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले जनयुद्ध सञ्चालन गर्दै आइरहेको छ । महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको ५०औं वर्ष गाँठको. अवसरमा विश्वका तीस भन्दा बढी माओवादी पार्टीहरुले समेत नयाँ जनवादी क्रान्तिकमो औचित्यको पुष्टि गर्दै भनेका छन्–‘ साम्रराज्यवादीहरुद्वारा उत्पीडित मुलुकहरु विश्व क्रान्तिका तुफानी केन्द्र र आधार हुन् । भारत, फिलिफिन्स, टर्की र पेरुमा नयाँ जनवादी क्रान्तिका मुख्य शक्ति, जनसमुदाय र किसानहरु कृषिक्रान्तिको माध्यमद्वारा आफ्नो जग्गा जमिनको रक्षा गर्न, साम्रराज्यवादीहरुद्वारा उत्पन्न गरिएको नोकरशाही पूँजीवादद्वारा चलाइएको गाउँबाट विस्थापनको योजनालाई परास्त गर्न जागृत भएका छन् ।’


    क. माओका अनगिन्ती भनाइहरु अहिले पनि जस्ताका तस्तै व्यवहारिक नै हुँदै आएका छन् । त्यसमध्ये एउटा भनाइ हो–‘साम्रराज्यवादी र सबै खाले प्रतिक्रियावादीहरु कागजी बाघ हुन् ।’ नभन्दै अहिले विश्वका त्यस्तै हुँदैछ । अफगानिस्तानबाट अमेरिकी साम्रराज्यवाद भाग्नु प¥यो । त्यस्तै अहिले हालै सिरियाबाट रुसी साम्रराज्यवाद र त्यहाँका शासक भाग्नु प¥यो । बंगालादेश र श्रीलंकाबाट पनि साम्रराज्यवादी दलालहरु भागिसकेका छन् । हालैका यी उदाहरणहरुले प्रतिक्रियावादीहरु जतिसुकै शक्तिशाली भए पनि जनताको जनशक्तिका अगाडि उनीहरुको केही लाग्दैन । अमेरिकी र रुसी  साम्रराज्यवादीहरुको हालत त्यस्तो हुँदैछ भने हाम्रा देशका यी विदेशी दलाल चाहे यी देउवा, ओली, प्रचण्ड जोसुकै होइन सबैको हालत त्यस्तै सिरिया, बंगालादेश, श्रीलंका र अफगानिस्तानका प्रतिक्रियावादी विदेशी दलाल शासकहरुको जस्तै हुनेछ । आखिर क. माओले माथि भने जस्तै यी सबै कागजी बाघ नै हुन् । असली बाघ त न्यायप्रेमी क्रान्तिकारी जनता नै हुन् ।


    अन्त्यमा क. माओको यो जन्म दिनको अवसरमा उहाँप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली दिँदै उहाँप्रति क. गोञ्जालोले प्रकट गर्नुभएका केही भनाइ उल्लेख गर्न चाहान्छु–‘अध्यक्ष माओत्सेतुङका योगदानको मूल्यांकन यस सन्दर्भमा म तलका कुराहरु अघि सार्न चाहान्छु । उहाँले साम्रराज्यवादको नियम स्थापित गर्नुभएको छ । उहाँ भन्नुहुन्छ–‘यसले गडबढी मचाउँछ र विफल हुन्छ । यसले फेरि गडबढी मचाउँछ र फेरि पनि विफल हुन्छ र यसले यस प्रकार आफ्नो अन्तिम पतनको घडीसम्म यसै गरिरहन्छ । उहाँले साम्रराज्यवादको विकास प्रक्रियाको अवधि पनि किटान गरिदिनु भएको छ । जुन अवधि ५० देखि १०० वर्षको हो । यी त्यस्ता वर्षहरु हुन् जुन उहाँले भन्नुभएजस्तै यस धर्तीका अभूतपूर्ण वर्षहरु हुनेछन् । जसमा साम्रराज्यवाद र प्रतिक्रियावादलाई यस धर्तीबाट बढारेर मिल्काइदिनेछ । उहाँले हामीलाई के बताउनुभएको छ भने अमेरिकी साम्रराज्यवाद र सोभियत सामाजिक साम्रराज्यवाद विरोधी संघर्षको अवधिको ढोका खुलेको छ । अर्काे कुरा साम्रराज्यवादी र प्रतिक्रिवादीहरु सबै कागजी बाघ हुन् भन्ने उहाँको महान् रणनीतिक  सिद्धान्तबारे हामी सबैलाई थाहा छ । यो सिद्धान्त असाधारण महत्वको छ ।’ (गोञ्जालोका विचारहरुबाट)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij