भैरहवा । ९ दशकअघि बनेको जिल्ला कारागार रुपन्देहीको संरचना २५० जनाको भए पनि दोब्बर बढी बन्दीहरु रहेका छन् । १९९० मा निर्माण भएको कारागारमा हाल ५ सय ८७ जना बन्दीहरु रहँदै आएका छन् । २०७५ सालमा १२० जनाको क्षमता रहेको कारगारमा ३० जनाको क्षमता विस्तार भएर १ सय ५० गरिएको थियो । अहिले जिल्ला कारगारको क्षमता बढाएर २५० गरिएपनि कैदी बन्दीहरु थपिदै जानु र भौतिक पूर्वाधारमा खासै लगानी नभएकोले कारागारमा क्षमताभन्दा बढी बन्दीहरु राख्नु पर्ने बाध्यता छ ।
२ वटा ब्लक रहेको यहाँ (क) ब्लकमा सय जनाको क्षमता हो, जसमा ३४० जना अर्थात् क्षमताको करिब साढे ३ गुणा बढी बसिरहेका छन् । यस्तै (ख) ब्लक ५० जना क्षमताको रहेकोमा हाल क्षमतावृद्धि गरी १५० गरिएको छ, जसमा २४७ जना बन्दीहरु रहेका छन् । संरचना पुरानो भए पनि पूर्वाधार प्रति सरोकारवाला निकायले ध्यान नदिँदा क्षमताभन्दा बढी बन्दीहरु बस्नु पर्ने अवस्था छ । अपराध गरेर आउनेहरु सजाय काट्न र सुधारका लागि पछिल्लो समय सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने भने पनि देशकै पूरानो मध्येको कारागारमा सो कार्यान्वयन नहुँदा कारागारको अवस्था दिन प्रतिदिन खस्किदै गएको छ ।
कैदी तथा र थुनुवाका बन्दी राख्ने उद्देश्यले निर्माण गरिएको उक्त कारागारमा २ गुणा बढी बन्दी रहेकाले समय–समयमा समस्या हुने गरेको छ । १ बिघा ७ कट्ठा क्षेत्रफलमा फैलिएको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनभरि जसोतसो भए पनि राती सुत्नलाई व्यवस्थापन गर्न असजिलो हुने गरेको छ । ‘साँघुरो कारागार सञ्चालनमा निकै समस्या छ,’ कारागारका सूचना अधिकारी विजय कुमार हलुवाईले –‘जसोतसो व्यवस्थापन गरेका छौं । कारागार सुरक्षा प्रशासन, कैदी, भोजनालय, शौचालय, सीपमूलक काम सोही स्थानमा गराउनु परेको छ ।’
हलुवाईका अनुसार ‘यहाँ अहिले भएको ठाउँलाई व्यवस्थापन गरी सीपमूलक काम मुढा र फनिर्चरको काम हुने गरेको छ, बाहिरी ठाउँ अझ फराकिलो भए धेरै सीपमूलक काम गर्न सकिन्छ । कैदीहरुले व्यवसायिक सीपमूलक तालिमबाट कैदी जीवन यापन गरे सँगै पैसा कमाउन पनि सहज हुने गर्छ । अहिले बजारीकरण अभावले बन्दीहरुको उत्पादन बजारसम्म पुग्न समस्या भएको छ ।
बजार मात्र हैन कारागारमा काम गर्ने पर्याप्त ठाउँ नहुनु पनि कामदार कैदबिन्दीहरुको लागि अर्को प्रमुख समस्या हो । क्षमताभन्दा बढी कैदी रहेको कारण सामान्य हिंड्डुल गर्न तथा अन्य व्यवस्थापनमा पनि समस्या आउने गरेको छ ।
कैदीबन्दीले थोरै क्षमता भएको ठाउँमा प्रशासनले धेरै संख्यामा कैदीबन्दी राख्नु पर्ने बाध्यता छ । ठाउँ अभावका कारण बन्दीहरुले पूर्णरुपले श्रमलाई सदुपयोग गर्न सकेको छैन । क्षमता विस्तार नहुने कैदीबन्दी मात्र बढ्दा कारागारमा समस्या सृजना भएको कारागारका चौकिदारले बताएका छन् ।
कारागारलाई राज्यले सुधार गर्ने प्रयास गरे पनि उल्लेख्निय रुपमा सुधार हुन सकेको छैन । संरचना पुरानो भएको कारण कारागार सुधार गरेर पनि धेरै टिक्दैन, रुपन्देही कारागार नयाँ र अत्याधुनिक बनाउनु बाहेकको विकल्प नरहेको जिल्ला कारागार कार्यालय, रुपन्देहीका प्रमुख जेलर सुरेश भण्डारीले बताए ।
‘कारागारमा ठाउँ कम छ, कैदिबन्दीहरु जुन रुपले खुलारुपले बस्न पाउनु पर्ने हो पाएका छैनन् । जसले गर्दा कैदिबन्दीबाट राज्यले लिन सक्ने श्रम पनि लिन सकेको छैन,’ उनले भने –‘सीपमूलक ज्ञान दिई कैदीबन्दीबाट उत्पादन हुने हस्तकलालगायतका बस्तुबाट राज्यले व्यापार घाटा समेत कम गर्न सहयोग पुग्छ ।’
जेलर भण्डारीले कारगारमा सबै थरीका मानिसहरु छन् मजदुर, इलेक्ट्रिसियन, मेकानिकदेखि आइटी जानेकोहरु पनि रहेकोले यसको उपयोग हुन सके राज्यलाई सहयोग हुने बताए । दैनिक उपाभोग्यमा प्रयोग हुने जनशक्तिहरु कारगारभित्रै रहेकोले यसको सदुपयोग हुने गरी व्यवस्थापन हुन जरुरी छ ।महिला थुनुवा कक्ष नहुँदा महिला बन्दीहरुलाई कारागारमा राख्न निकै समस्या परेको छ । महिला बन्दीको लागि पाल्पा र नवलपरासी जिल्लाहरुमा पठाउने गरेको छ ।
अहिले रुपन्देही कारागारमा २ सय ८६ जना कैदी र विभिन्न अपराधमा मुद्दा चलेका, तर अदालती प्रक्रियामा रही मुद्दा फैसला नभएका ३ सय १ जना थुनुवा गरी ५८७ बन्दी छन् । कैदीबन्दीमध्ये कारगारमा सबैभन्दा बढी १ सय ५२ जना जबर्जस्ती करणी मुद्दाका बन्दी रहेका छन्, जसमा स्वदेशका ६७ कैदी, ७८ जना थुनुवा छन् भने १ कैदी र ६ जना थुनुवा विदेशी रहेका छन् ।
यस्तै १ सय ३४ जना लागुऔषध मुद्दाका बन्दी रहेका छन्, जसमा स्वदेशका ५९ कैदी, ६८ जना थुनुवा छन् भने ४ कैदी र ३ जना थुनुवा विदेशी रहेका छन् ।
त्यस्तै चोरीमुद्दामा ६५, कर्तव्य ज्यान मुद्दामा ६३, सवारीज्यानमा ३७, डाका चोरी २८, बंैकिङ कसुरमा १८, ठगी ११, ज्यान मार्ने उद्योग १०, भन्सार चोरी १०, अभद्र व्यवहार ८, किर्ते जालसाजी, बुहविवाह, अपहरण तथा शरीर बन्धक, सवारी दुर्घटनाबाट अंगभङ्ग मुद्दामा ६–६ जना, हातहतियार खरखजना, मानव बेचबिखन, कुटपिट, लेनदेन र सट्टाबाजीसम्बन्धी कसुरमा ४–४ जना रहेका छन् । यस्तै खुनडाका, लिखितसम्बन्धी कसुर, आत्महत्या दुरुत्साहन, खोटा चलन, अपराधिक उपवद्रलगायतका मुद्दामा पनि कैदीबन्दी रहेका छन् । यी तथ्याङ्कहरु दैनिक रुपमा केही थपघट हुने गरेको छ ।
बन्दीको अलवा कारागार प्रशासन र सुरक्षाको भौतिक पूर्वाधार पनि सोचे अनूरुपको छैन । दरबन्दीअनुसारको कर्मचारी बस्ने भवन समेत स्तरीय नहँुदा समस्या छ । कारागार वरिपरि तारजालीले व्यवस्थापन गरिएको छ, यसका लागि कंक्रिट पर्खाल समेत नभएकोले सुरक्षामा चुनौती पनि छ ।
कारागारको सुरक्षा हाल नेपाल प्रहरीले गरिरहेको छ । ३५ जना दरबन्दी रहेको कारगार सुरक्षाका लागि हाल प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा २४ जना सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेको छ ।
भैरहवा नगर क्षेत्रभित्र रहेको जिल्ला कारागार स्थान्तरणका लागि सिद्धार्थनगरले प्रस्ताव गरेको भए पनि काम अगाडि बढ्न सकेको छैन । कारागार हुने स्थान प्रकोप जोखिम नभएको, अस्पताल र अदालतदेखि नजिक, सुरक्षाको दृष्टीकोणबाट मजबुत, पूर्वाधार राम्रो भएको हुनुपर्छ । नगरपालिकाले ओमसतियामा–५ पट्खौलीमा रहेको सिद्धार्थनगरको ६ बिघा ८ कट्ठा क्षेत्रफलमा जिल्ला कारागार स्थानान्तरणका प्रस्ताव गरेको थियो ।
लुम्बिनी प्रदेशका कारागार तथा प्रहरी हिरासत कक्षको अनुगमन
कारागार व्यवस्थापनलाई सुधार गर्न र न्यायिक प्रणालीलाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले पनि लुम्बिनी प्रदेशभित्रका कारागार तथा प्रहरी हिरासत कक्षको अनुगमन गरेको छ । हालै मात्रै मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले प्रदेशमा रहेको जिल्ला कारागार र प्रहरी हिरासत कक्षको अनुगमन गरेको हो । कैदीबन्दीहरुको पुनर्स्थापना र पुनः सामाजिकरणका लागि सञ्चालन गरिएका तालिम, सीप विकास कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन टोलीले निगरानी गरेको छ ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ मा प्रदेश भित्रका हिरासत तथा थुनुवा कक्षको अनुगमन र निरीक्षण गरी थुनुवाउपर मानवोचित व्यवहार नभएको भए मानवोचित व्यवहार गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रावधान रहेको छ । सोही ऐनले तोकेको जिम्मेवारी अनुसार कारागार तथा प्रहरी हिरासत कक्षको अनुगमन गरिएको हो । अनुगमनको क्रममा कारागार प्रशासन, सुरक्षाकर्मी र हिरासत तथा थुनामा रहेका व्यक्तिसँग छलफल समेत भएको थियो । यस्तै टोलीले रुपन्देहीमा रहेको बाल सुधार गृहको समेत अनुगमन गरेको थियो ।
कारागारमा क्षमताभन्दा अधिक संख्या रहेकाले केही कैदी बन्दीको संख्या तत्काल स्थानान्तरण गर्नुपर्ने, थुनामा रहेका प्रायः युवा नै रहेकोले श्रम र रोजगारीको लागि व्यवस्था गर्नुपर्ने, बाल सुधार गृहमा ४२ जना विद्यार्थी रहेकोमा उनीहरुको लागि शिक्षक व्यवस्था गर्नुपर्ने, उमेर पुगेकाको संख्या पनि धेरै रहेकोले तिनीहरुलाई तत्काल प्रक्रिया पूरा गरी कारागार स्थानान्तरण गर्नुपर्ने अनुगमन टोलीले निस्कर्ष रहेको छ ।
अनुगमनले मुख्यतया कारागारमा क्षमतभन्दा बढी कैदीबन्दी रहेकाले कारागारको पूर्वाधार सुधारका लागि, बालसुधार गृहमा कर्मचारी जनशक्ति अभाव, कैदीबन्दीहरुको मानवअधिकारको सरक्षण, स्वास्थ्य सेवा, खानेपानी र सुलभ शौचालयको प्रवन्ध, खानपानको गुणस्तर र पोषण अनिवार्य सुनिश्चिततको विषयमा सरकारलाई जानकारी गराउने र हुन सक्ने काममा लागि अनुगमन टोलीले सम्बन्धित क्षेत्रलाई निर्देशन समेत दिएको छ ।




