बुटवल । देवदह–६ माथिल्लो शरनबारीका बसन्त जर्घाले यो सिजनमा मात्रै साढे दुई लाख रुपैयांको सिमी विक्री गरे । असोजमा धान बाली भित्राए लगत्तै उनले एक बिघा १० कठ्ठामा सिमी खेती शुरु गरे । जर्घाले माघसम्म अझै ५० हजार बराबरको सिमी उत्पादन गरी विक्रि गर्ने अनुमान छ । देवदह–६ माथिल्लो शरनबारीकै तिलकसिंह रानाले यस वर्ष दुई लाख रुपैयां बढीको सिमी विक्रि गरे ।
रानाले पनि एक बिघा खेतभरि सिमी खेती गर्छन् । ‘मंसिर पहिलो हप्तादेखि बेच्न शुरु गरेको दुई लाख भन्दा धेरैको सिमी बेचिसकें’–रानाले भने–‘माघसम्म फल्छ,त्यो बेलासम्म अझै ४०–५० हजारको बेच्छु ।’देवदह–६ तल्लो शरनबारीकी लालकुमारी सिंजालीले ४० हजारको सिमी बेचिन् ।
बसन्त, तिलक सिंह र लालकुमारी जस्तै शरनबारी सिंगो गाउंका प्रत्येक परिवार कृषिमा आश्रित छन् । दुई घर दलित वाहेक सबै मगर समुदायको बसोबास रहेको शरनबारी रुपन्देहीकै चुरे पहाड क्षेत्रको बेग्लै पहिचान बोकेको नमूना वस्ती हो ।
शरनबारीमा १६० घरधुरी छन् । गाउंभरिको जनसंख्या ६३५ मात्रै छ । यहांका बासिन्दाको न्यूनतम ५ कठ्ठादेखि डेढ बिघासम्म खेत छ ।
उनीहरुले धान सहित सबै खेतीमा रासायनिक मलको प्रयोग गर्दैनन् । प्रांगारिक मल मात्रै प्रयोग गर्छन् । यो वर्ष शरनबारी गाउंका किसानले करिब ८ करोड रुपैयांको सिमी विक्री गरेका छन् ।
प्रांगारिक भएकाले सजिलै विक्री हुने भएकाले बुटवलका थोक तरकारी ब्यापारीहरु गाडी लिएर शरनबारीमा घर घरमा सिमी खरिद गर्न पुग्छन् । किसानलाई विक्रि नहोला भन्ने समस्या छैन ।
नगरपालिकाले समर्थन मूल्य नतोकेकाले बिचौलिया हावी हुंदा उचित मूल्य पाउन नसकेको देवदह नगरपालिका वडा नं ६ का अध्यक्ष खेमबहादुर थापा बताउंछन् । ‘यो वर्ष शरनबारीले करिब ८ करोड रुपैयांको सिमी उत्पादन गरेर बेचेको छ’–वडाध्यक्ष थापाले भने–‘बजारको समस्या छैन, तर बिचौलिया ब्यापारीको मिलेमतोले किसानले उचित मूल्य पाउन सकेका छैनन् ।’ गाउंमा सिंचाइको पर्याप्त सुविधा र सडकको सहज पहुंच पनि नभएको वडाध्यक्ष थापाले बताए । वडाध्यक्ष थापाले नगरपालिकाले शरनबारीलाई सिमी पकेट क्षेत्र र पूर्ण अर्गानिक गाउं घोषणा गर्नुपर्ने माग गरे ।
स्थानीय युवा अगुवा लोकेन्द्र जर्घामगरले नगरपालिकाले किसानलाई आधुनिक कृषि प्रविधिसंग जोड्न नसक्दा गाउंलेहरु परम्परागत खेती भन्दा माथि उठ्न नसकेकाले प्रांगारिक कृषिमा धेरै सम्भावना भएर पनि शरनबारी पछाडि परेको औंल्याए ।
‘कुलोको पानीले बाह्रै महिना सिंचाई सुविधा नपुग्ने भएकाले थोपा सिंचाई प्रणाली र मल्चिङ प्रविधिमा तरकारी खेती गराउन स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ’–जर्घाले भने–‘सरकारले किसानमैत्री नीति र कार्यक्रम बनाउने हो भने शरनबारी प्रदेशकै नमूना अर्गानिक गाउं बन्छ ।’
देवदहका बुद्धिजिवी सिद्धिचरण भट्टराईले शरनबारीको सिमीको ब्राण्डिङ र प्याकेजिङ गरी किसानले उचित मूल्य पाउने वातावरण नगरपाकिलाले बनाउनुपर्ने सुझाए ।
शरनबारीलाई अर्गानिक गाउं घोषणा र सिमी पकेट क्षेत्र बनाउन दवाव दिने उद्देश्यले शरनबारीमै मिडिया फेस्टिबल आयोजना गरी वहस थालेको देवदह प्रेस क्लबका अध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए । ‘देवदहका १२ वटै वडाका कृषि उत्पादनलाई ब्राण्डिङ र बजारिकरणमा स्थानीय सरकारलाई दवाव दिन हरेक वर्ष मिडिया फेस्टिबलमार्फत ध्यानाकर्षण गराएका छौं’–पोखरेलले भने–‘क्लबले मिडिया क्षेत्रसंगै देवदहको कृषि,पर्यटन र व्यवसायिक सम्भावनाको खोजी र समस्या समाधानमा मार्गनिर्देशन गर्न प्यानल छलफल गराउंछ ।’
देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले शरनबारीलाई अर्गानिक गाउं घोषणा गर्ने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्रांगारिक मल वितरण गरेको बताए ।
सिमीलाई बेमौसममा पनि विक्रि गर्न सकिन्छ कि भनेर परीक्षण गर्न यो वर्ष १० क्वीन्टल सिमी प्रति केजी ५० रुपैयांमा खरिद गरेर नगरपालिकाले चिस्यान केन्द्रमा राखेको र सफल भए नगरमै चिस्यान केन्द्र बनाउने सोंचमा रहेको खरेलले बताए । देवदहको मुख्य बजारमा कोसेली घर स्थापना गरी सिमी विक्रि गर्न सटर भाडामा लिई भाडा तिर्न र गाउंमा बिचौलियाको अन्त्य गरी किसानलाई उचित मूल्य दिन, सिंचाई सुविधा पर्याप्त बनाउन नगरपालिका लागिपरेको खरेलले बताए ।




