टिआर शर्मा
बुटवल
लुम्बिनी प्रदेश सरकारका मन्त्री र व्यवसायीहरुले घरेलु मदिरालाई गुणस्तरीय बनाइ प्रवद्र्धन गरी विदेशी मदिराको आयात नियन्त्रण गर्नुपर्नेमा एकमत देखिएका छन् । नेपालमा वर्षेनी २ अर्ब बढीको मदिरा वैध रुपमा र भन्सार छलेर पनि ठूलो परिमाणमा भारतीय मदिरा आयात भइरहेको उल्लेख गर्दै उनीहरुले यसलाई रोक्न घरेलु मदिरालाई उद्योगमा रुपान्तरण गरी करको दायरामा र गुणस्तरीय बनाउनुपर्ने मा जोड दिएका छन् । अन्त शुल्क कर चर्को भएक कारण नेपाली मदिरा महँगो हुने, तर भारतमा सस्तो हुने भएकाले ठूला विवाह भोज, पार्टीहरुमा भारतीय मदिरा आयात बढेको व्यवसायीको गुनासो छ ।
मदिरा व्यवसायी संघ रुपन्देहीको १६औं वार्षिक साधारणसभामा बोल्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर गुणस्तरीय बनाइ विदेशी मदिराको आयात रोक्नुपर्ने बताएका छन् । उनले विदेशी ब्रान्डका मदिराको आयात गर्दा वर्षेनी अर्बौं रुपैयाँ बाहिर गइरहेकाले आफ्नै उत्पादन गुणस्तरीय बनाइ ब्राण्डिङ गर्नुपर्नेमा जोड दिए । ‘नेपालमा अर्गानिक वस्तु र जडीबुटीबाट बन्ने मदिरालाई उद्योगमा रुपान्तरण गरी तिनलाई ब्रान्डिङ र लेबलिङ गरेर करको दायरामा ल्याउनुपर्छ,’ मन्त्री ढकालले भने–‘यसो गर्न सके मात्र विदेशी मदिराको आयात प्रतिस्थापन हुन्छ र नेपालको पैसा विदेश जानबाट रोकिन्छ ।’
घरेलु मदिरा उत्पादनलाई औद्योगिकरण गरेर करको दायरामा ल्याई वैध बनाउन प्रदेश सरकारले कानुन बनाउन लागेको बताउँदै मन्त्री ढकालले स्वदेशी मदिरालाई प्रवर्धन गर्न विदेशबाट आयात हुने मदिरामा करको दर बढाएर महँगो बनाउन जरुरी रहेको औंल्याए ।
मन्त्री ढकालले सरकार व्यवसायीको अभिभावक बन्नुपर्ने भन्दै नीति र कानुन बनाउँदा व्यवसायी मैत्री हुनुपर्ने बताए । केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई वित्तीय र प्रशासनिक संघीयताको अधिकार पूर्णरुपमा नदिँदा अधिकार कार्यान्वयनमा समस्या भएको मन्त्री ढकालले बताए ।
बुटवल उप–महानरगपालिकाका प्रमुख खेलराज पाण्डेले भारतबाट आयात हुने अवैध मदिराका कारण नेपालका व्यवसायी संकटमा परेको बताए । नगर प्रमुख खेलराज पाण्डेयले जातीय पहिचानका आधारमा मदिरा उत्पादन गर्न पाउनु पर्ने भन्दै स्थानीय मदिरालाई ब्राण्डिङ गर्न नगरसभाले निर्णय गरेको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नेपालको कुल राजस्व असुलीमा करिव २० प्रतिशतको योगदान मदिराको रहेको चर्चा गर्दै विदेशी मदिरा नेपालमा भित्रिदा अरबौ रुपैयाँ विदेश पलायन भएकोले विदेशी मदिरा आयातलाई नियन्त्रण गर्न माग गरे । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले मदिरा कारोबारमा राजस्व चुहावट र कर छली नियन्त्रणमा कडाई गर्नु जरुरी रहेको बताए ।
मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हिमालय भुसालले मदिरा व्यवसायले एक लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको भन्दै घरेलु मदिरालाई उद्योगमा रुपान्तरण गर्न सके रोजगारी दोब्बर हुने र त्यसबाट कृषि उत्पादन पनि वृद्धि हुने बताए । राज्यलाई राजस्व र रोजगारीको क्षेत्रमा मदिरा उद्योग र व्यवसायले पुराएको योगदानको सरकारले कदर गर्न नसकेको भुसालले गुनासो गरे ।
कार्यक्रममा मदिरा व्यवसायी महासंघका उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, महासंघका केन्द्रीय सल्लाहकार तारानाथ ढुगांना, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, संघका पूर्व अध्यक्ष खिमबहादुर खत्री, मदिरा उत्पादक संघका बजार प्रतिनिधि प्रितम गिरी, संघका महासचिव बावुलाल खनाललगायतले घरेलु मदिरालाई उद्योगमार्फत् उत्पादन र करको दायरामा ल्याई गुणस्तरीय बनाइ आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए ।
साधारणसभाले अध्यक्ष, महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनहरु पारित गरेको कार्यक्रम संयोजक एवं प्रथम उपाध्यक्ष बाबुराम ज्ञवालीले बताए ।




