भैरहवा । मुलुककै दोस्रो ठूलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा कुल लक्ष्यको ३५ प्रतिशत लक्ष्य पार गरेको छ । यस वर्षको असोजमा तीन वर्षपछि राजस्व लक्ष्य पार गरेको कार्यालयले अन्य महिनामा भने तोकेको लक्ष्य पार गर्न सकेन । साउनमा ८३ दशमलव ५४ प्रतिशत, भदौमा ९० प्रतिशत, असोजमा १०० दशमलव २९ प्रतिशत, कार्तिकमा ८३ दशमलव १७ प्रतिशत र मंसिरमा ८२ दशमलव १७ प्रतिशत राजस्व संकलन गरेको हो ।
२०७८ पुस ५ गतेबाट नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरुको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुँदै आएको थियो, २०८१ को भदौ महिनासम्म पनि कार्यालयले विभागबाट पाएको लक्ष्य पार गर्न सकेको थिएन । असोज महिनामा भन्सार विभागले दिएको लक्ष्य पार गरे पनि कार्तिक र मंसिरमा लक्ष्य पार हुन नसकेको भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।
कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१-०८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएकोमो चालु आर्थिक वर्षको ५ महिनामा ३९ अर्ब १६ करोड ४६ लाख २५ हजार रुपैयाँ संकलन गरेको होे । संकलित राजस्व कुल लक्ष्यको ३५ दशमलव ८३ प्रतिशत रहेको छ ।
कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८०-८१ का लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ६३ दशमलव २४ प्रतिशत, आर्थिक वर्ष २०७९-८० का लागि एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख ७९ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ४९ दशमलव ४१ प्रतिशत र आर्थिक वर्ष २०७८-७९ मा एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ९० दशमलव ९४ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।
भन्सार विभागले लक्ष्य पार नभए पनि चालु वर्षका लागि विगतको वर्षभन्दा केही लक्ष्य घटाएको छ । कार्यालयका अनुसार यस नाकाबाट पछिल्लो ५ महिनामा भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जीप, कार र भ्यान, पेट्रोल, मोबाइल टेलिफोन, इलेक्ट्रिक कार, जीप, भ्यान, एम एस विलेट, टायल, डिजेल, मार्वल स्ल्याब, एलपी ग्यास रहेको छ ।
भैरहवा भन्सार कार्यालय निर्यातलक्षित भन्सार नरहेको कारण यहाबाट न्यून रुपमा निर्यात हुने गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा भैरहवा नाकाबाट ५ अर्ब ७२ करोड बढीको निर्यात व्यापार भएको छ । यो गत वर्षको ५ महिनाको तुलनामा केही बढी हो । गत वर्षको साउनदेखि मंसिर सम्ममा ५ अर्ब ६८ करोड मूल्यका सामानहरू निकासी भएका भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
चालु वर्षको चार महिनामा भारततर्फ सिमेन्ट निकासीमा भारतीय गुणस्तरको प्रमाण नवीकरण नहुँदा केही सिमेन्ट उद्योगले निर्यात गर्न पाएका छैनन् । अन्य वस्तु तथा सामान भने निर्यात भइरहेको छ । गत वर्षको तुलनामा भारत एवं तेस्रो मुलुकमा निर्यात वृद्धि भएको तथ्यांकले देखाएको छ । निर्यात व्यापार बढेको कारण भैरहवा नाकामार्फत् हुने आयात निर्यातबाट व्यापार घाटा केही कम भएको छ । चालु वर्षको ५ महिनामा भने १ खर्ब ३ अर्ब २४ करोड मूल्य बराबरको सामान आयात भएको छ ।
भैरहवा नाका हुँदै निर्यात बढी हुने मुख्य सामान एवं वस्तुमा सेन्थेटिक यार्न, सिमेन्ट, क्लिन्कर, प्लाइउड, विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायतका जडीबुटी रहेका छन् । त्यसैगरी तयारी चाउचाउ, पास्ता तथा चोकर भुस, रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप, खोटो रोजिन, बियर, अल्कीड रोजिन र अन्य पिभिसी रोजिन, स्टिलका भाँडाकुँडालगायतका वस्तु भारत तथा तेस्रो मुलुकमा निर्यात हुने गर्छन् ।
केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नु पर्ने अवस्था रहेकोमा आयात प्रतिस्थापन गर्दै दुई वर्षदेखि सिमेन्ट एवं क्लिंकर निकासी हुन थालेको हो । सरकारले बजेटमार्फत् विभिन्न वस्तु तोकिएको परिमाणभन्दा बढी निकासी गरेमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको छ । सोहीअनुसार उद्योगहरुले भारततर्फ निकासी बढाइरहेको छन् । तर सरकारले समयमै नगद अनुदान नदिँदा व्यवसायीले लाभ लिन सकेका छैनन् ।
सरकारले क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानीसहित ८ वस्तु तथा सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस आउटसोर्सिङ निकासीमा उच्च सम्भावना रहेका वस्तु तथा सेवा तोकिएको परिमाणमा निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था सरकारले गरेको छ । बेलहिया नाका हुँदै सेन्थेटिक यार्न, सिमेन्ट बाहेक प्लाइउड वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायत जडीबुटीको निकासी बढ्दै गएको छ ।
सेजबाट २४ करोड बढी निर्यात
विशेष आर्थिक क्षेत्र (सेज)बाट चालु अर्थिक वर्षमा २४ करोड ८२ लाखको सामान भारत निकासी भएको छ । देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका समानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि विशेष आर्थिक क्षेत्र ल्याएको हो । सुरुवाती चरणमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकोमा अहिले प्रावधान संशोधन गरी घटाइए पनि निर्यात सोंचेअनुसारको भएको छैन । सेजमा ७ वटा उद्योग सञ्चालनमा छन्, केही उद्योगले विगत ४ वर्षदेखि निर्यात पनि गरिरहेका छन् । अहिले भैरहवा सेजमा सञ्चालित सीमित उद्योगले आफ्नो उत्पादन नेपालको आन्तरिक बजारसँगै भारत निकासी गरिरहेको भैरहवा सेजका सहायक निर्देशक सबुत डुम्रेले बताए ।
भैरहवा सञ्चालनमा आएदेखि हालसम्म (मंसिर मसान्त) २ अर्ब ७३ करोडको सामान भारत निकासी भएको छ । भैरहवा सेजमा स्थापित उद्योगले २०७६ सालदेखि आफ्नो उत्पादन भारत निकासी गर्न सुरु गरेकामा ५ वर्षको अवधिमा यो निकासी भएको हो । भैरहवा सेजबाट गत आर्थिक वर्ष २०८०–८१ मा ६० करोड ३६ लाख रुपैयाँको सामान भारत निकासी भएको थियो ।
गत आर्थिक वर्ष उत्पादित वस्तुमध्ये ६६ प्रतिशत र चालु वर्षको ५ महिनामा ४८ प्रतिशत निकासी भएको छ,’ डुम्रेले भने–‘निकासी विस्तारै बढ्दैछ ।
पहिलो वर्ष एउटा उद्योगबाट उत्पादन भइ निकासी सुरु भएकोमा अहिले ५ वर्षमा पुग्दा ११ उद्योग स्थापना भइ उत्पादन सुरु भएका छन् ।’ उनका अनुसार अहिले भैरहवा सेजमा सञ्चालन भइरहेका श्रीशक्ति मिनरल्स, विस्तार ग्लोबल प्रालि, ब्रिलियन्ट लाइटिङ, तिरुपति मेटल, हिमालयन ग्रेनाइट, एस पोलिमर्स, हिमालयन इको इनर्जी, श्री इस्पर्ट, इको नेपाल, आर्सी इन्डस्ट्रिज उद्योगबाट उत्पादित सामान भारत निकासी भइरहेका छन् । त्यहाँ रहेका पञ्चकन्या मेट एसएस एक्स्पोर्ट र जयबुद्ध मेटल उद्योग भने अहिले प्राविधिक कारणले बन्द छन् ।
यहाँका उद्योगले चुनढुंगा प्रशोधन गरी उत्पादित चिप्स, स्टिलका भाँडा, बिजुली बत्ती, प्लास्टिकका सामान प्रशोधन गरी दाना चिप्स, कच्चा ढुंगा ल्याएर मार्बल–टायल, फर्निस आयल, पुरानो ब्याट्री प्रशोधन गरी लिड निकाली सामान बनाउने गर्दै आएका छन् । यी सामान आन्तरिक बजारमा खपत गर्नुका साथै भारत निकासी हुँदै आएका छन् । सेजका उद्योगबाट उत्पादित सामान निकासी र आन्तरिक बजारमा खपतका लागि २०८१ बैशाखमा कुल उत्पादनको ३० प्रतिशत निकासी र ७० प्रतिशत आन्तरिक बजारमा खपत गर्न सकिने नियम सरकारले ल्याएको थियो । उद्योग सञ्चालनको पहिलो ३ वर्ष उत्पादित सबै सामान स्वदेशमै खपत गर्न सकिने प्रावधान छ ।
सेजमा भाडा महँगो भएको, विद्युत् आपूर्ति राम्रो नभएको र अन्य सेवासमेत नभएको जनाउँदै उद्योगीहरु आकर्षित नभएपछि विशेष आर्थिक क्षेत्र व्यवस्थापन समितिले भाडा घटाको छ । विद्युत्तर्फ भने सबस्टेसन निर्माण अन्तिम चरणमा रहेको र माघ अन्तिमसम्म सञ्चालन हुने लक्ष्यका साथ काम भइरहेको छ । भैरहवा सेजमा उद्योग स्थापनाका लागि ६८ प्लट छुट्याइएकोमा अहिलेसम्म त्यहाँ सञ्चालनमा रहेका उद्योगले ३१ वटा प्लट लिएका छन् ।




