२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हिंसा प्रभावितको सारथी बन्दै महिला सहकारी

हिंसा प्रभावितको सारथी बन्दै महिला सहकारी

हिंसा प्रभावितको सारथी बन्दै महिला सहकारी

हिंसा प्रभावितको सारथी बन्दै महिला सहकारी

हिंसा प्रभावितको सारथी बन्दै महिला सहकारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१

  • विष्णु खनाल 
    नवलपरासी
    सहकारी भन्नासाथ पैसा बचत गर्नै ऋण निकाल्ने मात्रै भन्ने लाग्न सक्छ । सहकारीले आर्थिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान दिइरहेको छ । हिंसाको चपेटामा परेका महिलाहरूका लागि आशाको किरण बनेको छ भन्दा पत्यार नलाग्न सक्छ, तर पश्चिम नवलपरासीमा रहेको दाउन्नेदेवी महिला बहुउद्देश्य सहकारी संस्थाले हिंसा पीडित महिलाहरूका लागि आश्रयस्थल सञ्चालन गरेर काम गरिरहेको छ ।

    २०६६ सालबाट सञ्चालन गरेको आश्रय स्थलमा हालसम्म २ हजार २ सय १३ जना हिंसा पीडित - प्रभावितहरूले सेवा लिएका छन् । ३ वर्षदेखि ५ वर्ष उमेर समूहका १४२ जना, ५ देखि १० वर्ष समूहका १६ जना, १० देखि १५ वर्ष समूहका ९५ जना, १५ वर्षदेखि १८ वर्ष समूहका २९३ जना, १८ देखि ३५ वर्ष समूहका ९०६ जना, ३५ वर्षदेखि ५० वर्ष समूहका ५६१ जना, ५० वर्षदेखि ६० वर्ष समूहका १२१ जना र ६० वर्ष माथिका ७९ जना हिंसा पीडित र प्रभावितहरूले सेवा लिएका छन् । जसमा महिला १ हजार ९ सय ६९ जना, बालिका १४९ जना र बालक ९५ जना रहेको सेवा केन्द्र प्रमुख निशा चौधरीले बताइन् । 


    आएका केसहरू विभिन्न निकाय र संस्थाहरूबाट सम्प्रेषण गरेका हुन् । प्रहरीबाट १ हजार २ सय ९२, स्थानीय तहबाट १६९, एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट १०२, विभिन्न सङ्घ संस्थाहरूबाट २८९, सेवा केन्द्रमा सोझै आएका ३६१ जना रहेका छन् । जिल्लाका स्थानीय तहले अहिलेसम्म हिंसा पीडितका लागि आश्रयस्थल सञ्चालन गर्न सकेका छैनन् । महिलाहरूले सञ्चालन गरेको यस आश्रयस्थललाई आर्थिक समस्याका बाबजुत पनि सेवा सञ्चालन गरिरहेको सहकारीका अध्यक्ष देवी पौडेल बताउँछिन् । नवलपरासी जिल्ला टुक्रनु अघि ३४ वटा महिला सहकारी थिए । हिंसा पीडितका लागि आश्रयस्थल सञ्चालनको जिम्मा दाउन्नेदेवी महिला बहुद्देश्यीय सहकारी संस्थाले लियो । २०६६ सालमा महिला विकासको ८ लाखको आर्थिक सहयोगमा सञ्चालन गरिएको थियो । राज्य पुनः संरचनासँगै नवलपरासी जिल्ला पूर्वी नवलपरासी र पश्चिम नवलपरासी मा विभाजन भएपछि आश्रय स्थलमा केन्द्र सरकारबाट ३ लाख रुपैयाँ र प्रदेश सरकारबाट ५ लाखको सहयोग प्राप्त हुन थाल्यो । पछि क्रमशः प्रदेश सरकार र केन्द्र सरकारबाट आर्थिक सहयोग प्राप्त हुन छाडेपछि सहकारीले नै आर्थिक खर्च गरेर आश्रय स्थल चलायो । 


    २०७४ सालमा निर्वाचित बर्दघाट नगरपालिकाका जनप्रतिनिधिले २ लाख रुपैयाँ आर्थिक सहयोग गरे पनि त्यस पश्चात स्थानीय सरकारमा पटक–पटक आर्थिक सहयोगका लागी पत्र पठाउने र प्रत्यक्ष भेटघाटमा सहयोगको अपिल गरे पनि सुनवाइ नभएको अध्यक्ष पौड्यालको गुनासो छ । उनी भन्छिन्–“यदि दाउन्नेदेवी महिला बहुउद्देश्य सहकारी संस्था हुँदैन थियो भने आश्रयस्थल उहिले बन्द हुन्थ्यो, यहाँका हिंसा पीडित महिला दिदी बहिनीहरूले न्याय पाउनका लागि एक्लै हुनुपर्ने अवस्था आउने थियो ।” २०६६ देखि २०८०।०८१ सम्म जबरजस्ती करणीका ६६, बेचबिखनका ७५, बहुविवाहको ११४, अनमेल विवाहको ११३, दाइजोको १०६, कुटपिट ३७९, घरनिकाला ३७२, यौन दुव्र्यवहार १०९, गाली बेइज्जती ६०० , अलपत्र बेवारिसे ८४ र अन्य १९५ जना हिंसा प्रभावित महिला तथा बालकालिका रहेको पौड्यालले बताइन् । जसमा दलित ३५३, जनजाति ७७७, मुस्लिम १६५, मधेशी ४९३ र अन्य ४२५ रहेका छन् । २०७४ सालमा नवलपरासीमा बाढीले मच्चाएको वितण्डाबाट आश्रयस्थल पनि जोगिन सकेन, फर्निचर, लत्ताकपडासहित संस्थागत डकुमेन्टमा समेत पूर्ण क्षति पुग्यो । विभिन्न संस्थाको सहयोगमा पुनः आश्रय स्थलले पूर्णता पायो । 
    संस्थामा आउने हरेक उतारचढावलाई चिर्दै आजको दिनसम्म आइपुग्दा पनि तिमीहरुले यति काम गर्यौ भनेर हौसला दिने कोहि नहुँदा दुःख लाग्ने गरेको पौड्यल बताउँछिन् । 


    बर्दघाट नगरपालिका वडा नं. ४ कि २३ वर्षीय सुनिता शर्मा (नाम परिवर्तन) विवाह भएको ३–४ महिनाबाटै श्रीमानसँगको दुरी बढ्न थाल्यो । घर परिवारको कुरा सुनेर श्रीमतीलाई शंका गर्नेदेखि मानशिक यातना दिन थालेका श्रीमानले विस्तारै शारीरिक यातना दिन थालेपछि उनी माईतिको शरणमा पुगिन् । न्यायको खोजीमा उनी दाउन्नेदेवी महिला बहुउद्देश्य सहकारीको ढोका ढ्क्ढक्याउन पुगिन । सहकारीको सहयोगमा २०७८ सालमा जिल्ला अदालतमा मुद्दा दायर भयो मुद्दाको फैसला सुनिताको पक्षमा रह्यो । परिवार पक्षबाट फेरि उच्च अदालत बुटवलमा मुद्दा परेकोमा हालसालै पुनः सुनिताको पक्षमा फैसला भएको छ । यो विचमा समाजमा उठेका विभिन्न खालका लान्छनालाई चिर्दै उनी अहिले ब्यूटिशियन पेशामा आफूलाई अब्बल ठहराएकी छन् । सुनिता भन्छिन्–“घरमा पाएको शारीरिक हिंसा सहन नसकेर माइतिमा आए पनि गाउँका मान्छेले गर्नै व्यवहार र आफन्तीबाट पाएको तिरस्कारले पटक–पटक आत्महत्याको बाटो रोजे, तर बुबा आमाको अनुहार सम्झेर फर्किर, म, बुबा आमाको एक्लो सन्तान थिए, मैले नै संसार छोडेमा मेरो बुबा आमाको के होला भन्ने लाग्थ्यो, पछि दाउन्नेदेवी बहुउद्देश्य सहकारीले हिंसा पीडितका लागि काम गर्छ भन्ने थाहा पाएर उहाँहरुको साथ र हौसलाका कारण मुद्दा पनि जिते । पछि खाली बसेर केही हुँदैन केही गर्नु पर्छ भन्ने लाग्यो र ब्यूटिशियन तालिम लिएर अहिले आफ्नै पार्लर सञ्चालन गरेर बसेकि छु । हिजो नानाथरी भन्ने मान्छेहरु आज मलाई देखाएर उदाहरण दिन्छन्, खुशि लाग्छ ।” उनी मात्र हैन उनी जस्ता अन्य हिंसा पीडित महिलाहरू यस आश्रयस्थलमा आश्रय लिएर नयाँ जीवनको सुरुवात गरिरहेका छन् । यहाँ उनीहरूलाई सुरक्षित बास, खानपिन, मनोसामाजिक परामर्शलगायतका सेवाहरू प्रदान गरिन्छ । 


    पाल्हिनन्दन गाउँपालिका २ कि कल्पना यादव (नाम परिवर्तन) विवाह भएको २० वर्षसम्म पनि सन्तान नभए पछि घर परिवारबाट तिरस्कृत हुन पुगिन । सरकारी विद्यालयका शिक्षक रहेका उनका श्रीमानले आफैँले पढाउने कक्षा १० की छात्रासँग विवाह गरे । परिवार र समाजको तिरस्कारबाट आफूलाई सम्हाल्दै आएकी कल्पनालाई दास्रो विवाह गरेसँगै शारीरिक यातना समेत पाउन थालिन । जेठानी र उनको छोराले कुटपिट गर्दा दुईबटै हात भाँचिदिएपछि दाउन्नेदेवी महिला बहुउद्देश्य सहकारी मा तीन महिनासम्म आवास गृहमा बसिन् । हातमा लगाएको प्लाष्टर खोलिएपछि कानुनी लडाईमा सहकारीले साथ दियो, अहिले कल्पना श्रीमानसँग अलग भएर गाउँमै सानो टेलर चलाएर आफनो दैनिकी चलाएकी छन् । उनी भन्छिन्–“घरको मान्छेले गरेको व्यवहारले मलाई निकै गाह्रो भएको थियो माईती ईन्डीया हो जान पनि टाढा, बुबा आमा पनि नभएको भाइ बुहारीसँग जान मन लागेन । परासीमा रहेको महिलाको संस्थाले म बिमार हँुदा खुब ध्यान दियो, निको बनायो पछि बुढासँग जग्गा लिएर बसे, अहिले कपडा सिलाएर बसेछु । राम्रो लागेको छ ।” आश्रयस्थलमा बसेका महिलाहरूले सहकारीले गरेको यो पहलले उनीहरूलाई हिम्मत दिएको बताएका छन्, लघुवित्त मा काम गर्नै प्रतापपूर गाउँपालिकाकी १८ वर्षीय किशोरी रिम्ता रौनियार (नाम परिवर्तन) प्रतापपूरबाट गुठीप्रसौनी बचत उठाउन जाने क्रममा सटकट बाटो उखुवारी थियो । २०७३ साल जाडोको समय बिहानै उखुबारीको बाटो हिड्ने क्रममा सामूहिक बलत्कारमा परिन । जिल्ला अस्पतालमा उपचारपश्चात् उनका परिवारले घर लैजान मानेनन् । सहकारीको आबास गृहमा बसेरै उनलाई बलत्कार गर्नै १० जना मध्ये नौ जनालाई जेल पु¥याउन सफल भइन, १ इञ्जीनियर अझँै फरार रहेका छन् । उनी भन्छिन्–“घरपरिवारले ईज्जत र समाजको डर ले घर लैजान मानेको थिएन्न मैले भने गल्ति मैले गरेको छैन् म किन डराउने ,ईज्जत त मलाई त्यस्तो गर्नै मान्छेको जाने हो भनेर घरमा आए, कति दिन आश्रय स्थलमा बस्ने सधै बस्ने कुरा भएन । घर आएपछि फेरी कलेज जोईन गरे अहिले पढाइ पुरा गरेर लघुवित्तमै राम्रो पदमा काम गरेकी छु । घर परिवारलाई पनि हेरेको छु ।” यदि दाउन्नेदेवी महिला बहुउद्देश्य सहकारी संस्था हँुदैन थियो  भने यसरी समाजमा आएर खडा हुन सक्ने अवस्था आउँदैन्थ्यो भन्छिन्, रिम्ता । 


    आवास गृहमा आर्थिक वर्ष २०८०।०८१ मा रामग्राम नगरपालिकाबाट १० जना, सुनवल नगरपालिकाबाट ५ जना, प्रतापपूर गाउँपालिकाबाट ८ जना, सरावल गाउपािलका बाट ८ जना, पाल्हिनन्दन गाउँपालिकाबाट १३ जना, सुस्ता गाउँपालिकाबाट ११ जना, बर्दघाट नगरपालिकाबाट १२ जना गरी ६७ जना हिंसा प्रभावितले सेवा लिएका छन् । प्रत्येक स्थानीय तहले सकेसम्म बडास्तरमा नभए पालिकास्तरमा हिंसा प्रभावितका लागि आभास गृह सञ्चालन गर्नुपर्नेमा पश्चिम नवलपरासीमा एउटा पनि स्थानीय तहमा आभास गृह सञ्चालन गर्न नसक्नु दुःखद पक्ष रहेको बताउँछन् जिल्ला समन्वय समिति संयोजक भगौती यादव रुदल । उनी भन्छन्–“जिल्ला समन्वय समितिले आर्थिक रुपमा केहि गर्नको लागि बजेट हुँदैन बजेट सबै स्थानीय तहमा मात्रै हुने भएकोले जिल्लामै एउटा मात्रै हिंसा प्रभावितका लागि आवास गृह रहेको त्यो पनि आर्थिक संकटमा जुदेको हुँदा, विगतदेखि नै राम्रो काम गर्दै आएको संस्था दाउन्नेदेवीलाई सहयोग पु¥याउनका लागि हामी समन्वय संस्था भएकोले पालिकाहरुसँग समन्वय गर्ने काम गरिराछौं ।” जिल्ला समन्वय समितिले यस सहकारीको कामलाई सघाउन चासो देखाएकोले यस क्षेत्रमा थप सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । 


    यसले अन्य स्थानीय तहलाई पनि यस्तो खालका कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्नेमा आसावादी छन्, सहकारी अध्यक्ष पौड्याल । बर्दघाट नगरपालिकाकाले आश्रय स्थलको लागी भनेर बजेट छुट्याउँदै आए पनि नगरपालिका को क्षेत्रभन्दा बाहिर परासी रहेको हुँदा सहकारीको नाममा भुक्तानी दिनको लागि कानुनी अड्चनले गर्दा रकम निकासा गर्न नसकिएको बताउँछन्, बर्दघाट नगरपालिकाका उप–प्रमुख रुद्र प्रकाश उपाध्याय । 


    यस आर्थिक वर्षमा पनि हिंसा प्रभावितका लागि आश्रयस्थल भनेर १ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । सात वटा पालिकामध्ये ६ वटा पालिकाको सामूहिक आश्रयस्थलको रुपमा दाउन्नेदेवी बहुउद्देश्यिय सहकारी संस्थाले सञ्चालन गरेको आश्रयस्थललाई नै साझा कार्यक्रमको रुपमा काम गर्नै गरी तयारी भएको उपाध्यायले बताए । जिल्लामा रहेका बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपूर गाउँपलिका, सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिका ले हिंसा प्रभावितका लागि अस्थाई आवास गृह जिल्ला समन्वय समितिको नेतृत्वमा गर्ने भएका छन् भने सुनवल नगरपालिकाले पालिकामै हिंसा प्रभावितका लागि आवास गृह सञ्चालन गर्ने बताएको छ । 


    सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले पालिकामै खाली रहेको भवनलाई मर्मत कार्य गरेर हिँसा प्रभावितका लागि अस्थाई आवास गृह सञ्चालन गर्नै तयारी भएको बताएकी छन् । स्थानीय सरकारमा निर्वाचित भएर आएपश्चात् पहिलो वर्ष बुझ्दैमा गयो यो आर्थिक वर्षमा भने हिंसा प्रभावितका लागि बजेट विनियोजन गरिएको बताउँछिन्, सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरी । उनी भन्छिन्–“आश्रय स्थलमै राख्नुपर्नै खालको केश वर्षमा ३।४ वटा मात्रै आउँछ । आश्रयस्थलकै लागि भवन बनाउनेदेखि बस्नको लागि उचित वातावरण तयार गराउँदा लगानी धेरै लगाउनु पर्ने भएकोले सातवटै स्थानीय तहका उप–प्रमुख र उपाध्यक्षहरु बैठक बसेर दाउन्नेदेवी बहुउद्देश्य सहकारी संस्थाले सञ्चालन गर्दै खाएको हिंसा प्रभावितका लागि आवास गृहलाई सबै पालिकाबाट सक्दो बजेट विनियोजन गर्ने निर्णय गरेका थियांै । सुस्ता गाउँपालिकाले ५० हजार बजेट महिला सहकारीकै नाममा विनियोजन गरेका छौं ।” सबैको लागि पायक पर्ने स्थान सदरमुकाममा आवास गृह राख्दा पछि कानुनी रुपमा लड्नको लागि पनि सहज हुने बुझाइ छ, गीताको । परिवारिक, सामाजिक, आर्थिक, राजनैतिक र हाम्रा धर्म संस्कारका कारण महिलाहरु दिनानुदिन हिंसामा पर्ने क्रम बढ्दो अवस्थामा रहेको बताउँछिन्, संविधानसभा सदस्य एवम् संस्थाका पूर्व अध्यक्ष सिन्धुजलेसा बुढाथोकी ।


    गाउँगाउँमा सिंहदारबार आएकोमा स्थानीय तहले नै विशेष जोड दिएर हिंसा प्रभावितका लागि बजेट विनियोजन गर्नुपर्नुे उनको भनाइ छ । उनी भन्छिन्–“हिंसा प्रभावितका आवाज बुलन्ध गर्दै उनीहरुलाई व्यवस्थापन र कानुनी पाटोमा सहयोग गरी पुनःस्थापन गर्नका लागि स्थानीय सरकारसँगै विभिन्न संघसंस्था, नागरिक समाज मिडियाहरुको सहयोगको आवश्यकता छ । दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाले हिंसा प्रभावितका क्षेत्रमा उदाहरणीय काम नै गरेको छ । महिला अधिकार, उद्यमशीलतासँगै स्वरोगजगार बनाउनको लागि पश्चिम नवलपरासीका मात्रै नभएर प्रदेशमै उत्कृष्ट महिला सहकारीबाट सम्मानित संस्था भएको हुँदा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij