पुष महिनाको मध्यमा तराईमा शितलहर सुरु भएको छ । अत्याधिक चिसो बढ्दा तराईको जनजीवन कष्टकर भएको छ । शितलहर दुई-तीन सातादेखि एक महिनासम्म चल्ने भएकाले यहाँको जनजीवन कष्टकर हुन्छ । शितलहरबाट नागरिकको जीवन कसरी जोगाउने ? सरकारको प्राथमिकता नागरिकको जीवन जोगाउन केन्द्रित हुनुपर्छ ।
तराईमा जाडोमा अत्याधिक चिसो र गर्मीमा अत्याधिक गर्मी हुन्छ, जसले यहाँको जनजीवन अत्याधिक प्रभावित हुन थालेको छ । अत्याधिक चिसो र अत्याधिक गर्मीका कारण तराईमा जनजीवन अस्तव्यस्त हुँदा क्षति न्यूनीकरण गर्न सरकारको कार्ययोजना प्रष्ट छैन । शितलहरबाट नागरिकको जीवन जोगाउन तहगत सरकारबिच समन्वयात्मक भूमिका जति आवश्यक छ, गर्मीयाममा लाग्ने ‘लू’बाट बचाउन प्रष्ट कार्ययोजनासहितको कार्यक्रम सञ्चालन हुनुपर्छ ।
त्यसो त शितलहरबाट जोगाउन राज्यले गरेका केही कामको नतिजा देखिन थालेका छन्, त्यसलाई सकारात्मक मान्नुपर्छ । अहिले गरिब र सीमान्तकृत घरबारविहीन नागरिकलाई सरकारले ‘जनता आवास कार्यक्रम’ मार्फत् घर बनाइरहेको छ । घरबारविहीन घरपरिवारले अहिले सुरक्षित ओत पाइरहेका छन् । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई मासिक दिने भत्ताले पनि उनीहरुको जीवनयापन सहज बनाउन सघाउ पु¥याएको छ । शितलहरले वर्षेनी केही दर्जन नागरिकको मृत्युका समाचार पछिल्ला वर्ष आउन छाडेका छन् । अहिले जे भइरहेको छ, त्यसले मात्रै नागरिकलाई सुरक्षित राख्न सकिन्छ भन्ने पटक्कै देखिंदैन् । इट्टा उद्योगलगायतमा काम गर्ने मजदुर चिसोमा धेरै प्रभावित हुँदै आएका छन् । इट्टा उद्योगमा काम गर्ने मजदुरका छोराछोरीसँगै रहने भएकाले उनीहरुको स्वास्थ्य जोखिममा छ । तराईमा दाउराको अभाव छ, अझैँ पनि गुँइठामा खाना पकाउनेहरु धेरै छन् । उनीहरुको जीवनस्तर सुधार गर्न खाली जग्गा र सार्वजनिक जग्गामा विरूवा रोप्ने र हुर्काउने अभियान चलाएर दाउराको पूर्ति गर्न सकिन्छ ।
कतिपय पालिकाले सीमान्तकृत र गरिब परिवारलाई खाना पकाउन ग्याँस चुल्हो बाँडे । कतिपयले सिलिण्डर समेत बाँडे । तर, पाएको ग्याँस सिलिण्डर सकिएपछि अर्को सिलिण्डर किन्न नसक्दा कार्यक्रमको प्रभावकारितामा प्रश्न उठ्यो । मुलतः उनीहरुको जीवनस्तर उकास्ने कार्यक्रमलाई जोड दिनुपर्छ ।
विशेषगरी चिसोमा जेष्ठ नागरिक र बालबालिका प्रभावित हुने हुँदा उनीहरुलाई जोखिमबाट जोगाउन सचेतना कार्यक्रम चलाउनुपर्छ । सीमान्तकृत र गरिब परिवारलाई न्यानोमा राख्न पालिकाले दाउरा र न्यायो कपडा वितरण गर्न सक्छन् । बिरामी भएपछि उपचार गर्न आर्थिक अभावले सकेसम्म अस्पताल जान नखोज्ने संख्या ठूलो छ, अस्पताल जान नखोज्नेलाई अस्पतालको पहुँचसम्म पु¥याउने काम पनि पालिकाको हो ।
संकटका बेला नागरिकले राज्य खोज्छ । यही बेला हो, राज्यले नागरिकप्रति आफ्नो भूमिका देखाउने । तहगत सरकारबिच समन्वय र सहकार्यबाट नै महामारीलाई सामना गर्न सकिन्छ भन्ने हामीलाई कोभिड महामारीले सिकाएको छ ।




