बुटवल । लुम्बिनी प्रदेश सरकारले दुई वर्ष अघिसम्म प्रति लिटर दुई रुपैयांका दरले दिंदै आएको प्रोत्साहन रकम कटौति गरेपछि दुग्ध उत्पादक किसाननिराश र निरुत्साहित भएका छन् । किसानले उक्त प्रोत्साहन रकम पुनः नियमित गर्न प्रदेश सरकारसंग माग गरेका छन् ।
प्रदेश सरकारले आर्थिक बर्ष २०७९/०८० देखि किसानले पाउने प्रतिलिटर दुई रुपैया प्रोत्साहन अनुदान रकम कटौति गरेको र सैनामैना नगरपालिकाले दिने अनुदान समेत अत्यन्त कम भएको गुनासो किसानले गरेका छन् ।
रुपन्देहीकै पुरानो र ठूलो सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाले पत्रकार सम्मेलन गरी प्रदेश सरकारले प्रोत्साहन रकम रोक्दा दुध उत्पादनमा संलग्न किसानहरु निराश भएर विदेश पलायन हुन थालेको गुनासो गरे । स्थानीय पालिकाले प्रति लिटर एक रुपैयांसम्म अनुदान दिएको भन्दै प्रदेशले दिंदै आएको अनुदान रोकेर किसानमाथि अन्याय गरेको सहकारीका अध्यक्ष तिलकराम घिमिरेले बताए ।
किसान महासंघमार्फत मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर दुधमा दिंदै आएको अनुदान पुनः सुचारु गर्न माग गरेपनि कुनै सुनुवाई नभएको गुनासो गरे ।
‘स्थानीय सरकारले अनुदान दिएको भनेर प्रदेश सरकारले रोकेको हो भने हामी पालिकाको पैसा लिन्नौंं प्रदेशबाट दिंदै आएको नघटाई दिइयोस्’–अध्यक्ष घिमिरेले भने–‘कृषि प्रधान मुलुक भन्दै नेता र मन्त्रीले भाषण गर्ने तर किसानलाई दिंदै आएको प्रोत्साहन अनुदान रोक्ने रवैयाले किसानहरु निराश भएका छन्, सैनामैनाका मात्रै १० वटा ठूला गाई र भैंसीका फार्म बन्द गरेर किसान विदेश पलायन भए, यो भन्दा ठूलो विडम्बना के हुन्छ ?’
प्रदेश सरकारले दुध उत्पादनको आधारमा नभई जिल्लाका आधारमा प्रोत्साहन अनुदानको वजेट विनियोजन गर्ने अवैज्ञानिक नीतिका कारण प्रदेशमै सबैभन्दा धेरै दुध उत्पादन गर्ने रुपन्देहीलाई प्रोत्साहन अनुदान कटौति हुन पुगेको औंल्याए ।
‘जिल्ला हेरेर हैन, दुध उत्पादनको मात्रा हेरेर प्रोत्साहन वजेट छुट्टाउनुपर्छ तब मात्र किसानलाई न्याय हुन्छ’–अध्यक्ष घिमिरेले भने–‘सरकारले उत्पादनका आधारमा प्रोत्साहन रकमलाई निरन्तरता नदिने हो भने केही वर्षमा किसानले व्यवसायिकरुपमा गाइ भैंसी पाल्न छाड्ने अवस्था आउंछ, यसतर्फ सरकार गम्भीर बनोस् ।’
सहकारी संस्थामा ४०९ जना किसानले दैनिक १० हजार लिटर दुध उत्पादन गर्ने क्षमता भएपनि बजार खुम्चिंदा ४ हजार ५ सय लिटर दुध उत्पादन गरिरहेको अध्यक्ष घिमिरेले बताए । उनले नगरपालिकाले किसानहरुको पहिचानका लागि किसान कार्ड लागु गर्न पनि सरकारसंग माग गरेका छन् ।
दुधको उपभोग गर्ने युवा जनशक्तिको बढ्दो विदेश पलायन र खुला सीमाबाट नेपाल भित्रिने गुणस्तरहीन सस्तो दुधका कारण स्थानीय किसानले उत्पादन गरेको दुध समेत विक्रिमा बजारको समस्या देखिएको सालझण्डीका पशुपालक किसानहरुले गुनासो गरेका छन् ।
खुला सिमाका कारण भारतबाट सस्तो दुध बुटवल लगायतका बजारमा आउँदा आफूहरुले उत्पादन गरेको दुध विक्री तथा बजारीकरणमा समस्या भएको किसानहरुको गुनासो छ । उनीहरुले खुला सिमामा कडाई गरी भारतीय दुध आयात पूर्णरुपमा रोक्न माग गरेका छन् ।
स्थानीय, प्रदेश र संघीय सरकारले दुधको उपभोग बढाउने नीति र कार्यक्रम नल्याउंदा पनि किसानहरु निरुत्साहित भएको सहकारीका पूर्व अध्यक्ष टिकाराम पाण्डेले गुनासो गरे । ‘तीनै तहका सरकारले दुग्ध उत्पादक किसानको समस्या समाधान गर्न प्राथमिकता दिएनन्, बर्षौंदेखि हाम्रा उस्तै छन्’– पाण्डेले रुष्ट हुंदै भने–‘नेपाललाई अब कृषि प्रधान मुलुक भन्न छाडे हुन्छ, युवा निर्यात प्रमुख मुलुक भने हुन्छ ।’
किसानले पशु वीमा वापत पाउनु पर्ने रकम समेत समयमा नपाउंदा दुध उत्पादन पेशामा टिकिरहन जांगर मरेको र थप निराशा बनाएको सालझण्डीका किसान ऋषिराम ज्ञवालीले गुनासो गरे । ‘चार महिना भयो विमा दावी गरेको अहिलेसम्म पाइएको छैन’–उनले भने –‘ सरकारले दुध उत्पादन गर्ने किसानलाई कुनै प्रोत्साहन गर्न सकेन, पाउंदै आएको अनुदान पनि कटौति गर्यो यसरी कति दिन टिक्ने ?’
सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले नेपाल भारत खुला सिमाका कारण भारतीय दुध नेपाली बजारमा आउँदा नेपाली दुध उत्पादक किसानलाई समस्या परेकाले त्यसलाई रोक्नुपर्ने बताए ।
सैनामैना नगरपालिकाले किसानलाई उत्पादनका आधारमा दुधमा अनुदान दिएपनि त्यो ज्यादै कम भएकाले आगामी दिनमा अनुदान बढाउन प्रयास गर्ने प्रतिवद्धता जनाए । सालझण्डी दुग्ध उत्पादक सहकारीले आफ्नै दाना उद्योग सञ्चालन गरेर किसानलाई दाना दिंदै आएको छ । यस्तै किसानबाट खरिद गरेको दुध विक्रि नहुंदा घिउ,पनीर, कुराउनी लगायतका परिकार उत्पादन गरी विक्रि गर्दै आएको छ ।
तर ती दुधका परिकार विक्रि वितरणमा बजारिकरणमा सरकारबाट सहयोग नभएको संस्थाको गुनासो छ ।




