यो वर्ष तीन लाख १७ हजार ४ सय ८२ विद्यार्थीले माध्यमिक शिक्षा उत्तीर्ण गरे । उच्चशिक्षा पढ्नयोग्य यीमध्ये विश्वविद्यालयमा कुल ३५ हजार मात्र विद्यार्थी भर्ना भए । माध्यमिक शिक्षा पूरा गरेर यो वर्ष ३५ हजारले उच्चशिक्षा अध्ययनका लागि भर्ना गरे पनि बाँकी उच्चशिक्षा पढ्नयोग्य दुई लाख ८१ हजार ८७६ विद्यार्थी कहाँ गए ?
माध्यमिक तह पूरा गरेका धेरै विद्यार्थी विश्वविद्यालयमा भर्ना नहुुनुको खोजी सरकारी तहबाट हुन सकेको छैन । विश्वविद्यालय जानुपर्ने विद्यार्थी अन्यत्र जानुको कारण खोजी नहुनु गैरजिम्मेवार क्रियाकलाप हो ।
विदेशमा अध्ययनका लागि विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट एनओसीउपलब्ध गराउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार पाँच वर्षमा विदेश जाने ७७ प्रतिशतले बढेका छन् । २०७५÷०७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएकोमा २०८०-०८१ सम्ममा एक लाख १२ हजारले लिए । चालु आर्थिक वर्षका पहिला तीन महिनामा २७ हजार ७२७ जनाले एनओसी लिएका छन् ।
नेपालका विश्वविद्यालयको कक्षा कोठामा जानुपर्ने विद्यार्थी धमाधम विदेश गइरहेका छन् । किन नेपाली विश्वविद्यालयको कक्षा कोठामा बस्न उनीहरुको रुची भएन ? अहिलेसम्म यो प्रश्नको उत्तर सरकारी निकायले खोजी गरिसक्नुपर्दथ्यो । तर अहिलेसम्म न प्रश्नको उत्तर खोजिएको छ, नत खोज्ने योजना छ ?
२०७४ सालमा विश्वविद्यालय अनुदान आयोगले गरेको अध्ययन प्रतिवेदनले उच्चशिक्षामा सुधार आवश्यक रहेको देखाएको छ । प्रतिवेदनमा नेपाली विद्यार्थीहरू विदेश जानु, शैक्षिक गुणस्तरमा गिरावट आउनु र त्यहीकारण उच्च शिक्षाले विद्यार्थीको आवश्यकता पूरा गर्न नसकेको उल्लेख छ । तर गुणस्तर सुधारका लागि कसले के गर्ने भन्ने प्रष्ट उल्लेख छैन । यो प्रतिवेदनलाई आधार मानेर थप अध्ययन भएको पाइदैन् ।
विश्विद्यालयको संख्या नेपालमा बढिरहेको छ । आवश्यकता छ कि छैन त्यसबारे अध्ययन छैन । तर विश्वविद्यालय थपिएकै छन् । अझ प्रदेश संरचना स्थापना भएपछि प्रादेशिक विश्वविद्यालय स्थापना भइरहेका छन् । अहिलेको आवश्यकता शैक्षिक गुणस्तर सुधार हो । यहाँ विश्वविद्यालय तह पूरा गरेपछि बजारमा खपत हुने जनशक्ति तयार गर्नुपर्नेछ, तर विश्वविद्यालय थप गर्ने होड छ । यसो गर्नु काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ हो । अब शैक्षिक सुधारको समग्र रोडम्याप तयार गरेर विश्वास दिलाउन सक्दा मात्रै नेपालका विश्वविद्यालयको कक्षाकोठामा विद्यार्थीलाई राख्न सकिन्छ ।




