बेलहिया नाकाबाट सन् २०२४ मा ९२ हजार ६ सय पर्यटक आएका छन् । कोभिड महामारीपछि विस्तारै तंग्रिन थालेको पर्यटन क्षेत्रमा उत्साह देखिन थालेको छ । बुद्ध जन्मस्थल लुम्बिनीसहित अन्य पर्यटकीय स्थलको घुमफिरका लागि बेलहिया नाका स्थलमार्गबाट पर्यटक आउने मुख्य नाका हो । स्थलमार्गबाट सबैभन्दा धेरै पर्यटक आउने नाकामा पर्यटकमैत्री पूर्वाधार र व्यवहार नहुँदा पर्यटन क्षेत्रलाई असर पर्न सक्छ ।
नेपाल आउने पर्यटकले यहाँ आउने बित्तिकै सुरक्षा चेकजाँचमा अनावश्यक दुःख दिने र अध्यागमनमा ढिलो प्रक्रियाले सास्ती व्यहोरेका छन् । पर्यटकलाई हार्दिकता र शिष्टाचारले आकर्षित गर्न सकिन्छ । नेपाल छिर्ने बित्तिकै आतिथ्यता राम्रो हुन्छ भन्ने सन्देश प्रवाह गर्न चुक्दा पर्यटक आकर्षित गर्न सकिंदैन । बेलहियामा रहेको अध्यागमन र पर्यटन कार्यालय पर्यटकमैत्री भएनन् भन्ने गुनासो धेरै पहिलेदेखि आएको हो । चर्को गर्मीमा र अत्याधिक चिसोमा अध्यागमन कार्यालयमा पर्यटकलाई विश्राम कक्ष व्यवस्थित गराउँदा मुलुकप्रति नै सकारात्मक सन्देश प्रवाह गर्ने अवसर हो । पर्यटन कार्यालयमा पर्याप्त सूचना सामग्रीको व्यवस्था भएन भन्ने गुनासो पनि नाजायज होइन् । सिद्धार्थनगर नगरपालिकाले डण्डा खोला किनारमा फोहरमैला विसर्जन गर्दै आएको छ । सडक किनारसँगैको डण्डा खोलामा फोहर विसर्जन गर्दा मुलुकको मुहार राम्रो देखिएन् । नेपाल छिर्ने बित्तिकै फोहरको दुर्गन्धले पर्यटकलाई स्वागत गर्नु जत्तिको निर्लज्ज काम अरु हुन सक्तैन् ।
पर्यटकका लागि आकर्षित गर्न बोली व्यवहार एउटा पक्ष हो, अर्कोतिर पर्यटकमैत्री पूर्वाधार हो । फोहरमैला विसर्जन नदी र सडक किनारमा होइन्, दिगो व्यवस्थापन गर्ने गरी फोहरमैला प्रशोधन केन्द्र बनाउन सिद्धार्थनगरपालिका किन चुकिरहेको छ ? नदीलाई फोहरमैलाबाट जोगाउन सक्दा पर्यावरणीय सन्तुलन कायम गर्न सकिन्छ नै, सफा नदी पर्यटकका लागि पनि आकर्षित गर्न सकिन्छ ।
बेलहिया नाका स्थलमार्गबाट धेरै पर्यटक आउने नाका भएकाले पर्यटकमैत्री पूर्वाधार बनाउन अब ढिलाइ गर्न हुन्न । लुम्बिनीको प्रवेशद्वार पनि भएकाले यहाँको पूर्वाधार व्यवस्थापनले सकारात्मक सन्देश प्रवाह हुन्छ । पर्यटकलाई सरोकारवाला कार्यालयका कर्मचारी र प्रहरीले राम्रो बोली व्यवहार गर्ने बित्तिकै नेपालप्रतिकै सकारात्मक धारणा बन्छ भन्ने हेक्का हुनुपर्छ ।




