वर्ग विभाजित समाजमा त्यही अनुरुपका पार्टी संघसंस्था आदि हुन्छन् । जस्तो सामन्ती समाजमा सामन्तवादी दल संघसंस्था जस्तो निरंकुश राजतन्त्र र त्यस अनुरुपको पार्टी । पूँजीवादी समाजमा पूँजीवादी दलीय पार्टी र समाजवादमा सर्वहारा वर्गीय कम्युनिष्ट पार्टी हुन्छ । नेपालमा शाही राजतन्त्र अनि निरंकुश जहाँनिया राणा शासन व्यवस्था । २००७ सालमा जहाँनिया राणा शासन–व्यवस्थाको अन्त्य भए पनि सामन्ती राजतन्त्र अनि पूँजीवादी प्रजातन्त्रको नाममा सामन्ती, दलाल र नोकरशाही बुर्जुवा शासन सत्ता ल्याइयो । त्यसमा राजा–कांग्रेस– कम्युनिष्ट सबै मिसिए । २००७ सालदेखि २०१७ सालसम्म यिनै कोही राजाका दलालहरुले भने कोही भारतीय दलालहरुले देशको शासन सत्ता चलाए । बहुदलीय पार्टीको नाममा कसैले कांग्रेस पार्टी बनाए भने कसैले कम्युनिष्ट पार्टी बनाए । तर यी सबै कोही भारतीय विस्तारवादबाट भने कोही दरबारबाट सञ्चालित भए ।
२०१७ सालपछि भने यी सबै दलहरुलाई राजा महेन्द्रले प्रतिबन्ध लगाई आफ्नै नेतृत्वमा निरंकुश र तानाशाही पञ्चायती राज्य व्यवस्थाको थालनी गरे । त्यसपछि भूमिगत रुपमा नै नेपाली कांग्रेस पार्टी र कम्युनिष्टहरुले विभिन्न नामका कम्युनिष्ट पार्टी बनाए । २०२४ सालमा पुष्पलालले नेकपा पुनर्गठन गरे भने झापामा झापालीले को . के हुँदै नेकपा (माले) अनि मोहन विक्रम–निर्मल लामाले नेकपा चौ.म. पुनर्गठन गराएर पार्टी गतिविधि अघि बढाए । २०४५ सालमा भने नेपाली कांग्रेस, माले, मनमोहन र साहना प्रधान नेतृत्वको वाममोर्चा अनि नेकपा मसाल, मशाल, चौ.म.र सर्वहारा श्रमिक संगठन आदि सम्मिलित वाम मोर्चाको संयुक्त संघर्षद्वारा २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र संवैधानिक राजतन्त्रसहितको बहुदलीय राज्य व्यवस्थाकोे स्थापना हुन गयो । पञ्चायती निरंकुशताको ठाउँ कांग्रेसी निरंकुशता र कम्युनिष्ट वामको नाममा एमाले हाउगुजी मात्र देखियो ।
चुनावी र संसदीय नौटंकीले जनता यसप्रति विस्तृष्णा वाक्क र दिक्क हुँदै गए । ठूलठूला राष्ट्रघात र जनघात भए । जसको फलस्वरुप २०५२ साल फागुन १ गतेदेखि देशमा मााओवादी जनयुद्धको थालनी भयो । जसले कांग्रेस–एमाले नेतृत्वको संसदीय राज्य व्यवस्था विरुद्धको जनआक्रोसले एउटा क्रान्तिकारी निकास दियो । रातारात देशव्यापी साना ठूला जनविद्रोह देखा पर्न थाले । सत्ताधारीहरुले जतिसुकै ठूलो शक्ति लगाएर दमन गर्न खोजे पनि त्यसलाई दबाउन सम्भव भएन । झन् पछि झन गाउँ, शहर, जिल्ला, जिल्ला देशव्यापी माओवादी जनयुद्धको प्रभाव र दबदबा बढेर गयो । हजारौं सेना, हजारौं छापामार, मिलेसिया र छापामार आधार इलाका हुँदै स्थायी आधार इलाकाहरु समते बने । गाउँ बस्तीबस्तीबाट सरकारी सेना–पुलिस भाग्ने क्रम बढेर गयो । सेना–पुलिस शहर केन्द्रित भयो भने गाउँका गाउँ बस्तीका बस्ती चारैतिर माओवादी आधार इलाका स्थापना हुँदै गयो ।
तर तत्कालीन माओवादी पार्टी नेतृत्व प्रचण्ड– बाबुरामको गद्दारी र आत्मसुरक्षाको कारण भारतीय विस्तारवादको पहल कदमीमा नेपालका नेका, एमाले, मालेलगायतका सात दल र नेकपा (माओवादी) बिच १२ बुँदे दिल्ली समझदारी सम्पन्न गरी त्यो १० वर्षे माओवादी जनयुद्धको गला रेट्ने काम भयो । कथित गणतन्त्र र लोकतन्त्रको नाममा माओवादी जनयुद्धको मात्रै होइन नेपालको सिंगो वाम आन्दोलनकै गला रेट्ने काम यसबाट भयो । यही सामन्ती दलाल र नोकरशाही बुर्जुवा सत्ता अन्तर्गत नै माओवादी जनयुद्धलाई मिसाउने काम भयो ।
त्यो दश वर्षे माओवादी जनयुद्धलाई कांग्रेस, एमाले, राजावादी यतिसम्मकि मसाल एकता केन्द्र सबैले आतंकवादी, उग्रवादी र अराजकतावादी भनी विरोध, दमन र निन्दा गर्दै आए । तर जब प्रचण्ड–बाबुराम आत्मसुरक्षावादीहरुले दिल्लीको दबाबमा १२ बुँदे दिल्ली समझदारी गरे । त्यसपछि भने सबैले त्यसको समर्थनमा भजन कृर्तन गाउँदै माओवादीलाई तत्कालीन नेपाली सेनामाथि हमला गर्न उस्काउन पुगे । तब मात्र नेपाली शाही सेना र ज्ञानेन्द्र शाहले हार स्वीर्कान बाध्य भए । तर पछि भने तिनै कांग्रेस र एमालेहरुले माओवादीलाई आतंकवादी नै भनिरहे । माओवादीलाई जे भन्दा र गर्दा पनि चुप लागि बस्ने प्रचण्ड–बाबुराम अनि त्यसको विरोध गर्ने वैद्य–बादल र विप्लवहरुबीच पार्टी अन्तरर्विरोध बढ्दै जान थालेपछि अन्ततः माओवादी पार्टी विभाजनमा पुग्यो ।
अहिले त्यो माओवादी पार्टीको नामका आधाा दर्जनभन्दा बढी माओवादी पार्टी बनेका छन् । प्रचण्ड–बाबुराम, विप्लव र वैद्य आदि लगायत केही अरु गुट उपगुट देखिएका छन् । तर यी सबैले त्यो पहिले मार्क्सवादी–लेनिनवादी र माओवादी विचार सिद्धान्त र राजनीतिलाई परित्याग गरिसकेका छन् । पार्टीको पुरानो माओवादी नै बदली अनेक थरी नाममा पार्टी बनाउँदै छन् । हुँदाहुँदै अहिले यी सबै माओवादी विचार–सिद्धान्त, राजनीति र यसको कार्यदिशा र कार्यनीति सबैबाट भाग्दै छन् । नयाँ जनवादको ठाउँमा विप्लवको एकीकृत जनक्रान्ति, वैद्यको केवल एउटा खुड्किलो अनि प्रचण्ड–नारायणकाजीहरुको वर्तमान देशको संविधानमा उल्लेखित तथाकथित समाजवाद उन्मुखतालाई नै आफ्नो कार्यक्रम भएको भनिरहेका छन् ।
बाबुराम भट्टराईले त माओवाद त के मार्क्सवाद–लेनिनवाद र कम्युनिष्ट पदवली र त्यसको विचार–सिद्धान्त राजनीति, नाम सबैलाई परित्याग गर्दै यही राज्यसत्ताअन्तर्गतकै कथित लोकतन्त्र र समाजवादकै कार्यक्रम अघि सार्दै आएका छन् । यसरी हिजोका १० वर्षे माओवादी जनयुद्धका नायक, उपनायक अनि नेता कार्यकर्ता सबै माओवाद र यसको विचार सिद्धान्त र राजनीतिबाट टाढिंदै सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ता अनुरुपको प्रतिक्रियावादी कथित लोकतन्त्र, गणतन्त्र अनि समाजवादको भजन कृर्तन गाउँदै हिंड्न थालिसकेका छन् । त्यसैले आज यिनीहरुका लागि माओवाद, नयाँ जनवाद र वैज्ञानिक समाजवाद सबै हाउगुजी, तातो दुध निलु कि थुकु भालुको कन्चट जस्तै भएको छ ।
मार्क्स–ऐगेंल्सद्वारा लिखित कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनिए जस्तै नेपालमा पनि माओवाद र १० वर्षे माओवादी जनयुद्ध देशका तमाम देशी तथा विदेशी प्रतिक्रियावादीहरुलाई हाउँ गुजी, भूतप्रेत–तर्साउने साधन नै हिजो बनेको थियो र आज पनि भएकै छ अब भोलिका दिनहरुमा नै बनिरहनेछ । यो माओवाद र जनयुद्ध सम्पूर्ण देशी तथा विदेशी प्रतिक्रियावादीहरुका लागि मात्र होइन स्वयं हिजो यो माओवादी जनयुद्ध हाँक्ने मुख्य कमाण्डर नेता सबैका लागि पनि त्यस्तै हाउँगुजी बन्ने गरेको छ । प्रचण्ड–बाबुराम, विप्लव, बादलहरुका लागि मात्रै होइन अब विस्तारै किरण–गजुरेलका लागि पनि त्यस्तै हाउगुजी बन्ने यो हो कि ? प्रश्न उठन थालेको छ ।
अन्त्यमा माथि भनिए जस्तै कम्युनिष्ट पार्टीको घोषणापत्रमा उल्लेखित भनाइलाई अघि सारौँ – युरोपमा एउटा हाउँ गुजी घुमिरहेको छ, त्यो हो–साम्यवादको हाउगुजी । यसलाई धपाउन भनेर पोप जार गिर्जा, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात पुरानो युरोपका सारा सत्ताधारी एक भएका छन् । कुन यस्तो विरोधी पार्टी छ, जसलाई सत्ताधारीहरुले कम्युनिष्ट भनी बदनाम नगरेको होस्, कुन यस्तो विरोधी पार्टी छ जसले आफू भन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरुलाई आफ्नो प्रतिक्रियावादी विरोधीलाई समेत कम्युनिष्ट भएको आरोप नलगाइएको होस् ।’ निश्चय नै नेपालमा पनि कम्युनिष्टको मात्र होइन, माओवाद र माओवादी जनयुद्धप्रति पनि यी सबैको धारणा यस्तै छ । नेपालको सन्दर्भमा मार्क्सवाद र लेनिनवादलाई नाम मात्र स्वीकारे पनि माओवाद र माओवादी जनयुद्धलाई यस्तै रुपमा लिने गरिएको छ । केही दिन पहिले एमाले अध्यक्ष तथा प्र.म. केपी ओलीले यस्तै भाषणवाजी गर्दै १० वर्षे माओवादी जनयुद्धप्रति तीब्र निन्दा र घृणा गरेका थिए ।




