बुटवल । ई–प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको लुम्बिनी प्रदेश छनोट प्रतियोगिताको उपाधि प्यारामाउन्ट बोर्डिङ हाईस्कुलले जितेको छ ।
छनोटको उपाधि सहित प्यारामाउन्टले ५० हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेश छनोट प्रतियोगितामा शान्ति नमूना, कान्ति, प्यारामाउन्ट, न्यु होराइजन, अक्सफोर्ड, होराइजन गौतम बुद्ध, सेन्ट जोसेफ र एभरेस्ट बोर्डिङ गरी ८ विद्यालयका टिमले प्रतिस्पर्धा गरेका थिए ।
तिलोत्तामा स्थित नव जीवन क्रिकेट मैदानमा सम्पन्न फाइनलमा प्यारामाउन्टले एभरेस्ट बोर्डिंग स्कुललाई ८ विकेटले पराजित गरी च्याम्पियन भएको हो । जितको लागि पाएको ६३ रनको लक्ष्य उसले ७. १ ओभरमा पूरा गरेको थियो । प्यारामाउन्टको ब्याटिंगमा सन्देश पन्थीले सर्वाधिक ४१ रन योगदान दिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको एभरेस्टले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ६२ रन बनाएको थियो । उसको लागि रवि यादवले सर्वाधिक १६ रन योगदान दिए । प्यारामाउन्टको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित शिव कुँवरले ४ विकेट लिए जुन क्रममा २ ओभरमा १ मेडन गर्दै मात्र ६ रन खर्चिए ।
आगामी माघ २३ गते देखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना हुने च्याम्पियनसिपको लागि सातवटै प्रदेशमा छनोट प्रतियोगिता भइरहेको छ ।
माघ २३ देखि २६ गतेसम्म राष्ट्रिय फाइनल काठमाडौंमा आयोजना हुने तालिका छ ।




