२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अपाङ्ग बालबालिकालाई पठनपाठनमा समस्या

अपाङ्ग बालबालिकालाई पठनपाठनमा समस्या

अपाङ्ग बालबालिकालाई पठनपाठनमा समस्या

अपाङ्ग बालबालिकालाई पठनपाठनमा समस्या

अपाङ्ग बालबालिकालाई पठनपाठनमा समस्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • प्रतिमा गौतम - बुटवल। ‘मैले घरको कोठाभित्र बसेर यसरी खाली समय बिताउनु पर्ला भन्ने साेंचेकै थिइन् । कति धेरै सपना थिए । ती सपना पूरा गर्ने आँट र हिम्मत पनि थियो । तर केही पूरा भएन ।’– यो भनाइ हो रुपन्देहीको कञ्चन गाउँपालिका–५ का दृष्टिविहीन रुपेश पौडेलको । २७ वर्षे रुपेश यसो भन्दा भन्दै भक्कानिए । त्यसपछिको धेरै समय बोल्न सकेनन् । धेरैबेरपछि रुपेशले थपे– ‘दृष्टिविहीन भए पनि अरुकुरामा अशक्त छैन । कि शिक्षक बन्छु, कि प्रविधि सिकेर प्राविधिक बन्छु भन्ने थियो, दुवै चाहना पूरा भएन ।’ 

    रुपेश जन्मदा पूर्ण दृष्टिका थिए । उनले गाउँकै साधारण विद्यालयबाट कक्षा ६ मा उत्तीर्ण गरे, त्यसपछि भने उनको बिस्तारै आँखाको दृष्टि कमजोर हुँदै गयो । बाआमाले बुटवल, भैरहवा, काठमाडौंलगायतका आँखा अस्पतालमा लगेर आँखाको उपचार गराए । तर, आँखाको ज्योति फर्केन । रुपेश आखीर पूर्ण दृष्टिविहीन हुन पुगे । सामान्य विद्यालयमा पढ्न नसक्ने भएपछि रुपेश तिलोत्तमामा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा भर्ना भए । 

    त्यहीबाटै एसएलसी परीक्षा उत्तीर्ण गरे । रुपेशको सानैदेखि प्राविधिक सीप सिकेर आत्मनिर्भर हुने मन थियो । दृष्टिविहीनलाई उपयुक्त हुने प्राविधिक सीप सिक्ने चाहनाले धेरै स्थान धाए । तर, आफू अनुकुलको व्यवसायिक सीप सिक्ने स्थान भेटाएनन् । यसपछि मन मोडेर शिक्षक बन्ने चाहना लिए । उनलाई  बीएडसम्म पढेर शिक्षक बन्ने रहर थियो । घरबाट क्याम्पस आउजाउ गरेर पढ्न सकेनन् । ‘सरकारी होस्टेलको पनि व्यवस्था पनि भएन । कोठा भाडामा लिएर अध्ययन गर्ने आर्थिक अवस्था पनि भएन । पढाइ त्यत्तिकै छोडें,’ रुपेशले भने–‘अहिले काम गर्ने जोश र जाँगर सबै मारेर घरमै थन्किएको छु ।’ रुपेशकी आमा शान्ति पौडेलले आर्थिक हैसियत कमजोर हुँदा सन्तानको दुःख हेरेर बस्नु परेको गुनासो गरिन् । 

    नेपालको संविधानले शिक्षा प्राप्त गर्न पाउनु हरेक बालबालिकाको मौलिक हक दिएको छ । संविधानको धारा ३१ मा आधारभूत तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरेको छ भने माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरिएको छ । अपाङ्गता भएका बालबालिकाको सवालमा भने उच्च शिक्षासमेत निःशुल्क हुने कानुनी व्यवस्था छ । तर, अपांगता भएकै कारण धेरै बालबालिका शिक्षाको अधिकारबाटै वञ्चित भएका छन् । 

    त्यसमध्येका एक हुन्, बुटवल बेलबासका नकुल कार्की । नकुल ८ वर्षका भए । तर, विद्यालय जान अझँै पाएका छैनन् । कारण उनको बौद्धिक क्षमता सामान्य बालबालिकाको भन्दा कमजोर छ । त्यसैले आसपासका विद्यालयले भर्ना लिएनन् । आमा सीता भन्छिन्‌–‘डाक्टरलाई देखाउँदा बौद्धिक अपाङ्गता छ, सुस्तमनस्थिति विद्यालयमा भर्ना गर्नुस् भन्नुहुन्छ । नजिकमा त्यस्तो विद्यालय छैन । टाढा पठाउन सकिएन ।’

    सीताले बुटवलको देवीनगरमा रहेको सुस्त मनस्थिति बाल विद्यामन्दिरबारे सुनेकी थिइन् । तर, गाडीको सुविधा नभएपछि  विद्यालय पठाउन सकिनन् । ‘घरमा एक्लै छु । आफूले काम नगरी खान छैन । भोको पेट भर्नै पर्‍यो,’ सीताले भनिन्‌–‘दिनहुँ विद्यालय ल्याउने लैजाने गर्न नसकेपछि विद्यालय नै पठाउन सकिन । कसरी ल्याउने लैजाने गरौँ । काम नगरी खान छैन ।’ सीताका पती गीर्वाण संस्कृत मा.वि., मणिकग्रामका शिक्षक हुन्, आफैँ शिक्षक भएर पनि सो विद्यालयमा सुस्तमनिस्थिति विद्यार्थीको लागि कुनै व्यवस्था नभएकोले आफ्‌नो छोराको शिक्षाको लागि समस्यामा परेको उनी बताउँछन् ।

    अपाङ्गता भन्नाले शारीरिक अङ्गहरू र शारीरिक प्रणालीमा विद्यमान समस्या अथवा कठिनाइको कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणबाट सिर्जना भएको सञ्चारसमेतको अवरोधले दैनिक क्रियाकलाप सामान्यरूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन र सम्मानपूर्ण जीवनयापन गर्न कठिन हुने अवस्था हो । अपांगताको गम्भीरताका हिसाबले चार प्रकारका र शारीरिक हिसाबले १० प्रकारका अपांगता भएका व्यक्तिहरू हुन्छन् । हातखुट्टा नभएको, पक्षघात, हड्डीसम्बन्धी समस्या भएका, सुनाइसम्बन्धी समस्या, दृष्टिसम्बन्धी समस्या, बौद्धिक विकासमा अवरोध, मानसिक समस्या, बोल्न या कुरा बुझाउने समस्या, सम्झिने र बुझ्‌ने समस्याका हुन्छन् । अपांगता भएका व्यक्तिले एक नभए अर्को काम गर्न र जीवन जीउने कला सिक्न सक्छन् । तर, त्यसअनुसार सामाजिक वातावरण, अपांगता मैत्री संरचना, शिक्षा र अवसर नपाउँदा उनीहरु दुःखदायी जीवन बिताउन बाध्य छन् । कोही जेनतेन घरपरिवारमा अटेका छन् । कोही अन्यत्रै आश्रय लिनु परेको छ । 

    अपांगता भएकै कारण घरपरिवारबाट निकालिएका र हिंसामा परेकालाई राख्न बुटवलमा अपाङ्ग आश्रम छ । बुटवल ११ देवीनगरमा रहेको अपांग आश्रममा ९ जना बालबालिकासहित ४० जना आश्रित छन् । त्यसमध्येका विद्यालय जाने उमेरका ५ जनाले विद्यालय गएर पढ्छन् । ४ जना बालबालिका विद्यालय जानबाट वञ्चित छन् । दृष्टिसम्बन्धी, स्वर र बोलाइ, बौद्धिक र शारीरिक अपांगता भएका बालबालिका मिल्दो विद्यालय वा शिक्षालय नभएका कारण पढ्ने अवसर पाएका छैनन्‌ । 

    आश्रमका अध्यक्ष डोलबहादुर रामदामले आश्रमले खानपान र आवास दिए पनि पढाउन नपाउँदा दुःख लागेको बताए । ‘आफ्‌ना अविभावकले नै नहेरेका बालबालिकालाई हामीले संरक्षण गरे पनि उनीहरुको अपांगताको अवस्था हेरेर अनुकुलका विद्यालयमा पठाउन सकेनौं । यसैले पढाइबाट वञ्चित भए ।’  विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने १५ प्रतिशत अपांगता भएका व्यक्ति छन् । राष्ट्रिय जनगणना–२०७८ अनुसार, देशभरमा अपांगता भएका ६ लाख ४७ हजार ७४४ जना छन् । यो जनसंख्याको २ दशमलव २ प्रतिशत हो । 

    त्यसमध्ये पढ्ने उमेरका ५ देखि २९ वर्षका व्यक्तिहरूको जनसंख्या १ लाख ४१ हजार ९८० छ । पढ्ने उमेरका बालबालिकाका लागि राज्यले समान र गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न नीति र संरचनात्मक व्यवस्था गर्न आवश्यक छ । उनीहरुका लागि अपांगमैत्री शैक्षिक पूर्वाधारको विकास, विशेष शिक्षण सामग्री र प्रविधिको उपलब्धता, विशेष शिक्षक र तालिमको व्यवस्था, समावेशी पाठ्यक्रम र मूल्याङ्कन प्रणाली, आर्थिक सहयोग र छात्रवृत्ति कार्यक्रम, अपांगता सचेतना अभियान र समावेशी नीतिहरूको कार्यान्वयन राज्यले व्यवस्था गर्नुपर्छ । अपांगतामैत्री संरचना बनाइदिनुपर्छ । तर, त्यस्तो छैन । जसले गर्दा अपांगता भएका व्यक्तिहरु शिक्षा र अवसरबाट वञ्चित भएका छन् ।  केहीले असाध्यै जटिलताका बाबजुत पढाइ जारी राखेका छन् । रुपन्देहीकै मात्र तथ्याङ्क हेर्ने हो भने अपांगता भएका ५ हजार बालकालिकामध्ये ३० प्रतिशत बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको राष्टिूय अपाङ्ग महासंघकी केन्द्रीय सदस्य सावित्रा घिमिरेले बताइन् । शिक्षा प्राप्त गर्न कसैलाई कुनै पनि आधारमा भेदभाव गरिने छैन भनी कानुनमा उल्लेख गरिए पनि यो कार्यान्वयनमा नजाँदा अझँै समस्या रहेको घिमिरेको भनाइ छ  । 
    अपांगता भएका बालबालिकाको कुनै व्यवस्था नभएको होइन । अपांगताअनुसार पर्याप्त शिक्षालय नभएको हो । सुस्त बुझाइ क्षमता भएका बालबालिकाका लागि बुटवल(७ दीपनगरमा सुस्तमनस्थिति बाल विद्या मन्दिर विद्यालय स्थानीयको सहयोगमा विसं २०५१ सालमा खुलेको थियो । विद्यालयका संस्थापक अध्यक्ष लोकनाथ भुसालले बौद्धिक अपांगता भएकी आफ्‌नी छोरीलाई पढाउने विद्यालय नपाएपछि आफूजस्तै तीन जना अभिभावकको सहयोगमा विद्यालय सञ्चालन गरेको बताउँछन् । हाल विद्यालयमा ७३ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । ९ जना शिक्षक कर्मचारीहरु रहेका छन् । 


    विद्यालयका अध्यक्ष भुषालका अनुसार विद्यायलमा जसअन्तर्गत संघीय सरकारबाट १ जना, बुटवल उप(महानगरपालिकाबाट १ जना , अनुदान राहत कोटाबाट २ सहित ५ जनाले राज्यको सेवा सुविधा लिएका छन् ।विद्यालयमा बौद्धिक अपाङ्गता भएका बालबालिकाले अध्ययन गरिरहेका छन् । बालबालिकाको उमेर र परिस्थितिअनुसार, मस्तिष्क र बौद्धिक अङ्गहरूमा आएको समस्या तथा सचेतना , बुझाइ, साेंच, तर्क, स्मरणशक्ति, भाषा, रम्भिक गणना जस्ता बौद्धिक कार्य गर्न ढिलाइ हुनु वा गर्न नसक्ने स्थिति बौद्धिक अपांगता हो । समाजसेवी तथा दातृनिकायको सहयोगमा विद्यालय सञ्चालन भैरहेको अध्यक्ष भुसालले बताए । 


    विद्यालयमा मानवीय व्यवहार, सीप विकास, खेलकुद र मनोरञ्जन जस्ता माध्यमबाट सुस्त मनस्थिति भएका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिइन्छ । विद्यालय गएपछि नुहाउने, एक दिन लगाएको लुगा अर्को दिन नलगाउने, ब्रस गर्ने, स्पेशल ओलम्पिक खेलमा सहभागी हुने बानिको विकास भएको छ । यी बाहेक अक्षर चिन्ने, पढ्ने, लेख्ने, कागजको खाम बनाउने, फिजियोथेरापी, कला क्षमता नाच्ने गाउने, लुगा सिलाइलगायतका कार्यक्रम सञ्चालनमा छन् । विद्यालयले रुपन्देहीको सैनामैना नगरपालिकामा  स्थानीय अभिभावक संघ गठन गरी शाखा विद्यालय हस्तान्तरण गरेको छ । जहाँ ५१ विद्यार्थीलाई २ जना शिक्षकले अध्यापन गराइरहेका छन् । विद्यालयले घुम्ति कक्षा समेत सञ्चालन गरेको छ । प्रत्येक महिनाको एक पटक विद्यार्थीसम्म पुगेर विद्यार्थी तथा अभिभावकलाई भेट गर्ने गरेको विद्यालयका अध्यक्ष भुषालले जानकारी दिए । 


    बौद्धिक अपांगता संघकाअनुसार रुपन्देहीमा बौद्धिक अपाङ्गता भएका मायादेवी गाउँपालिकामा ४८ जना, गैँडहवा गाउँपालिकामा ४७ जना, शुद्धोधन गाउँपालिकामा ३७ जना बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । नजिकमा समावेशी शिक्षालय नहँुदा बौद्धिक अपांगतालाई शिक्षा दिने विषय चुनौतीपूर्ण बन्दै गएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताए । 


    भैरहवाको सिद्धार्थनगर नगरपालिका मेउडिहवामा बहिरा बालबालिका पढ्ने बहिरा बाल माध्यमिक विद्यालय छ । विद्यालयमा भारतका ७ जनासहित २३ जिल्लाका २ सय १० जना विद्यार्थी अध्ययनरत छन् । विशेष सुविधाअन्तर्गत विद्यालयमा १ सय १९ जना विद्यार्थीले छात्राबासको सुविधा लिएका छन् ।  विद्यालयमा २२ जना शिक्षक र ९ जना कर्मचारी छन् ।  स्रोत साधनको अभावले भर्ना हुन आउने सबै विद्यार्थीलाई भर्ना गर्न नसकेको विद्यालयका प्रधानाध्यापक भिमबहादुर थापाले बताए । वि.सं २०३२ सालमा १ बिघा १० कठ्ठा क्षेत्रफलमा स्थापना भएको विद्यालयमा पानि चुहिने अत्यन्त जीर्ण भवनमा विद्यार्थी पढाउनुपर्ने बाध्यता रहेको प्राध्यापकले गुनासो गरे । विद्यालयले कक्षा ११ र १२ मा कृषि विषय पढाउँछ ।  अध्ययनपछि धेरै विद्यार्थीले कामको अवसर समेत पाएका छन् । सिलाइकटाइ, चित्रकला, कृषिलगायतका क्षेत्रमा विद्यालयले कार्यक्रम सञ्चालन गरेकोे छ । 


    समावेशी शिक्षाले कुनै पनि बालबालिकाले आफ्नो घरनजिकैको विद्यालयमा सहज र सरल ढङ्गले शिक्षा प्राप्त गर्ने परिकल्पना गरेको छ । तर घर नजिकैका अधिकांश सार्वजनिक विद्यालयहरूमा अपांगता व्यक्तिको आधारभूत व्यवस्थासमेत गरेको छैन । रुपन्देहीको शान्ति नमूना माध्यमिक विद्यालयमा भने आधारभूतसँंगै विशेष शिक्षा छ ।  प्रध्यानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयमा दृष्टिविहीन विद्यार्थी ४४, श्रवण दृष्टिविहीन १३, अटिजम भएका २३ र शारीरिक अपांगता भएका ५ जना विद्यार्थीले अध्ययन गरिरहेको बताए । दृष्टिविहीन विद्यार्थीलाई संघीय सरकारले मासिक ४ हजार आवासीय खर्चका लागि दिने गरेको छ । विद्यालयमा श्रोत साधन र जनशक्तिको अभावका कारण धेरै विद्यार्थीलाई भने फर्काउन परेको बाध्यता रहेको प्राध्यापक लामिछानेले बताए । ‘भर्ना नपाएपछि धेरै अभिभावक र विद्यार्थी दुःख मान्दै जानुहुन्छ, त्यो हाम्रो रहर नभएर बाध्यता हो ।’–उनले भने । विद्यालयमा विशेष विद्यार्थीको लागि तिलोत्तमा नगरपालिका, प्रदेश सरकारले र संघीय सरकारको १, १ जना विशेष शिक्षकको व्यवस्था गरेका छन् । यी शिक्षक विद्यार्थीको लागि पर्याप्त नभएको उनले बताए । 


    ०७८ सालको जनगनगणना अनुसार प्रदेशको ५१ लाख २२ हजार ७८ कूल जनसंख्यामध्ये २.४ प्रतिशत अपाङ्गता रहेका व्यक्ति छन् । प्रदेशमा १५ वर्ष मुनिको जनसंख्या २८.५ प्रतिशत रहेको सरोकारवालाको दाबी छ ।  प्रदेशको कुल साक्षरता दर ७८.१ प्रतिशत छ । अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले कतिपय जिल्ला तथा स्थानीय तह पूर्ण साक्षर घोषणा गर्दा अपाङ्गता भएका व्यक्तिलाई नहेरिनु चिन्ताको विषय भएको बताए । उनले भने–‘राज्यले अपाङ्गता भएका कति बालबालिका विद्यालय जाने उमेरका छन् भनी तथ्याङ्क समेत नराखिनु, बनेका नीति निर्माण र योजना कार्यान्वयन नहुनु गम्भीर नहुनु दुःखद हो ।’ 
    लुम्बिनी प्रदेशमा शैक्षिक सत्र २०८० मा १ हजार ३ सय १३ जना अपांगता भएका  बालबालिका भर्ना भएका थिए ।  त्यसमध्ये गुल्मीमा ३, पाल्पामा ३, नवलपरासी ९, कपिलवस्तु ८, अर्घखाँची ५, प्यूठान ३, रुकुम पश्चिम ३, दाङ ५, बाँके ५, बर्दिया ४ र रुपन्देही ७ गरी  ५० विद्यालयमा विशेष कक्षा सञ्चालन भएका छन् । लुम्बिनी प्रदेशमा अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७८ निर्माण भए पनि कार्यान्वयनमा जान नसकेको शिक्षा हेर्ने सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत माधवप्रसाद पोखरेलले बताए । 


    शिक्षाविद् आनन्दमान सिंह शाक्यले राज्यले अपांगता भएका बालबालिकालाई शिक्षा र रोजगारबाट वञ्चित गर्न नहुने बताए । उनले भने–‘अपांगता भएकाले उचित शिक्षा हासिल गर्ने अवसर पाए उनीहरुले आफ्‌नो, परिवारको, समाजको र राष्ट्रको हितका लागि काम गर्न सक्छन् ।’ अपांगता अधिकारकर्मी सावित्रा घिमिरेले अपांगता भएका व्यक्तिलाई शिक्षामा जोड्न  हरेक विद्यालयमा अपांगतामैत्री संरचना बनाउन र स्थानीयतहमा विशेष शिक्षा लागू गर्नुपर्ने सुझाब दिइन् ।


    अपांगताको प्रकार  
    १. शारीरिक अपाङ्गताः स्नायु, मांसपेशी र जोर्नीहरू र हयीको बनावट र सञ्चालनमा भएको समस्याका कारण शारीरिक अङ्गहरूको सञ्चालन, प्रयोग, कार्य र क्रियाकलापमा आएको समस्या र स्थितिलाई शारीरिक अपाङ्गता भनिन्छ ।


    २. दृष्टिसम्बन्धी अपाङ्गताः दृष्टिसम्बन्धी समस्याका कारण शिशु बालबालिकामा कुनै पनि वस्तुको, आकार र रङको ज्ञान नहुने स्थिति दृष्टिसम्बन्धी अपाङ्गता हो ।

     

    ३. सुनाइसम्बन्धी अपाङ्गताः सुनाइका अङ्गहरूको बनावट र स्वरको पहिचान, उतारचढाव साथै स्वरको मात्रा, गुण छुट्याउने क्षमतामा हुने कमजोरीलाई सुनाइसम्बन्धी अपाङ्गता मानिएको छ । सुनाइसम्बन्धी अपाङ्गता बहिरा र सुस्तश्रवण हुनु ।

    ४. श्रवण दृष्टिविहीन अपाङ्गताः दृष्टि र सुनाइसम्बन्धी अपाङ्गता भएको शिशु, व्यक्ति श्रवण दृष्टिविहिन भएको अपाङ्गता मानिएको छ । 

    ५. स्वर र बोलाइसम्बन्धी अपाङ्गताः स्वर र बोलाइसम्बन्धी अपाङ्गताहरूमा उत्पन्न अप्ठेरोका कारण बोल्दा स्वरको उतारचढावमा कठिनाइ, अस्पष्ट बोली र अन्य बोलाइसम्बन्धी अपाङ्गता मानिएको छ ।


    ६. बौद्धिक अपाङ्गताः शिशु, बालबालिकाको उमेर र परिस्थितिअनुसार, मस्तिष्क र बौद्धिक अङ्गहरूमा आएको समस्या तथा सचेतना, बुझाई, सोंच, तर्क, स्मरणशक्ति, भाषा, प्रारम्भिक गणना जस्ता बौद्धिक कार्य गर्न ढिलाइ हुनु वा गर्न नसक्ने स्थितिलाई  बौद्धिक अपाङ्गता मानिएको छ ।


    ७. बहुअपाङ्गताः एउटै शिशु, बालबालिका माथि उल्लेख भएका २ वा २ भन्दा बढी प्रकारका समस्यालाई बहुअपाङ्गता मानिएको छ ।


    ८. अटिजमः प्रारम्भिक अवस्थामा नै हुने स्नायु तथा व्यवहारसम्बन्धी अपाङ्गता होरु। धेरैजसो अटिजम भएका बालबालिकामा भाषा सञ्चार, सामाजिक व्यवहार, असामान्य हुनुका साथै एकोहोरो क्रियाकलाप गर्दछन् ।


    ९. मस्तिष्क पक्षघातः गर्भावस्थामा, शिशु जन्मने क्रममा वा जन्मपश्चात् कुनै कारणले मस्तिष्कमा हुने पक्षाघातको अवस्था हो । पक्षघातले शरीर वा शरीरका अङ्गहरूको चाल र अवस्थितिमा अपूरणीय असर हुन्छ ।


    १०. हेमोफिलियाः हेमोफिलिया वंशाणुगत (जिनमा) हुने विकृति हो । शरीरमा रगत जम्ने तत्वको अभाव भई रक्तश्राव भयो भने बन्द नहुने स्थिति हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij