२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पत्थरकट्टाको पेसा संकटमा

पत्थरकट्टाको पेसा संकटमा

आधुनिकीकरण गरिदिन माग

पत्थरकट्टाको पेसा संकटमा

पत्थरकट्टाको पेसा संकटमा

आधुनिकीकरण गरिदिन माग

पत्थरकट्टाको पेसा संकटमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • डोल्मा चौधरी- नलपरासी (पश्चिम) । शिक्षा छैन, अन्य सीप पनि छैन । जानेको त्यही पुर्ख्यौली सीप ढुंगा कुद्ने हो । त्यही पुर्ख्यौली पेसा गरेर जीवन धान्न नसकिने अवस्था छ, पत्थरकट्टा समुदायको । आधुनिक प्रविधिको विकास भएसँगै पश्चिम नवलपरासीका लोपोन्मुख पत्थरकट्टा समुदायको ढुंगाका सामग्री बनाउने पेसा संकटमा परेको छ । ढुङ्गाबाट मूर्ति, सिलौटा र लोहोरा बनाएर बेच्दै जीवन यापन गर्दै आएका पत्थरकट्टा समुदायले बनाएको सिलौटा र लोहोरा बजारमा बिक्री नभएपछि यो समुदाय समस्यामा परेको छ  । समस्या हटाउन उनीहरु वैकल्पिक पेसाको खोजीमा छन् ।

    पत्थरकट्टा अर्थात् कुसवाडिया समुदायलाई आफ्‌नो पुर्ख्यौली पेसाप्रति माया छ, तर पेसा अंगाल्ने अवस्था छैन । त्यसमध्येका हुन्, नवलपरासीको रामग्राम नगरपालिका–१ सहुवा टिकर निवासी ३९ वर्षीय जगदीश पत्थरकट्टा । उनको जवानी खोलाका ढुङ्गा कुदेर र सिलौटा बनाएर बित्यो । उनी हिउँद महिनामा ५० देखि ६० हजार रुपैयाँसम्म कमाउँथे । त्यसैबाट आउने आम्दानीले परिवारको गर्जो चलाउँथे । ‘बुबाआमाले जङ्गल र खोलामा भेटिएका ढुंगा कुदेर बेच्थे । उनीहरुसँगै मैले पनि लोहोरा र सिलौटा बनाएर बेच्दै जवान भएँ । राम्रो कमाइ नभए पनि घरखर्च चलाउन समस्या थिएन,’ जगदीशले सुनाए–‘सानो हुँदा बाबुआमाले जे गरे, जे सिकाए त्यही गरियो । अरुतिर न मन गयो न ध्यान गयो । बाउआमा खोलाको किनारमा ढुङ्गाहरुसँगै रमाए ।’

    जगदीश नौ वर्षको उमेरदेखि यतै ढुंगा कुद्न लाग्दा समाजमा घुल्न र पढाइमा जोडिन पनि पाएनन्  । जगदीशका पाँच सन्तान पनि सिलौटा र लोहोरा बेच्दै हुर्के । जगदीशको अहिले सात जनाको परिवार छ । अब भने जगदीशको गुजारा सिलौटा कुदेर बित्दैन । अहिले महिना दिनमा १० हजार रुपैयाँ कमाउन पनि एकदमै गाह्रो भएको जगदीशले बताए । ‘अब के गर्ने चिन्तामा छु,’ जगदीशले सुनाए–‘खेतीपाती गर्न  जग्गा छैन । जग्गाको नाउँमा सुकुम्बासीमा घर छ । त्यो पनि खोलाको किनारामा वर्षातको समयमा बाढी आउने चिन्ता लागिरहन्छ ।’

    जगदीशलाई उनकी श्रीमती आशाले पनि व्यवसायमा सघाउँथिन् । अहिले पनि उनी सिलौटो टाउकामा राखेर बेच्न जान्छिन् । तर धेरैजसो बेच्न लगेको सिलौटो घरै फर्किन्छ । ‘हप्ता दिनमा बल्लतल्ल एउटा सिलौटो बिक्री हुन्छ । त्यसले गुजारा चल्दैन ।’–आशाले भनिन् । श्रीमती आशाले अझैँ पनि सिलौटा बेच्छिन् । जगदीशले घर धान्न नसकेपछि पेसाप्रति माया भए पनि आफ्‌नो पुर्ख्यौली पेसा छोड्न बाध्य भएको बताए । नजिकैको  एक कम्पनीमा गत महिनादेखि काम गर्न लागेको जगदीश बताउँछन् । 

    जगदीशका छोरा अहिले ठूला भइसकेका छन् । तर उनी बाआमाले जस्तै ढुंगाबाट सामग्री बनाउँदैनन् । नत, तिनलाई बेच्न हिंड्छन् । जगदीशका छोरा विजय पत्थरकट्टा २१ वर्षका भए । उनी कक्षा ११ सम्म पढेका छन् । तर बाआमाको काम गर्दैनन् ।

    विजयको बाआमाले सिलौटा बनाउने र बेच्ने काममा गरेको मेहनत र मेहनतअनुसार पैसा नआएको देखेर विजय काममा ध्यान नगएको बताउँछन् । ‘बाआमा दैनिक जंंगलमा जानुहुन्छ । दुखःगरी ढुंगा खोजेर ल्याउनुहुन्छ । ढुंगा पाउन पनि गाह्रो छ । बेच्न जाँदा नबिकेर रीत्तै घर फर्कनुहुन्छ । बिक्री भैहाले पनि मूल्य पाइदैन । घर परिवारका दैनिक आवश्यकता पूरा गर्न पनि धौधौ हुन्छ । यस्तो देखि देखि आफू सिलौटा बनाउने काममा लागिन ।’ –विजयले सुनाए ।

    विजय इन्टरनेट जोड्ने काम गर्छन् । त्यसबाट पनि घरखर्च चल्नेगरी कमाइ हुँदैन । बाआमाकै पेसा समाउन पनि सक्दैनन् । ‘बरु राज्यले ढुंगा कुद्ने काममा आधुनिक उपकरण दिने र विधि सिकाउने हो भने पत्थरकट्टाकै काम गर्थे जस्तो लाग्छ ।’–उनले भने । 
    समय गतिशील छ । समयसँगै नयाँ–नयाँ सूचना र प्रविधिको विकास हुन स्वभाविक छ । नयाँ प्रविधिले पुराना प्रविधि संकटमा पर्नु पनि अस्वभाविक हैन । तर यसले कसैको पुस्तैनी पेसा, व्यवसाय र रोजगारीको बाटो नै बन्द हुनु भने अस्वभाविक छ । कुसवाडिया अर्थात् पत्थरकट्टा समुदायमा पनि यस्तै भएको छ । आधुनिक प्रविधिको विकाससँगै उनीहरुको ढुङ्गाबाट मूर्ति बनाउँदै र सिलौटा बेच्दै गरेर गुजारा चल्न छोडेको छ । गुजारा धान्न गाह्रो भएपछि उनीहरु धेरैले पेसा छोडेर ज्याला मजदुरी गर्न थाले । त्यही ज्याला मजदुरी पनि गर्न नपाएपछि केही यतै अल्झेर बसेका छन् । त्यसमध्येका हुन्, अजय पत्थरकट्टा ।

    सुस्ता गाउँपालिका वडा नं. १ का ३० वर्षीय अजय पत्थरकट्टा अहिले पनि ढुङ्गाबाट मूर्ति, लोहोरा र सिलौटा बनाउँदै आफ्नो जीवन बिताउँदै आएका छन् । उनी कलात्मक मूर्ति बनाउँछन् । एउटै मूर्ति बनाउन महिना दिन लाग्छ । ढुंगाको मूर्ति बनाउँदा काट्ने र कुद्ने आधुनिक उपकरण छैनन् । अजय अरुको सहारा लिन्छन् । अरुको सहारा लिए तिनिहरुलाई पनि बेचेको रकम बाँड्नुपर्दा आम्दानी अझ घट्छ ।

    अजय आफूले बनाएका सामग्री आफैले  बोकेर बेच्दै हिंड्नु पर्ने बाध्यता भएको सुनाउँछन् । कहिले पसलमा राखिदिन आग्रह गर्छन् । तर मेहनतअनुसार मूल्य पर्दैन । यसले निराशा बढाएको छ । अब के गर्ने उनी अन्योलमा छन् । ‘बुवाआमाको जीवन यसैमा बित्यो । मैले पनि बाल्यकाल र युवाकालका धेरै उमेर ढुंगा कुदेरै बिताए । अरु काम गर्नु सीप छैन । यही काम गरु आम्दानी छैन । सारै समस्या छ ।’–अजयले गुनासो पोखे ।

    अजय अहिले तीन सन्तानको बाउ भएका छन् । उनीहरुलाई पालनपोषण र खानादाना उनकै आम्दानीले चलाउनुपर्छ । अजय दुःख भए पनि आफ्नो पुर्ख्यौली पेसा छोड्ने पक्षमा छैनन् । स्थानीय सरकारले आधुनिक उपकरण दिने र बजारको पहल गरिदिने गरे यही कामलाई निरन्तरता दिने पक्षमा छन्, उनी । ‘ढुंगा कुद्ने कला हामीमा धेरै राम्रो छ । बजारमा अरुको भन्दा हाम्रो कला बिक्छ । तर आधुनिक उपकरण नहुँदा बनाउन धेरै समय लाग्छ । सरकारले आधुनिक उपकरण दिने र एक ठाउँमा बेच्ने व्यवस्था गरिदिए हामी यसमै रमाउने थियौं ।’–अजयले आफ्‌नो माग सुनाए ।

     यस्तै रामग्राम नगरपालिका वडा नं.  १ सहुवाटिकर निवासी हरि पत्थरकट्टासँग ढुङ्गाबाट मूर्ति बनाउने कला छ । उनलाई हरेक किसिमको मूर्ति बनाउन आउँछ । उनी अहिले उमेरले ४२ वर्ष पुगेका हुन । सानै हुँदा बाआमाले सिकाएका पुख्यौली पेसा ढुङ्गाबाट सिलौटा, जातोलगायत सामग्रीहरू बनाउँदै आएका उनी मूर्ति बनाउने काम पनि गर्दछन् । शिक्षाबाट वञ्चित रहेका हरि १० वर्षको उमेरदेखि नै आफ्नो पुर्ख्यौली पेसालाई अंगाल्दै आएका छन् ।  सुकुम्बासीमा पाएको जग्गामा उनको पनि घर झरहि खोलाको छेउमा रहेको छ । इट्टाको पर्खाल रहेको टिनले छाएको आफैँले निर्माण गरेको घर छ । जग्गाको नाममा उनको त्यही मात्र जग्गा हो । उनको घरमा ७ जना  परिवार रहेका छन्, जसमा २ छोरी र ३ छोरा गरी ५ सन्तान छन् ।

    उनी पुर्ख्यौली पेसाबाट नै आफ्नो परिवार धानिरहेका छन् । हरिले मूर्ति बनाउने काम गर्छन् भने उनकी श्रीमती सिलौटा बनाउने काम गर्छिन् । उनको महिनामा १५ देखि २० हजारको हाराहारीमा आम्दानी हुन्छ, तर पछिल्लो समयमा उनको यो पेसा धरासाइ भएको उनी बताउँछन् । दैनिक पेट पाल्ने यहि एउटा सीपले हो, तर अहिलेको आधुनिक समयमा यसको प्रयोग हराउँदै गएको हरि बताउँछन्  । खेतबारी र अन्य कुनै सीप नहुँदा परिवार धान्न पनि गाह्रो हुँदै गएको उनको भनाइ छ । आफ्नो व्यापार पनि छैन । स्थानीय सरकारले नत कुनै सीपमूलक कार्यक्रम ल्याउँछ, नत केही तालिम नै, आफूले वर्षौंदेखि नै हातले मूर्ति बनाइ रहेको स्थानीय सरकारले आफ्नो पेसाको संरक्षणका लागि कुनै पहल गरेको अवस्था छैन । ढुङ्गा काट्न मेसिन छैन,२ दिनमा सकिने काम हप्ता दिनभन्दा बढी लाग्छ । आफूसँग सीपकला छ, तर प्रवद्र्धन गर्नको लागि कसैँबाट सहयोग नपाएको उनले दुखेसो पोखे ।

    यस्तै सरावल गाउँपालिका वडा नम्बर ३ श्रीनगर कि ४५ वर्षीया अनरवा पत्थरकट्टाले आफू दैनिकी दुःख गर्दै घर–घरमा सिलौटा बेच्दै परिवार उकास्दै आएको, तर आफ्नो सन्तानलाई यो काम गर्न नदिएको उनी बताउँछिन् । उनको दुईवटा सन्तान छन् । उनले सिलौटा बेच्दै छोराहरूको शिक्षादिक्षा दिएकी छिन् । उनले एउटा छोरा करारमा जागिर खाँदै गरेको बताउँछिन्, अनि अर्को छोरा इञ्जिनियरिङ पढेकोले अहिले आफ्नै व्यापार व्यवसायमा लागेर घर बनाउने ठेक्कापट्टा  काम गरेको उनी बताउँछिन् । ‘खोलाबाट ढुङ्गा ल्याउन दिँदैनन् । इन्डियाबाट ल्याउनुपर्छ त्यो पनि बिक्छ बिक्दैन ठेगान छैन,’– उनी भन्छिन् –‘अहिले डुङ्गा पनि पाउन एकदम कठिन भइसकेको छ  । लाखौं खर्च गरेर इन्डियाबाट ढुङ्गा ल्याउनुपर्छ ल्याएको ढुङ्गा पनि नबिकेर त्यसै थन्किएको छ ।’ हाम्रा सिलौटाहरु बिक्री वितरण हुँदैन, आफूले पनि यो पेसा छोडिदिने बताउँछिन्, उनी । स्थानीय सरकारले सीपको संरक्षणको लागि पहलकदमी गरिदिन उनले माग गरिन ।

    यस्तै लामो समयदेखि सिलौटाको व्यापार गर्दै आएका रामग्राम १७ बरारीका ४५ वर्षीय भीम पत्थरकट्टाको व्यापार नहुँदा उनी कम्पनीमा गएर काम गरिरहेका छन् । दुःख गरेर किनेर ल्याएको ढुङ्गा त्यत्तिकै छ, पेट पाल्न गाह्रो भएपछि आफ्नो पुर्ख्यौली पेसा छोडेको उनी बताउँछन् । उनी ३० वर्षदेखि सिलौटा बनाउने पेसामै आश्रित रहेका थिए । उनी भन्छन्‌–‘पहिले व्यापार एकदमै राम्रो थियो । अहिले व्यापार नहुँदा सन्तानहरूहरुको भविश्यको लागि आफू कम्पनीतिर लागेको छु् ।’

    यस्तै कुसवाडिया (पत्थरकट्टा ) सुमुदायको अगुवा एवं कुसुवाडिया उत्थान संघका जिल्ला  अध्यक्ष प्रमोद कुसवाडियाले नेपाल सराकारले सुमदायलाई आरक्ष दिँदै आएको छ, तर आफ्‌नो समुदायमा चाहेको जस्तो विकास हुन पाएको छैन भन्दै उनले गुनासो गर्छन् । खासगरी आरक्षणको नाममा दिएको ४ हजार भत्ताले समुदायले के गरिरहेका छन् ? भन्ने कुराको खोजी सकारले नगरिंदा समुदाय पछि परेको उनी बताउँछन् ।


    पत्थरकट्टा समुदायको अवस्था
    पत्थरकट्टालाई कुसवाडिया पनि भनिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा उनीहरुको जनसंख्या ३ हजार १८३  छ । उनीहरु आदिवासी जनजाति समुदायभित्र पर्ने लोपोन्मुख जातिमा सूचीकृत छन् । नेपालमा १० जिल्लामा पथरकट्टा समुदायको मुख्य बसोबास छ ।  उनीहरुको मूलथलो पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, पूर्वी नवलपरासी, रुपन्देही, झापा मोरङ, बारा, रौतहट, पर्सा र सिरहा हो । कुसवाडिया जातिलाई मधेशको राउटे भनेर पनि चिनिन्छ । ढुंगा कुद्ने काम गर्ने भएकाले यी समुदायलाई पथरकट्टा भनिएको हो । विषेश गरेर यी समुदायलाई कुसबाधिया, कुचबडिया, धातुवाला, थबई थरले पनि चिनिन्छ ।  पश्चिम नेपालगञ्ज बाँकेमा कुसबाधिया, कुचबडिया भनेर चिनिन्छ  । रुपन्देही, नवलपरासी र कपिलवस्तुमा पत्थरकट्ट र पत्थरकट्टा भनेर चिनिन्छ । पूर्वमा झापा, मोरंङमा धातुवाला भनेर चिनिन्छ ।  सिरहा, सप्तरी र बारामा थबइ भनेर चिन्ने गरे पनि अहिलेका युवा पत्थरकट्टा होइन कुसवाडिया भन्न रुचाउँछन् ।  कुसवाडिया समुदायको सबैभन्दा धेरै जनसंख्या  रुपन्देहीमा छ । त्यसछि दोस्रो पश्चिम नवलपरासीमा रहेको छ । नवलपरासीमा यि सममुदाय सक्रिय रहेका विशेष गरेर सुकुम्बासीमा, खोला नदीका किनारामा उनीहरुको बसोबास बढी रहेको छ ।

    २०७८ सालको जनगणनाअनुसार पश्चिम नवलपरासीमा कुसवाडिया अर्थात् पत्थरकट्टा समुदायको जनसंख्या २७८ रहेको छ । त्यसमा महिला १४० र पुरुष १३८ जना रहेका छन् ।  जिल्लामा यी समुदायको ५४ घरधुरी रहेको छ । सबैभन्दा धेरै रामग्राममा २४ घरधुरीमा ८८  जना छन् ।  बर्दघाटमा ११ घरधुरीमा ४६ जना छन् । यस्तै, सरावलमा ४ घरधुरीमा २९ जना छन् । सुनवलमा ४ घरधुरीमा १७ जना र सुस्तामा ८ घरधुरीमा ३९ जना पत्थरकट्टा समुदायको बसोबास रहेको छ । यसैगरी, पाल्हीनन्दनमा ४ घरधुरी रहेकोमा २९ जनाको बसोबास रहेको छ । प्रतापपुरमा जम्मा एक घरधुरीमा ६ जनाको बसोबास रहेको छ ।

    पत्थरकट्टालाई नेपाल सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जनसंख्याको ०.०१ प्रतिशतभन्दा कम जनसंख्या हुने जाति अल्पसंख्यकको सूचीमा पर्छन् । कुसवाडिया जाति लोपोन्मुख समुदायभित्र पर्दछन् । उनीहरुलाई २०६२ सालमा लोपोन्मुख आदिवासी जनजातिको अल्पसंख्यक समूहमा सूचीकृत गरिएको थियो । कुसवाडिया उत्थान संघका केन्द्रीय अध्यक्ष रमेश कुसवाडियाले यसपछि २०६२ सालमै बाँके जिल्लाको फुटकिल्वा भन्ने ठाउँबाट पत्थरकट्टा समुदायको विकास तथा  स्तरउन्नतिको लागि नेपाल सरकारले मासिक सुरक्षा भत्ता दिन थालेको छ । उनीहरु प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँको दरले सहयोग रकम पाउँछन् ।

    सरकारले अल्पसंख्यक जातिका रुपमा मासिक जीवन निर्वाह रकम उपलब्ध गराएपछि पत्थरकट्टाहरु आर्थिक रूपमा असाध्यै गरिब छन् । अशिक्षित छन् । सामाजिक रूपमा उपेक्षित छन् । राजनीतिक रूपमा शक्तिहीन समुदायको रुपमा रहेका छन् । कुसवाडिया उत्थान संघका केन्द्रीय अध्यक्ष रमेश कुसवाडियाले भने–‘कुसवाडिया समुदायमा सामाजिक रुपमा गरिबी र अशिक्षा व्याप्त छ । आर्थिक अवस्था कमजोर हुँदा सुरक्षित बसोवास छैन ।  धेरैका घर सुकुम्बासी क्षेत्रमा छन् । तिनै पनि कच्ची फुसका छन् ।’

    नदी छेउमा बसेका पत्थरकट्टाहरुको बस्ती सधँैजसो वर्षामा बगाउँछ । हिउँदमा आगोले जलाउँछ । जंगल र नदी छेउमा बस्दै आएकाले  वन्यजन्तुको पनि सधैँ जोखीम हुन्छ । तर, उनीहरुको सुरक्षित आवासबारे कसैले पहल नगरेको अध्यक्ष कुसवाडियाले बताए ।

    शिक्षा
    बालापनदेखि ढुंगा कुद्न थालेका युवा उमेरका धेरै कुसवाडियाले लेखपढ गर्न जान्दैनन् । बालबालिका भने पढ्न जान थालेका छन् । तर, नियमित जाँदैनन् । पढाइमा ध्यान नदिएपछि कक्षा दोहोराउनु पर्छ । कक्षा दोहोराउन परे विद्यालय नै छोडिदिन्छन् । विद्यालय तहको पढाइ पूरा गर्ने बालबालिका भेटिंदैनन् । ८, ९ कक्षा पढ्दा सबैजसोले पढाइ छोड्छन् । यही कारणले नवलपरासी पश्चिममा उच्च शिक्षा अध्ययन गर्ने पत्थरकट्टा कोही नभएको उनीहरु बताउँछन् । ‘पत्थरकट्टाको संरक्षण र पहिचान जोगाउने हो भने सरकारले पत्थरकट्टाका बालबालिकाको शिक्षा र युवाका लागि रोजगारी वा  सीपको आधुनिकीकरणका लागि औजार र बजारीकरणमा सघाउनुुपर्ने देखिन्छ,’ पत्थरकट्टा युवा रामप्रित कुसवाडियाले भने–‘अब हामी बाआमाले जस्तो कुटो चलाएर होइन, औजार चलाएर ढुंगाबाट मूर्ति र उपकरण बनाउन चाहन्छौं ।’

    स्थानीय  सरकारको व्यवास्ता
    स्थानीय सरकारले पत्थरकट्टाका समस्या नबुझेका भने होइनन् । तर, समस्या समाधानमा आवश्यक लगानी भने गरेका छैनन् । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले पथरकट्टा समुदायलाई संघीय सरकारले नै मासिक भत्ता दिएकाले स्थानीय सरकारले थप दायित्व नलिएको उनले बताए । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी आफू स्थानीय सरकारमा आएको २ वर्ष बित्यो । तर हालसम्म यी समुदायको लागि कुनै पनि काम गर्न नसकेको बताउँछन् । खासगरी कुसवाडिया समुदायलाई नेपाल सरकारले भत्ता दिएको हुनाले आफूहरूको नजर त्यसमा नपरेको आगामी दिनमा तिनीहरूको आवश्यकतालाई हेरी काम गर्नुपर्ने उनले बताए ।

    रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले पत्थरकट्टाहरु आफ्‌ना माग र समस्या लिएर नआउँदा के सहयोग गर्ने भन्ने अलमल भएको बताउँछन् । उनले तीन वर्ष अगाडि पेसा संरक्षणका लागि ढुंगा काट्ने मेसिन वितरण गरिएको जनाए । ‘पत्थरकट्टा अर्थात् कुसवाडिया समुदायमा कला निकै छ । उनीहरु राम्रा मूर्ति बनाउन सक्छन् । स्थानीय तहमा समन्वय गर्न आए मूर्ति निर्माण र बजारीकरणमा सघाउन सक्छौं ।’–अध्यक्ष यादवले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij