बुटवल । बुटवलमा आगामी फागुन दोस्रो हप्तादेखि सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा फागुन १२ गतेदेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीप हुने भएको हो ।
बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगितामा देशभरबाट अधिकतम १२८ जना खेलाडीले भाग लिने नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए । प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने उनले बताए । प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद १० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने उनले बताए ।
‘यसअघि काठमाडौंमा प्रथम पुरस्कार २ लाख ५५ हजार रुपैया राशीको प्रतियोगिता भएको थियो, त्यो रेकर्डलाई बुटवलको प्रतियोगिताले तोड्ने छ’–अध्यक्ष पुनले भने–‘स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ ।’
प्रतियोगितालाई बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवबाट एक लाख रुपैयां तथा समृद्धि हेयर सैलुनले समेत आर्थिक सहयोग भएको अध्यक्ष पुनले बताए ।
रुपन्देही स्नुकर खेलको उर्वरभुमी भएको र भर्खरमात्र बुटवलका रेगन श्रेष्ठले श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल भएको उनले बताए । उनलाई सम्मान गर्ने लक्ष्य रहेको उनले बताए ।
खेल संयोजक विजय गुरुङले बुटवल बाहिरबाट आउने खेलाडीहरुलाई आवासको ब्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाइनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत ब्यवस्था गरिने जानकारी दिए । प्रतियोगिता अधिकतम १० दिनसम्म सञ्चालन हुने संघका सचिव प्रकाश क्षेत्रीले बताए ।
बुटवल नगरपालिकाका प्रवक्ता शिव राना,नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य लगायतले सर्वाधिक राशीको प्रतियोगिता बुटवलमा आयोजना हुनु बुटवलको मात्र नभई प्रदेशकै गौरवको विषय भएको बताए ।




