बुटवल । बुटवल–नारायणगढ खण्डको दुम्कीबासमा पुस २६ गते भारतीय हेभी ट्रकले ठक्कर दिंदा पुल भाँचिएको घटनापछि विभिन्न कोणबाट वहस र विश्लेषण भइरहेका छन् । ट्रक यातायातब्यावसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,पश्चिमाञ्चल यातायात व्यवसायी समिति सहितका संघ संस्थाले पनि भारतीय ओभरलोडका कारण पुल भांचिएको दावी गरेका छन् ।
पुस २६ गते दिउसो एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक पुलबाट पूर्वतर्फ पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो । कृष्णनगरबाट आएको उक्त भारतीय ट्रकले शिवम सिमेन्ट उद्योगको लागि हेभी जेनेरेटर मेसिन बोकेको थियो ।
जेनेरेटर सहित उक्त ट्रकको भार (तौल) कति थियो भन्ने यकिन हुन सकेको छैन तर नेपालको सडक र पुलको भार वहन क्षमता भन्दा निकै धेरै तौल भएकाले नै पुल भांचिएको ट्रक व्यवसायीको दावी छ ।
सरकारले ओभरलोड भारतीय गाडी नियन्त्रणमा संवेदनशील नभएकै कारण नेपालका अर्बौं लगानीका पुल र सडकमा क्षति भएको र नेपाली ट्रक व्यवसायीहरुको काम समेत खोसिएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीले ओभरलोड भारतीय ट्रकलाई नेपालमा गुड्न नदिने घोषणा गरेका छन् ।
सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले सरकारले ओभरलोडलाई कडाईका साथ नरोके व्यवसायीले रोक्ने चेतावनी दिए ।
‘हामीले वर्षौंदेखि ओभरलोड नियन्त्रण गरौं भनेर पटक पटक आन्दोलन गर्यौं,तर राज्यका सम्बन्धित निकायले हाम्रो मागलाई बेवास्ता गरे,त्यसैको परिणाम अहिले दुम्किबासको पुल भांचिएको हो’–अध्यक्ष पाण्डेले भने–‘ट्राफिक प्रहरीले १५ सय रुपैया जरिवाना लिएर गुड्न दिएपनि हामीले अब ओभरलोड भारतीय गाडी गुड्न कुनै हालतमा दिदैनौं ।’
भारवहन सम्बन्धी राज्यले बनाएका ऐन कानून अनुसार भन्सार विन्दुमै ओभरलोड नियन्त्रण गरिनुपर्ने आफूहरुको माग रहेको उनले बताए ।
मालवाहक सवारी साधन भारवहन नियमन सम्वन्धि कार्यविधि २०७१ ( संशोधन २०७४) अनुसार मालवाहक सवारीले प्रस्थान विन्दु नजिक, मध्य बिन्दु र गन्तव्य नजिकको तौलपुलमा अनिवार्य रुपमा तिन पटक तौल गराई लोडसिट राखेर मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर यो व्यवस्था पालना नभएको अध्यक्ष पाण्डेले बताए । ‘ओभरलोड भारतीय ट्रकलाई राज्यका निकायले नै रोकुन् भन्ने हाम्रो माग हो, राज्यले नरोके व्यवसायीले रोक्छन्, त्यसमा राज्य पक्षले अवरोध र हस्तक्षेप गर्न पाउंदैन’–पाण्डेले भने ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले भारतीय गाडीलाई ओभरलोड बोक्न छुट दिंदा सडक र पुलमा मात्र क्षति नभई नेपाली ट्रक व्यवसायीको व्यवसाय नै संकटमा परेको बताए ।
‘ओभरलोड गाडीको सामान भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यवासयीहरुले बिजनेस पाउन सकेका छैनन्, ट्रक व्यवसायमा भएको निजी क्षेत्रको करोडौँको लगानी समेत जोखिममा परेको छ, सयौं व्यवसायीहरु पलायन भएका छन्’– गौतमले भने–‘नेपालका सडक र पुललाई जोगाउन तथा नेपाली ट्रक व्यवसायीलाई पलायन हुन नदिने एउटै उपाय भारतीइ गाडीको ओभरलोडलाई भन्सार विन्दुमै कडाईका साथ नियन्त्रण हो ।’
ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नेपाली सडकको बनावट र भारवहन क्षमता ४० टन मात्र रहेको छ । जसअनुसार ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन सम्म मात्रै लोड बोक्न पाउने र नेपाली सडकले भार थेग्न सक्ने पोखरेलले बताए । तर भन्सार प्रशासन र प्रहरी प्रशासनको उदासिनताले यो मापदण्ड भन्दा दोब्बर बढी भार बोकेका भारतीय गाडीलाई जरिवाना गराएर उमुक्ति दिइदै आएको पोखरेलले बताए ।
गत मंसिर २ गते गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सवारी साधन दुर्घटना न्यूनीकरणसम्बन्धी भएको छलफलमा ओभरलोड बोकेका सवारी साधन दुर्घटना भएमा उक्त सवारी साधनले पार गरेको अन्तिमको प्रहरी इकाइ प्रमुखलाई जिम्मेवार बनाउने निर्णय भएको स्मरण गराउँदै लुम्बिनी प्रदेशका सम्बन्धित निकायलाई कारवाही गर्न माग गरेका छन् ।
मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि २०७१ ( संशोधन २०७४) लागू भएको अवस्था र कार्यविधिको दफा २ को (झ) मा मालवाहक सवारी साधनले बोकेको सामान सहितको भार प्रमाणित हुने सम्बन्धित सरकारी निकायको वा नेपाल ट्रक यातायात व्यवसायी महासंघले सञ्चालन गरेका तौलपुलले जारी गरेको प्रमाणित कागजात अनिवार्य रुपमा लिएर हिंड्नुपर्ने व्यवस्थालाई भारतीय ओभरलोड ट्रकहरुले उल्लंघन गरेका कारण नेपालका राष्ट्रिय राजमार्ग र पुल पुलेसामा क्षति हुनुका साथै दुर्घटना समेत हुन गएको पोखरेलले बताए ।
मालवाहक सवारी साधनको भारवहन सम्बन्धी निर्देशिका २०७४ (संशोधन सहित) अनुसार नेपालका सडकमा ट्रकको तौलसहित अधिकतम ४०.२ टन मात्र भार हुनुपर्छ । तर भारतीय ट्रकले क्षमताभन्दा दोब्बर सम्म बढी भार बोकेर गुड्ने गरेपनि राज्य पक्षले प्रभावकारी नियन्त्रण गर्न नसक्दा नेपालका पुल र सडकमा ठूलो क्षति पुगरिहेको बताए ।
‘१५ सय देखि ३ हजार रुपैयाँको जरिवाना रसिद काटेर भारतीय ट्रकलाई क्षमता भन्दा झण्डै दोब्बर ओभरलोड बोक्न छुट दिँदा यसअघि रुपन्देहीको घोडाहाको पुल र पश्चिम नवलपरासीको लोकाहा पुल पनि भांचिएको थियो, अहिले दुम्कीबासको पुल भाँचिएको छ’–पोखरेलले भने–‘सरकारले ओभरलोड भारतीय ट्रकलाई रोक्न नसक्दा नेपालका पुल र सडकमा अप्रत्यक्षरुपमा अर्बौंको क्षति भएको छ,यसतर्फ राज्य निरीह र लाचार छ ।’
लुम्बिनी ट्रक व्यवासी संघ भैरहवाका अध्यक्ष विष्णु खरेलले भारतीय गाडीको ओभरलोडको कारणले केही साता अगाडि मात्रै बेलहिया देखि भैरहवाको बुद्धचोक सम्मको सडक धसिएर पुननिर्माण गर्नुपरेको बताए । नेपालका मुख्यराज मार्ग र बाईपास सडकहरु भारतिय ओभरलोड सवारी साधानको मारमा पर्दैै आएका उनले बताए ।
नेपालमा १४ पाङग्रा (चार एक्सल) भन्दा बढी भार वहन क्षमताका सवारी साधनको तौल नाप्ने पुर्वाधार नै बनेका छैनन् । जसले गर्दा भारतीय ट्रकले नगन्य जरिवाना तिरेकै भरमा अत्यधिक भार बोकेर गुड्दा नेपालका पुल र सडकमा क्षति पुग्ने गरेको छ ।
नेपालमा सरकारी तहबाट चितवनको नारायणगढमा मात्रै तौल पुल बनाइएको छ । तर, यसको नियमित सञ्चालन र प्रयोग नभएको व्यवसायीहरु बताउँछन् । सडक डिभिजन कार्यालय नवलपुरका प्रमुख नारायण लामिछानेले दुम्कीबासको पुल भाँचिनुमा ओभरलोडसँगै पूलको आयू समेत सकिनु अर्को कारण भएको बताउँछन् ।
बुटवल–नारायणगढ खण्डका स्टिल ट्रस ब्रिजहरु २०३२ देखि २०३५ सालको बीचमा ब्रिटिस सरकारको सहयोगमा बनेका हुन् । जसको ५० वर्ष आयू पुगेकाले पनि कमजोर भएका र त्यसमाथि ओभरलोडका कारण पुल भांचिएको लामिछानेले बताए ।




