कुनै बेला रूरू क्षेत्रको ख्याति निकै फैलिएको थियो । धार्मिक, सांस्कृतिक र व्यापारिक केन्द्र रूरू क्षेत्र अर्थात रिडी कालान्तरमा ओझेलमा प¥यो । रूरू क्षेत्रको धार्मिक महिमालाई प्रचार गरी विगतको वैभव फर्काउने जमर्को हुँदैछ ।
कुनै बेला रिडीको वैभव भारतदेखि तिब्बतसम्म थियो ।सेनकालदेखि फैलिएको रिडीको वैभव २००७ सालको परिवर्तनपछि ओझेलमा प¥यो । पहिलेको त्यो वैभवको चर्चा क्रमशः खुम्चियो । शासनसत्तामा बस्नेहरुले यहाँको महत्वलाई मान्दा रिडी चर्चामा आयो । बस्नेहरुको नजर नपर्दा ओझेल प¥यो । लुम्बिनी प्रदेश सरकारले रूरू क्षेत्रको बृहत्तर विकासको लागि गुरुयोजना बनाएर पूर्वाधार विकासको काम अघि बढेको छ । गुरुयोजना कार्यान्वयनले पहिलेको स्वर्णीम युगफर्किने आशा पलाएको छ । रिडीको सांस्कृतिक र धार्मिक वैभवलाई पर्यटन प्रवद्र्धनसंग जोडेर पूर्वाधार विकासको भिजन पूर्व मुख्यमन्त्री शंकर पोखरेलले अघि सारेका हुन् । यो योजना कार्यान्वयन प्रक्रिया अघि बढेपछि रिडीको गुमेको चमक फर्कने आशा पलाएको हो । गुमेको चमक फर्कने आशाले स्थानीय उत्साहित छन् ।
रूरू क्षेत्रको सम्पदा र संस्कृतिबारे अध्ययन गरेका संस्कृतिविद् डा. गितु गिरीले भने— ‘ सांस्कृतिक,ऐतिहासिक र धार्मिक स्थल रूरू क्षेत्रमा पूर्वाधार विकास गर्दा पर्यटन प्रवद्र्धन राम्रो हुनसक्छ ।’
रूरू क्षेत्रको महिमा
हिन्दु समुदायमा कालीगण्डकी नदीलाई निकै पवित्र मानिन्छ । त्यसैगरी, रूरू क्षेत्रलाई पनि उत्तिकै पवित्र धामका रुपमा लिइन्छ । यहाँका धेरै सम्पदा निकै महत्वपूर्ण छन् । ती सम्पदालाई हिन्दु संस्कृतिमा निकै श्रद्धागरिन्छ । पवित्र कालीगण्डकी र रूरू क्षेत्र सहित यहाँको महत्वपूर्ण स्थल ऋषिकेश मन्दिर हो । यो मन्दिर २०६७ सालको असोजमा ब्राजिलमा भएको युनेस्को सम्मेलनमा विश्व सम्पदा सूचीको मनोनयनमा परेको छ ।
जनश्रुतिअनुसार, सो¥हौं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द प्रथमले कुनै दिन सपनामा नारायणको मूर्ति कालीगण्डकीमा छिपेको छ निकाल्नु भन्ने जानकारी पाए । कार्तिक शुक्ल एकादशीका दिन कालीगण्डकीमा स्नान गर्न गए । स्नान गर्दै गर्दा उनले कालीगण्डकीको गर्भमा ऋषिकेश भगवानको मूर्ति फेला पारे । फेला पारेको मूर्ति राजाले अहिले मन्दिर भएको स्थानमा प्रतिस्थापन गरे । त्यसबेलादेखि नै हरिबोधिनी एकादशीका दिन धार्मिक महिमाका साथ पूजा अर्चना गर्ने प्रचलन निरन्तर चल्दै आएको छ । हरिबोधिनी एकादशीको भोलीपल्ट द्ववादशीका दिन खटयात्रा गरिन्छ ।
रूरू क्षेत्र अर्थात रिडीमा माघ स्नानको निकै महत्व रहेको मानिन्छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश भएको संक्रान्तिको दिनले ठूलो महिमा बोकेको छ । सूर्य मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति भनिन्छ । मकर संक्रान्ति माघ महिनाको पहिलो दिन पर्ने भएकाले यसलाई माघे संक्रान्ति पनि भनिन्छ । मकर संक्रान्तिमा गरिने स्नानलाई निकै राम्रो मानिन्छ ।स्थानीय मकर संक्रान्तिलाई जेठी, माघ २ गतेलाई माहिली र ३ गतेलाई कान्छी संक्रान्ति भन्छन् । तीनदिनसम्म लगातार गण्डकीमा स्नान गरे निकै पुण्य हुने विश्वास छ । त्यसो त माघमा गण्डकी स्नानलाई निकै राम्रो मानिन्छ । ‘ गण्डकीको तटमा रहेको रूरू क्षेत्र पवित्र तीर्थस्थल हो, यहाँ स्नान गर्दा सबै ऋण र पापबाट मुक्ति पाइन्छ– धर्म गुरु व्यासाचार्य किशोर गौतमले भने ।
अठार महापुराण मध्येको एक बराह महापुराणमा रूरू क्षेत्रको बारेमा चर्चा छ । गण्डकीमा जीवित छदा स्नान गर्ने र निधन भएपछि अस्थि सेलाउने काम निकै महत्वपूर्ण रहेको विश्वास छ ।
मकर संक्रान्तिमा यहाँ लाग्ने मेला नेपाल लगायत भारतमा पनि प्रख्यात छ । अहिले यहाँ तीन दिनसम्म मेला लाग्छ । इतिहासकार निर्मल श्रेष्ठका अनुसार, सेनकालमा राजाले मकर संक्रान्तिदेखि हिउँदे मेला लाग्ने चलन चलाएका थिए । त्यसबेला यो मेला तीन चार महिना सम्म चल्दथ्यो । त्यो बेला यहाँको मेलामा व्यापार गर्न भारत र पहाडी क्षेत्रका विभिन्न राज्यका साहुमहाजन आइपुग्थे । अहिले पनि तीन दिने रिडी मेलामा पहाड र तराईका विभिन्न स्थानीय उत्पादन विक्री गर्न ल्याइन्छ ।
२००७ सालपछि ओझेलमा
भारतका तीर्थस्थल सरकारी निकाय, साधुसन्त र अन्य साहुमहाजनले प्रचारमा ल्याएपछि श्रद्धालुहरुको घुँइचो लाग्दै आएको छ । वर्षेनी धेरै नेपाली भारतका तीर्थस्थलमा पुगिरहेका छन् । सरकारले न त रिडीको महिमाको प्रचार ग¥यो न त पूर्वाधार निर्माणमा लाग्यो । सरकारले प्राथमिकतामा नपर्दा रिडी ओझेलमा प¥यो । साधुसन्तले पनि रिडीको प्रचारलाई प्राथमिकता दिएनन् । कुनै बेला रिडीमा बसेर व्यापारमा जमेका साहुमहाजनले पनि त्यसो गर्न आवश्यक ठानेनन् । बरु ओझेलमा पर्दै गएपछि रिडी छाडेर हिडे । उनीहरुका लागि पनि रिडी बिरानो भयो ।
सेनकालमा रिडीको वैभव जति फैलियो, त्यो नेपाल एकीकरणपछि पनि रोकिएन् । राणाकालमा पनि रिडीको चर्चा चुलियो । सेनकालको शक्तिशाली पाल्पा राज्यमा पर्ने रिडीले त्यसबेला पनि महत्व पायो । त्यसपछि नेपाल एकीकरण अभियानमा शक्तिशाली पाल्पा राज्य नेपालमा गाभियो । नेपालमा पाल्पा राज्य विलय भएपनि पाल्पा एक महत्वपूर्ण प्रशासनिक इकाईको रुपमा स्थापित भयो । राणाकालको दुई सय वर्षमा पाल्पाले पश्चिम नेपालको प्रशासनिक गौंडाको रुपमा प्रभावशाली वर्चश्व कायम राख्यो । यो बेला पनि रूरू क्षेत्रको महिमा ओझेलमा परेन् ।
श्री ३ जुद्ध शमसेर १३ वर्ष मुलुकको राजकाज चलाएपछि विस २००२ साल मंसिर १४ गते राजकाज त्यागेर रूरू क्षेत्रमै आएर बसे । यहाँ उनले बनाएको दरबारको भग्नाबशेष अर्गलीमा अझै देख्न सकिन्छ । ‘श्री ३ जुद्ध आएपछि रिडीको महिमाको चर्चा निकै चुलिएको पाइन्छ–इतिहासकार श्रेष्ठले भने । गुल्मीको रिडी, पाल्पाको अर्गली र स्याङजाको भृगुतुङ्गेश्वर गुफा क्षेत्रलाई रूरूक्षेत्रको रुपमा मानिन्छ । पहिले राजा महाराजाहरुको निधनपछि अस्थि रिडीमा ल्याएर कालीगण्डकीमा विर्सजन गरिन्थ्योे । राजा त्रिभुवनको निधनपछि पनि उनको अस्थि रिडीमा ल्याएर विर्सजन गरिएको थियो ।
ाजदरबारमा बिरामी रानीलाई फिजियोथेरापी गराउन आएकी थिइन् एरिका ल्युकट्याग । राजा त्रिभुवन र दरबारका बारेमा तिनै एरिकाले एरिका एण्ड किङ किताब लेखिकी छन् । त्यस किताबमा उनले उल्लेख गरेकी छन्–‘राजा त्रिभुवनको निधनपछि राजाको निधारबाट एक टुक्रा हड्डी निकालियो, जसलाई सुनको बट्टाभित्र राखियो । यसलाई लिएर एकजना ब्राहमण रिडीको बाटो लागे । जुन आठ दिनको बाटो थियो । जहाँ उनले पवित्र गण्डकी नदीको बीचमा त्यो बट्टालाई गाडिदिए । उपयुक्त समयमा त्यो हड्डी अमानश्रृंगारश्मको रुपमा परिर्वतन हुन्थ्यो । जसको घुमाउरो चिन्ह विष्णुको चक्रसंग मेल खान्थ्यो ।’
पाल्पाली राजाहरुका स्याहामोहरको शिरमा श्री भवानी ऋषिकेशौं जयतः लेखी त्यसको तल अरु व्यहोरा लेखेको पाइन्छ ।




