सुदुरपश्चिमको पहाडी क्षेत्र केन्द्र भएर पटक-पटक सानोदेखि मध्यम खालका भुकम्पका झट्काले समाजमा त्रास उत्पन्न ग¥यो, त्रास भुकम्पका यी झट्काले मात्रै गरेको नभई अब पश्चिम नेपालमा ठूलो भुकम्प जानसक्छ भन्ने विज्ञहरुको चेतावनीले पनि हो । पश्चिम नेपालमा भुकम्प नगएको पाँच सय वर्ष भइसकेको छ । यति लामो समयसम्म भुकम्प जाने शक्ति जम्मा भएर बसेकोले जुनसुकै बेला भुकम्प जानसक्छ भने पूर्वानुमान गर्दै जोखिम न्युनिकरणका लागि विज्ञहरुले सचेत गराइरहेका छन् । जोखिम न्युनिकरणका लागि पूर्वतयारीका लागि बारम्बार सजग गराउँदा समेत सरकारको ध्यान पुगेको छैन् ।
विसं १९९० माघ २ गतेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित र प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन— २०७१ तर्जुमा समेत गरिएको छ । दिवसमा गोष्ठी, छलफल लगायत कार्यक्रम हुन्छन् । तर भुकम्प जोखिम न्युनिकरणका लागि गर्नुपर्ने काम पटक्कै नहुँदा ठूलो क्षति सन्निकट छ ।
भुकम्प जोखिम न्युनिकरणका लागि भवन संहिता अनिवार्य लागु गर्ने योजना बन्यो तर कार्यान्वयनमा आउन सकेको छैन् । अहिलेसम्म ५० स्थानीय तहले भवन संहिता कार्यान्वयन गरेका छन् । अरु स्थानीय तहले बेवास्ता गर्दा संघीय सरकारले सचेत गराउन चुकेको छ । भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी हुनुपर्छ । बलियो संरचना बनाउन सक्दा मात्रै भुकम्पको जोखिम न्युनिकरण हुनसक्छ । विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो । तर यो सिकाई व्यवहारमा उत्रन सकेन् । तहगत सरकार, गैरसरकारी निकाय र नागरिक सबै जोखिम न्युनिकरणका लागि गर्नुपर्ने काम गर्न चुकेका छन् ।
पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत पाएका छैनन् । पूर्वतयारी नहुँदा भूकम्पपछि लामो समय नागरिकले दुःख झेल्दै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जाजरकोटको भूकम्पबाट प्रभावित भइ पुनःनिर्माण गर्नुपर्ने निजी आवासको संख्या ९५ हजार सातसय ८७ छ । भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाहरुको पुनःनिर्माण तथा पुनःस्थापना योजनाको योजना कार्यान्वयनका लागि रु एक खर्ब एक अर्व १२ करोड लागत लाग्ने अनुमान गरिएको छ । स्रोत व्यवस्थापन गरी संरचना निर्माणको प्राथमिकता र योजनामा पनि नेपाल कमजोर रहँदै आएको छ ।
भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय संकल्प आवश्यक छ । राष्ट्रिय संकल्पबाट नै भुकम्पबाट हुने विपदसँग जुध्न सकिन्छ । विपद्को सामना एकल प्रयासबाट मात्रै संभव हुने विषय होइन्, सामुहिक प्रयासले नै विपद्को सामना गर्न सकिन्छ ।




