गंगा पोखरेल
माघ महिना शुरु भए सङ्गै विभिन्न तीर्थस्थलहरूमा मेला लाग्छ । अझ भनौँ माघ महिनाभरी धार्मिक कार्यहरू धेरै नै हुन्छन् । नदी, घाटहरू र नजिकका मन्दिरहरूमा तीर्थालुहरूको चहलपहल माघ महिनाभरी धेरै नै देखिन्छ । यो अहिले शुरू हुन लागेको माघको प्रसङ्ग भयो । नेपालका जतिपनि तीर्थस्थलहरू छन् त्यहाँ अत्याधिक प्लाष्टिकजन्य सामग्रीहरूको थुप्रो नै देखिन्छ । धार्मिकस्थलहरूबाट भक्तजनहरूले धर्म कमाएर जान्छन् तर आफूसँगै ल्याएका प्लाष्टिकजन्य पदार्थहरू त्यतैकतै छोडेर जान्छन् । नदीको बगरभरी, नदीमा र मन्दिर परिसरभरी धुपका खोल, पूजासामग्री पोको पारेर ल्याएका प्लाष्टिकहरू यत्रतत्र देखिन्छन् । कहिले नसड्ने प्लाष्टिक माटो, नदी र वायुको लागि अत्यन्तै हानीकारक हुने प्लाष्टिकजन्य पदार्थले दिनप्रतिदिन धार्मिक स्थलहरूमा प्रदूषण बढाइरहेको छ ।
परापूर्वकालदेखि चलिआएका हाम्रा वैदिक परम्परा, संस्कार र संस्कृतिमा प्रकृतिलाई पूजिन्छ । जल, वायु , आकाश, धर्ती र समग्र पर्यावरणको पूजाबिना हामीले गरिने कुनैपनि दैविक पूजाआजा र पितृ कार्जेहरू पूरा हुँदैनन् ।
पहिला-पहिला पूजामा प्रयोग गरिने सबै सामग्रीहरू प्रकृतिमैत्री हुन्थे । सालका दुना, टपरीमा पूजा सामग्री सजाइएको हुन्थ्यो । मण्डप सजावटदेखि पूजा गर्नको लागि विभिन्न थरीका मगमग वास्ना आउने फूलहरूले वातावरण सुगन्धित बनाउँथे । शुद्ध घिउले हवन गरिन्थ्यो । मगमग वास्ना आउने सालका टपरीमा प्रसाद वितरण गरिन्थ्यो ।
त्यतिबेला भोजनका निम्ति पनि सालकै टपरी थालको रूपमा प्रयोग गरिन्थ्यो । यस्तो मान्यता थियोे कि सालको पात शुद्ध हुन्छ, यसरी गरिन्थ्यो पवित्र कार्जे ।
तर आज विकास सँगसँगै परिवर्तन भयो चालचलन पनि । धर्मको नीतिनियममा पनि परिवर्तन ल्याए धर्मात्माहरूले । जेनतेन दुइचारवटा फुल, अलिकति पातको जोहो गरी दस्तुर गरेपछि अरू सबै तिनै प्लाष्टिकका सामग्रीको सहायता लिन थाले ।
सबै कुराको नीतिनियम बनाई पूजा गर्नेले यो प्लाष्टिकको प्रयोग गर्न हुन्छ होला कि हुँदैन, पूजा गर्दा यसरी धर्म होला कि नहोला ? भन्नेतिर पनि थोरै ध्यान दिन जरूरी छ । हामीले पूजा गर्दा प्रयोगमा ल्याएका प्लाष्टिकका सामग्रीहरू प्रकृतिको लागि एकदमै हानिकारक हुन्छन् । यस्ता हानीकारक वस्तु त भगवानले पनि के मन पराउँथे होला र ?
हामीले बालेका केमिकलयुक्त धूपले वायु दुषित बनाउँछ । प्लाष्टिकका झोलामा बत्ती, धुप, चन्दन,अक्षता, फूल,प्रसाद लगायतका पूजा सामग्री पोको पारेर ल्याउने अनि पूजा गरिसकेपछि पूजा सामग्री पोको पारेर ल्याएका प्लाष्टिक त्यतै कतै मन्दिरतिर अथवा मन्दिरको नजिकै नदी भए त्यहीँ नदीमा मिल्काउने नराम्रो आदत छ हाम्रो, जो नदी र सिगैैं धर्तीलाई कष्टकर हुन पुग्दछ ।
हाम्रो वरपर जति पनि धार्मिक तीर्थस्थलहरू छन् । त्यस्ता तीर्थस्थलहरूमा अत्यधिक रूपमा पूजा सामग्री पोको पारेर ल्याएका प्लाष्टिकहरू यत्रतत्र देखिन्छन् । अझै भनौ मन्दिरमा वितरण गरिने प्रसाद पनि प्लाष्टिकमै पोको पारेर दिन थालिएको छ । एक घुट्की पानीको लागि एउटा प्लाष्टिकको गिलास । यसरी अनियन्त्रित रूपमा प्रयोगमा ल्याइएका प्लाष्टिकले धार्मिक स्थलको सुन्दरतालाई कुरूप बनाएका छन् । कालीगण्डकीको किनार, मुक्तिनाथधाम, कागवेनी, त्रिवेणी, देवघाट, मातातीर्थजस्ता नेपालका जुनसुकै तीर्थस्थलमा पनि प्लाष्टिकका फोहोर यत्रतत्र देखिन्छन् । यहाँसम्म कि घरमा हुने कार्जेमा पनि प्लाष्टिकको र यसबाट निर्मित सामग्रीहरूको प्रयोग व्यापक रूपमा देखिन्छ ।
यसले प्रकृतिलाई प्रत्यक्ष असर पारेको छ । धेरै पर जानुपर्दैन्, हामीले भोगेको विगतलाई अलिकति स्मरण गरौँ—
मन्दिरमा जाँदा होस् अथवा कुनै पुजा, यज्ञमा जाँदा आकर्षक तरिकाले बुनेका ढकियाहरूमा रङ्गीचङ्गी फलफूल, पूजा सामग्री बडो कुशलतापूर्वक हरिया पातका खरी, दुना, टपरीमा सजाइन्थ्यो । त्यहाँ कुनै पनि प्रकारका प्लाष्टिकका सामग्रीको प्रयोग हुन्थेन् । कति राम्रो देखिन्थ्यो । पहिले गरिने सम्पूर्ण दैविक कार्जेहरू प्रकृतिमैत्री हुन्थे ।
तर अहिले यो एउटा विकराल समस्याको रूपमा देखिएको छ । सम्पूर्ण धार्मिक स्थलहरूलाई प्लाष्टिकको फोहोरले छपक्कै छोपेको छ । अब सोच्नुपर्ने बेला आइसक्यो । कतै ढिलो नहोस् । धार्मिक कार्जेहरू गर्दा अलिकति प्रकृतिमैत्री भएर गर्नु अहिलेको टड्कारो आवश्यकता हो । जसले हाम्रो परम्परा र चलनलाई पनि निरन्तरता दिन्छ ।
संस्कृतिलाई प्रकृतिमैत्री बनाउन त्यस्तो गाह्रो केही पनि छैन् । अलिकति जाँगर, थोरै तत्परता र पूजा गर्ने श्रद्धा भए पुग्छ । प्लाष्टिकका प्लेटको ठाउँमा सालका पातका दुनाटपरीको प्रयोग गर्ने बानी बसालौं । प्लाष्टिक एकदमै अशुद्ध चिज हो । यो मान्छेको लागि पनि हानिकारक छ । मान्छेलाई हानी हुने चिज भगवानलाई पनि हानी गर्छ ।
भगवानलाई हानी गर्ने भनेको समग्र पर्यावरणलाई हानी गर्नु हो ।
जब हाम्रो श्वास नै पर्यावरणमा निर्भर छ भने त्यही पर्यावरणलाई प्रदुषित पार्न हामी किन उद्दत छौं ? अनि हाम्रा समग्र संस्कृतिहरु प्रकृतिको काखमा रमाउन चाहन्छन् भने त्यही प्रकृति विनाशमा लालायित छौँ । तसर्थ हामी बाँच्न, पृथ्वीमा हाम्रो अस्तित्व कायम राख्न र संस्कृतिको विकास गर्न प्रकृतिको सम्बद्र्धन अपरिहार्य छ । प्रकृति जोगाए मात्र संस्कृति जोगिन्छ ।




