नवलपुर ।नवलपुरमा रहेका स्कूल बसहरुमा सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने लगायतका ट्राफिक नियम नियम उल्लंघन गरेको गुनासोहरु बढेपछि ट्राफिक प्रहरीले नवलपुरमा स्कूल बसमा ट्राफिक चेकिङ्ग बढाएको छ ।
शैक्षिक संस्थाका सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने गरेको घटना बाहिर आउन थालेपछि नवलपुरमा ट्राफिक प्रहरीले चेक जाँच बढाएको हो ।
जिल्ला बाल क्लबको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुक्रबार र आईतबार जिल्लाको कावसोतीमा अनुगमन गर्ने क्रममा विद्यालय बस सञ्चालन निर्देशिका–०७४ को मापदण्डविपरीत सन्चालन भएका १६ वटा शैक्षिक संस्थाका यातायातका साधनलाई कार्वाही गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । गत शुक्रबार गैँडाकोट र आज आईतबार कावासोतीमा ट्राफिक प्रहरीले विद्यार्थी बोक्ने २९ वटा सवारी साधनलाई चेकजाँच गरेको थियो ।
चेक जाँचका क्रममा विद्यार्थी बोक्ने बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरेको, कतिपय बसको बिलबुक समेत नभएको, बस सञ्चालन निर्देशिका बमोजिम बसमा प्राथमिक उपचार किट, आपतकालीन ढोका साथै ह्यामर पनि नरहेको तथा निर्देशिकाले तोके बमोजिम अधिकांश सवारी साधनले मापदण्ड पूरा नगरेको फेला परेको बञ्जाराले बताए ।
उनका अनुसार एक पटकका लागी कार्वाहीमा परेका सवारी साधनलाई जरिवाना गरेर सम्बन्धित शैक्षिक संस्थाको जिम्मा लगाईएको हो ।
कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यविन्दु कलेज, आरम्भ एकेडमी, मामाघर एकेडमी, गैडाकोटको साइनिङ स्कुल, अक्स्फोर्ड कलेज, चितवनको एरोमा कलेज र एपेक्स एकेडेमीका स्कूल बसहरुमा ट्राफिक नियम पालना नभएको पाइएको हो ।
जिल्ला बाल क्लबका सचिव साथै एनसिसी अल्मुनाई एससिएसन नेपाल, नवलपुर जिल्ला कार्यसमिति निर्देशक विशाल सापकोटाले विद्यालय बस सञ्चालन निर्देशिकाबमोजिम बसमा प्राथमिक उपचार किट, आपतकालीन ढोका साथै ह्यामर पनि नरहेको र कतिपय गाडी विद्यार्थी बोक्नयोग्य नरहेको पाइएको बताए ।
बिहान ९ बजेदेखि १०ः३० र बेलुकी ३ः४०–५ः३० सम्मको समयमा चेकजाँच गरिएको हो । चेक जाँचलाई निरन्तरता दिने जनाइएको छ ।
अब नवलपुरको मुख्य बजारको सडकमा ४० स्पीट नघाउने नपाउने
अब नवलपुरको मुख्य बजारमा सवारी साधनको गति प्रति घण्टा ४० किलोमिटर भन्दा बढी भए कारवाहीमा परिने भएको छ ।
आज जिल्ला ट्राफिक कार्यालय नवलपुरले कावासोतीमा एक कार्यक्रमको आयोजना गरी नवलपुरमा प्रति घण्टा ४० किलोमिटर भन्दा बढी गति गराउन नपाउने गराएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले मुख्य बजारहरुमा तिब्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनकरणका लागि यस्तो अभियान शुरु गरेको बताए ।
कार्यक्रममा कावासोती ३ का वडा अध्यक्ष डोरमान गिरीले कावासोतीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रहरीलाई आवश्यक पर्ने सहयोग जनप्रतिनिधिको भूमिकामा सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रम पनि कावासोतीमा ४० भन्दा बढी गतिमा सवारी साधन नचलाउन सडक बीचमा सचेतना मूलक बोर्डसमेत राखिएको थियो । जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख जनकराज बन्जाराले अब कावासोतीमा राडर गन प्रयोग गरेर सवारी साधनको गति जाँच गर्ने र बजार क्षेत्रमा पूर्वपश्चिम राजमार्गमा ४० भन्दा बढी गति भेटिए कारवाही गरिने बताए ।




