२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वतन्त्र प्रेसका धरोहर ऐतिहासिक झापा घोषणा

स्वतन्त्र प्रेसका धरोहर ऐतिहासिक झापा घोषणा

स्वतन्त्र प्रेसका धरोहर ऐतिहासिक झापा घोषणा

स्वतन्त्र प्रेसका धरोहर ऐतिहासिक झापा घोषणा

स्वतन्त्र प्रेसका धरोहर ऐतिहासिक झापा घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • अर्जुन ज्ञवाली
    १९औं जन्मतिथिमा गोविन्द वियोगीलाई सम्झदा 
    सुसूचित हुने अधिकारसहित अभिव्यक्ति स्वतन्त्रतालाई व्यापक सुदृढ र विर्वाधाउपभेगको प्रत्याभूतिका लागि नेपालका प्रबुद्ध पत्रकारहरु क्रियाशील हुनु स्वाभाविक हो । वास्तवमा पूर्ण प्रजातान्त्रिक मूल्य , मान्यता र भिन्न विचारहरुप्रतिको सम्मानको वातावरणमा मात्र स्वस्थ र स्वतन्त्र पत्रकारिता फस्टाउन सक्नेछ । विश्वव्यापीरुपमा देखापरेको प्रजातन्त्र, मानवअधिकार तथा जनजागरणको लहरप्रति नेपाली समाजलाई पनि प्रबुद्ध पार्ने गहन दायित्वप्रति हामी नेपाली पत्रकारहरु सचेत एवं सतत प्रयत्नशील रहने छौँ ।
     
    ( तत्कालीन सभापति श्री गोविन्द वियोगी को अध्यक्षतामा २०४६ पुस ८ र ९ गते सम्पन्न नेपाल पत्रकार महासंघको झापा बैठकबाट पारित)
    यो ऐतिहासिक घोषणा जसबाट पनि गोविन्द वियोगीलाई प्रेस जगतले कहिल्यै बिर्सन सक्दैन ।
    नाम थर गोविन्द वैद्य हो, वियोगी उपनाम हो । जनजिब्रोमा वैद्यभन्दा उपनामको वियोगी प्रचलित भयो । हितैषीहरु गोविन्द दाइ, वियोगी दाइ भनेर पुकार्थे । औपचारिकतामा गोविन्द वियोगी तथा गोविन्द वैद्य । सालका हिसाबले उहाँले इहलोक छोडेको १९ वर्ष भएछ । १९ वर्ष हुँदा पनि उहाँलाई बिर्सन सकिएको छैन । यसको कारण हो, उहाँले स्थापना गरेको पत्रकार आर्दश । जो माथिको घोषणामा पनि अन्तर्निहित छ ।
     
    गोविन्द वियोगी जन्मदै कलम लिएर जन्मनुभएको रहेछ । उहाँले बाला उमेरमै हातैले लेखेर पत्रिका निकाल्ने काम गर्नुभयो । आठ सालमा भाइ बासु शशीसित मिलेर बागिश्वरी मासिक पत्रिका निकाल्नुभयो । प्रेसको राम्रो बन्दोबस्त नभैसकेको अवस्थामा हातैले लेखेर भए पनि पत्रिका निकाल्ने हिम्मत उहाँले गर्नुभएको छ । समय क्रममा सिसाका अक्षर, हाते कम्पोज, लेटर प्रेस हुँदै अफसेट प्रेसमा छलाङ् मार्नुभयो । 
     
    मातृ भूमि साप्तहिक गोविन्दा वियोगीको मुख्य परिचय हो । यो पत्रिका उहाँको सम्पादनमा ३४ वर्ष अनवरत चलेको छ । रातो रङ्गको पृष्ठभूमिमा सेतो अक्षरको लोगो भएको मातृभूमि जीवन पर्यन्त शान्ति, समता र प्रजातन्त्रको पक्षधर रह्यो । पत्रिकाको यो निष्ठा जोगाउन गोविन्द दाइलाई कम्ती गाह्रो भएको होइन । तर उहाँ कत्ती ढुलमुलिनु भएन । सतिसाल झैं ठाडो भएर उभिनु भयो । मातृभूमिका साथमा दैनिक जनदूतलगायत अरु प्रकाशन पनि थिए ।
     
    राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर नै मातृभूमिले पत्रकारिता ग¥यो । व्यक्तिविशेषको चरित्रहत्या उसले कहिल्यै गरेन । एउटै वाक्यमा भन्नुपर्दा गोविन्द वियोगीको मातृभूमिमा छापिने सम्पूर्ण अक्षर, शब्द र वाक्यले समाजमा विद्यमान सामाजिक, राजनैतिक विकृति विसंगतिकाविरुद्ध शान्ति, सुशासन, प्रगतिका विगुल फुकेका हुन् । 
     
    पञ्चायती निरंकुश कालमा मातृभूमिलाई जोगाउन बहुतै गाह्रो भयो, बिचमा एउटा यस्तो समय आयो जुन समयमा आधा दर्जन लब्धप्रतिष्ठ अखबार प्रेस विरोधी निरंकुश कानुनका शिकार भए । यस्तो कायरतापूर्ण काम धेरै दिन टिक्न सक्ने कुरै थिएन । थोरै दिनमै स्वतन्त्र प्रेसका स्तम्धकारहरु र तिनका जबर्जस्त सर्मथकहरुको आन्दोलनमा सरकारले नझुकी सुखै पाएन । अखबारहरु खुले । यस आन्दोलनमा गोविन्द वियोगी जबर्जस्त भूमिकामा रहनुभयो । 
     
    गोविन्द वियोगीको नाम नेपालमा अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र प्रेसको एजेण्डामा प्रवल हस्तीको रुपमा आउँछ । प्रेस स्वतन्त्रताको सवालमा उहाँले मातृभूमि साप्ताहिक र त्यसका सम्पूर्ण प्रकाशनहरुबाट निरन्तर संघर्ष गर्नुभयो । गाविन्द वियोगीले विशिष्ट पत्रकारिता गर्नुभएको हो । उहाँको पत्रकारितामा प्रयुक्त शब्द, वाक्य तथा अनुच्छेदमा राष्ट्र बोल्थ्यो । राष्ट्रिय प्रगतिशील धार उहाँको अभीष्ट हो । उहाँले कहिल्यै दलीय हठ लिनु भएन । राजनैतिक आग्रह पूर्वाग्रहमा रुमलिनु भएन । अनि फेरि आफ्नो विशिष्ट ओजलाई भजाएर सत्ताको मान सम्मान ग्रहण गर्नुभएन । फगत स्वतन्त्र प्रेसको आर्दशमा रमाउनु भयो । फलस्वरुप गोविन्द वियोगी राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा स्वतन्त्र प्रेसको पहरेदार पत्रकारको रुपमा दर्ज हुनुभयो ।
     
    ३ मई २००१ तद्अनुसार २०५८ बैशाख २० गतेको कुरा हो– त्यो दिन विश्व प्रेस स्वतन्त्रता दिवस थियो । त्यस दिन नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिल नेपालका तर्फबाट काठमाडौंमा प्रेस स्वतन्त्रता सेनानी सम्मान एवं प्रेस काउन्सिल – गोपाल दास पत्रकारिता पुरस्कार प्रदान समारोहको आयोजना थियो । समारोहमा गोविन्द दाइलाई प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कारले सम्मानित गरियो । त्यसै समारोहमा गोविन्द दाइसँगै मैले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्राप्त गरेँ । तेस्रो दिनको कुरा हो – त्यस दिन बिहान हामी दुवै दाजुभाइ सगरमाथा रेडियोको निम्तामा प¥यौँ । सगरमाथा रेडियोका कार्यक्रम सञ्चालक घमराजले हामीलाई बोलाउनु भएको थियो । त्यहाँ रेडियोको प्रत्यक्ष प्रसारणमा घमराजसमेत हामी तीनै भाइ भएर नेपाली पत्रकारिताको विगत र वर्तमानका सम्बन्धमा जमेर चर्चा परिचर्चा ग¥योँै । गोविन्द दाइ जानुभयो । अहिले हुनुहुन्न । म भने अझैँ त्यो कुरा बिर्सन सकिरहेको छैन ।
    – गोविन्द वियोगी स्मृति ग्रन्थ २०६२
     
    गोविन्द वियोगी पत्रकार हो । औषत पत्रकार नभएर विशिष्ट पत्रकार । यसका लागि उहाँले सम्पादन गरेको मुद्रित सामग्री सबूद प्रमाणको रुपमा छ ।अहिले पनि छोरा किरण वैद्यबाट ती सामग्री प्राप्त गर्न सकिन्छ । गोविन्द वियोगी र नेपालको राष्ट्रिय स्वतन्त्र प्रेस सम्बन्धमा पि.एच.डी. गर्न चाहने विद्यार्थीहरुका लागि ती सामग्री सहयोगी हुन सक्छन् । 
     
    गोविन्द वियोगी विशिष्ट कलमको विशिष्ट पत्रकार हुनुका साथै प्रेस संयोजक पनि हो । उहाँले पत्रकार हकहित र एकताका लागि अत्यत राम्रो समन्वयकारी भूमिका विर्वाह गर्नुभएको छ । पत्रकारहरुको माया र ममतामा नेपाल पत्रकार संघ र पछि महासंघको पनि सभापति हुनुभयो । पत्रकार महासंघको निर्माणमा पटक–पटक देशभरि घुम्नु भयो । यसमा उहाँका आधादर्जन जुत्ता फाटे होलान् । अन्ततः सफल पनि हुनुभयो । पत्रकारहरुको राष्ट्रिय सभापति भएर वियोगीले कुनै अप्रिय काम गर्नु भएन र व्यक्तिगत लाभ लिने काम पनि गर्नु भएन । पत्रकारहरुको सभापति भएपछि सुरुदेखि आफूले उठाएको अभिव्यक्ति तथा स्वतन्त्र प्रेसको झन्डालाई झनै अग्लो बनाएर फहराउनु भयो । प्रेस स्वतन्त्रताको पक्षमा लडाइ लड्ने शीर्ष पत्रकारहरुमा उहाँको नाम लिइरहँदा सहयोद्धा गोपाल दास, मणीराज र मदनमणिदीक्षितको नाम सँगसँगै आउँछ ।
     
    गोविन्द वियोगीले पत्रकारितामार्फत् राष्ट्रको उत्कृष्ट सेवा गर्नुभएको छ । यसका लागि उहाँ धन्य हुनुहुन्छ । उहाँले आफ्ना सम्पूर्ण प्रकाशनमा राष्ट्रका सम्पूर्ण गरिविधिलाई उचित स्थान दिई विभिन्न वर्ग, वर्ण, लिङ्ग, जातजाति तथा सम्पूर्ण नेपालीको वास्तविक सेवा गर्नुभएको छ । यस कार्यमा उहाँ नेपाल राष्ट्रको एउटा जिम्मेवार पत्रकार हो । उहाँको गुरुकुल विद्यालयमा अलिकति पढ्ने र लेख्ने मौका मैले पनि पाएको हुँ । यसमा आफूलाई धन्य सम्झन्छु । 
    व्यक्तिगत जीवन शैलीको चर्चा गर्दा आँखामा राखे पनि नबिझाउने व्यक्तिको नाम गोविन्द वियोगी हो ।
    उहाँ कसैको पनि कुभलो गर्दै नगर्ने सकेसम्म भलो मात्र गर्ने भद्र पुरुष हो ।
     
    उहाँलाई अतिथि देवो भव भन्दा हुन्छ । उहाँकहाँ पाहुना नहुने सायदै कुनै दिन हुन्थ्यो । पाहुनामा राजनीतिज्ञ पनि हुन्थे । कुटनीतिज्ञ पनि हुन्थे । समाजसेवी, सन्त महन्त सबै हुन्थे । भाउजु कृष्णवदन साँच्चिकै गृहलक्ष्मी हुनुहुन्थ्यो । त्यो घर अतिथिदेवो भव हुनुमा उहाँको लच्छिन पनि एउटा कारण हुनुपर्छ ।
     
    पत्रनिष्ठामा अब्बल वियोगी धर्मनिष्ठामा पनि अब्बल हुनुहुन्थ्यो । आँखाको अगाडि परेका जुनसुकै ढुङ्गा उहाँका लागि देउता हुन्थे । मठमन्दिर देख्ने बित्तिकै नतमस्तक । म काठमाडौंमा भएको बखत जहिल्यै सँगै घुम्न जान्थेँ, कहीँ कतै मूर्ति आकारको जस्तो ढुङ्गो देख्यो कि ढोगी हाल्नुहुन्थ्यो । मेरो मन भित्रभित्रै भन्थ्यो – यत्रो बुझ्की मान्छे पनि किन यस्तो गर्नुहुन्छ होला । तर, यस सम्बन्धमा उहाँसँग तर्क गर्ने आँट ममा हुँदैनथ्यो । मन न हो बदलिरहने । शान्त भावमा आएपछि फेरि भन्थ्यो –
    – ईश्वर ः सर्वभूतेषु हृद्देशेकर्जुुन तिष्ठति ।
    – ईशावास्यमिदं सर्वम् ।
    – सर्वं खलु इदं ब्रम्ह ।
     
    होत, ईश्वर सर्वव्यापी छ भने दाइले ढुङ्गालाई ढोग गर्नुभयो, एउटा निष्ठाको कुरा हो । निष्ठा धर्म हो । दाइले जीवनपर्यन्त इमान र जमानको पत्रकारिता गर्नुभयो । इमान जमान उहाँको निष्ठा थियो । गोविन्द दाइले ढुङ्गालाई ढोगेर पनि धर्म गर्नुभयो । निष्ठाको पत्रकारिता गरेर पनि धर्म गर्नुभयो । धर्मशास्त्र भन्छ– धर्म गरेपछि पुण्य प्राप्त हुन्छ । पुण्यात्माहरु मृत्युपछि परमगति प्राप्त गर्छन् । यसको अर्थ गोविन्द दाइको इहलोक पनि सफल परलोक पनि सफल ।
     
    नियतिले गोविन्द दाइको ललाटमा ‘पत्रकार‘ लेखेको रहेछ । यसै भएर उहाँले बाला उमेरमै हस्तलिखित हाते पत्रिका निकाल्नुभयो । त्यसपछि नेपाल संवाद समिति भन्ने समाचार समिति बनाउनुभयो । समाचार समिति बनाएपछि पनि सुरुमा हातैले समाचार लेखेर समाचार बुलेटिन बाँड्नु भयो । यत्तिले पुगेन अनि भाइ बासुशशिसित मिलेर हस्तलिखित बागीश्वरी नामको मासिक पत्रिका लिकाल्नुभयो । हातको अक्षरबाट सिसाका अक्षर, सिसाका अक्षरबाट छपाइ गर्ने छापाखाना त्यसपछि अफसेट प्रेसमा पुग्नुभयो । यसरी ‘चरै वेति चरै वेति’ भनेझैँ गरेर उच्च कोटिको पत्रकारिता गर्नुभयो । यसरी गोविन्द दाइले मरेर पनि अमरत्व प्राप्त गर्नुभएको छ ।
     
    उहाँको मुख्य पहिचान मातृभूमि साप्ताहिक ३४ वर्ष चलेर बन्द भएको छ । त्यसपछि उहाँ विश्राम लिन सक्नुहुन्थ्यो, तर उहाँको आत्माले त्यसो गर्न मानेन । अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसको अडान छोड्न सक्नुभएन । चरै वेति चरै वेति गर्न थाल्नुभयो । सम्पदाकहरुको एउटा समाज गठन गर्नुभयो र त्यसको अध्यक्ष भएर आफ्नो अभियानलाई जारी राख्नुभयो ।
     
    उहाँ अहिले हाम्रो सामु हुनुहुन्न । उहाँको मरण भएको छ । यो मरण सम्पादक समाजको बैठकमा प्रेसलाई निरन्तर रुपमा स्वतन्त्र राखिराख्न कसरी सकिन्छ भन्ने विषयमै छलफल गरिरहेको बखत भएको छ । नियतिको तारतम्य हुनुपर्छ, एउटा कर्मयोगीको अवसान सम्बद्ध योग साधना गरिरहेको सक्रिय अवस्थामा भएको छ । तसर्थ यो मरण विशिष्ट छ । यो शहादत हो । स्वतन्त्र प्रेसको लागि शहादत हो । अर्को शब्दमा युद्धमा एउटा वीर योद्धाको वीरगति हो । श्रद्धाञ्जली छ, वीर शहीदलाई । 
    तपाईँको पदचिन्हमा हिडिरहन सकूँ ।
    अस्तु ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij