२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोजगारी र शिक्षामा महिलाको पहुँच बढ्दै

रोजगारी र शिक्षामा महिलाको पहुँच बढ्दै

रोजगारी र शिक्षामा महिलाको पहुँच बढ्दै

रोजगारी र शिक्षामा महिलाको पहुँच बढ्दै

रोजगारी र शिक्षामा महिलाको पहुँच बढ्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • उर्मिला यादव
    भैरहवा
    साधना बानियाँ पशु प्राविधिक हुन् । सियारी गाउँपालिका— २ मा जागिरे उनलाई पशुपंक्षीको उपचार र रेखदेखमा भ्याइनभ्याइ छ । उनी कहिले पशुपंक्षीको उपचार गरेको भेटिन्छिन् त कहिले भ्याक्सिन लगाइदिँदै गरेको देखिन्छिन् ।


     साधनाको काम धेरै किसानले चित्त बुझाएका छन् । साधना प्राविधिक नै भए पनि किसानले डाक्टर भनेर बोलाउन लागेका छन् । साधना किसानको मायाले थप उत्साहित छिन् । काममा भ्याइनभ्याई छ । ‘किसानहरुले असाध्यै माया गर्नुहुन्छ । टाढा टाढासम्म बोलाउनुहुन्छ ।’– बानियाँले भनिन् । 


    बानियाँले गाउँले किसानको विश्वास जित्न कम्ता कोसिस गरिनन् । सुरु सुरुमा महिला त्यसैमाथि मधेशी मुलकी उनलाई पशु प्राविधिक भनेर कसैले पत्याएनन् । किसानहरु पशुपंक्षी बिरामी भएर आउँदा मधेशी महिला देखेपछि कतिले उपचार नै नगरी लैजान्थे । ‘कतिले तपाईं जान्नुहुन्छ र भनेर प्रश्न पनि गर्थे ।  मधेशी महिलाले पशुको उपचार गर्छन् र भन्ने साँेचले होला  भ्याक्सिन लगाउन खोज्दा कतिपय किसानले जान्नुहुन्न होला, सरलाई बोलाम भनेर पनि रोक्थे, मैले सक्छु । हजुरहरु चिन्ता नलिनुस् भनेर खुरुखुरु काम गर्थे,’ साधनाले भनिन्— तर अहिले त्यस्तो छैन । मेरो मिहिनेतले किसानहरुको मन जितेको छु । साधना रुपन्देहीको सियारी गाउँपालिका –२ सेमरामा जन्मेकी हुन् । उनको परिवारमा सबै पढेलेखेका छन् । 


    माइली छोरीको रुपमा रहेकी बानियाँले पशु प्राविधिकसँगै विज्ञान संकायमा कक्षा १२ पास गरेकी छिन् ।  अहिले लोकसेवाको तयारीमा छिन् । लोकसेवाको तयारीसँगै पढाइलाई निरन्तरता दिँदै अगाडि बढ्ने उनको सोंच छ ।  
    मधेशी समुदायमा अझँै पनि छोराछोरीबिच धेरै विभेद छ । छोरीलाई पढाउनु हुन्न भन्ने समाजमा अहिलेका पुस्ता मात्रै विद्यालय जान पाएको छन् । जागिर खाने पुस्ता पनि पहिलो हो । यही कारण घरपरिवारदेखि समाजसम्म मधेशी मुलका महिलाको काम र व्यवहारमा धेरैको नजर छ । यद्यपी कडा मेहनत र लगनका साथ युवा महिलाहरुले आफ्नो करियर बनाइरहेका छन् । बबिता यादव रोहिणी गाउँपालिकाको न्यायिक शाखा प्रमुख हुन् । उनी खरिदार पदमा छिन् । उनी गाउँपालिकाभित्र आएका विभिन्न किसिमका न्यायिक विषयका काम सुल्झाउनमै व्यस्त छिन् । 


    रुपन्देही ओमसतिया ६ नरयनापुरकी बबिताको जन्म रोहिणी गाउँपालिका वडा नम्बर ४ सेमरहनामा भएको हो । उनले विवाहअघि नै स्नातकसम्म अध्ययन गरेकी थिइन् । खरिदारमा नाम पनि निकालेकी थिइन् । यसपछि २५ वर्षको उमेरमा मात्र विवाह गरेकी थिइन्  । उनका श्रीमान पनि सरकारी जागिरे हुन् । 
    उनी लुम्बिनी सांस्कृतिक नगरपालिकामा अधिकृत छैठौस्तरमा इञ्जिनियर छन् । बबिताको काममा घर माइत जताततैको समर्थन छ । ‘आफ्नो समुदायबाट म जस्ता महिला खासै नहुने भएर होला कुनै कार्यक्रमहरुमा सहभागी हुँदा मधेसी समुदायकी महिला भनेर आफ्नो उदाहरण दिँदा निकै खुसी लाग्छ । अब हामी पनि सक्षम हुन लाग्यौं है जस्तो लाग्छ ।’ उनले सुनाइन् ।


    बबिता सरकारी जागिरसँगै अहिले भैरहवा बहुमुखी क्याम्पसमा डिग्री पढ्र्दैै छिन् । उनी एक सन्तानकी आमा पनि हुन् । परिवारमा सासु ससुरा, श्रीमान, देवर, नन्द र एक छोरी गरी सात जनाको परिवार छ । बबिता त्यो गाउँबाट सरकारी जागिर गर्ने पहिलोे महिला हुन् । उनी  सरकारी नोकरीमा भएर होला परिवारमा सबै खुसी र उनलाई सबैले साथ र सहयोग गर्दै आएका छन् । ‘आप्mनो घरपरिवार एकदमै बुझ्ने र सबै परिवार नै साथी जस्तै भएकोले काम गर्न र अध्ययनमा धेरै सहज भएको छ ।’– बबिता सुनाउँछिन् । उनको प्रमुख प्रशासकीय अधिकृत बन्ने लक्ष्य छ । बबिता भन्छिन्–‘गाउँमा अझैँ पनि मधेसी समुदायको युवती घरबाहिरको काम गरेको राम्रो मान्दैनन् । तर, मेरो सरकारी नोकरी भएर होला । कसैले नराम्रो भन्नुभाछैन ।’


    बबिता  सरकारी जागिरे भएर होला बिहे गर्ने बेलामा दाइजो माग पनि गरिएन ।  समाजमा दाइजो प्रथाले जग बसालेका बेला उनी आफ्नो परिवारको इच्छाले सामान्य विवाह गरिन । मधेशी समुदायका महिलामा जागिर खाने र सामाजिक क्रियाकलापमा लाग्नेको संख्या पछिल्लो समय बढ्दै गएको छ । छोरीलाई पनि पढाउनु पर्छ भनेर धेरै जनचेतना फैलाएकाले बल्ल छोरीहरु पढ्न र अगाडि बढ्न पाएको बबिता बताउँछिन् । ‘यद्यपि मधेसी समुदायमा जति शिक्षाको स्तर बढ्दै गएको छ, त्यही हिसाबमा दाइजोको माग पनि बढ्दै गरेको छ, यो गलत छ । 
    अब पढेका छोरीलाई झन धेरै दाइजो दिनुपर्ने प्रथा मधेशी समुदायबाट हटाउनै पर्छ । बल्ल सबै छोरीहरुले पढ्न र अगाडि बढ्न पाउनेछन् ।’– बबिताले सुनाइन् । 


    बबिताका श्रीमान आशिषकुमार यादव आफू सरह श्रीमती पनि सरकारी जागिरे हुँदा एकदमै खुसी छन् ।  गौरव पनि उत्तिकै गर्छन् । उनी भन्छन्–‘म एकदमै भाग्यमानी छु कि हामी दुबै जना सरकारी जागिरे छाँै । अरुले  कहाँ तिमी जस्तो पढेलेखेको पाएका छन् ।  समाजमा  मिलेर राम्रो काम गरेर उदाहरणीय व्यक्तित्व बन्ने दुवैजनाको सपना छ ।’


    मधेशी समुदायमा केही वर्षअघिसम्म छोरीहरु घरबाहिर निस्कदा दाजुभाइ वा बुवालाई साथ लिएर जानुपथ्र्यो । अहिले निर्धक्क सामाजिक क्रियाकलापमा लाग्ने युवा महिलाहरु बढ्दै गएका छन् । सामाजिक अभियन्ताका कुरा गर्दा सुनिता हरिजन अगाडि छिन् । जो  किशोरी अधिकार मञ्च रुपन्देहीकी जिल्ला अध्यक्ष हुन् । सुनितालाई किशोरीहरुको हकअधिकारको क्षेत्रमा काम गरिरहँदा फुर्सद नै छैन । बिहान होस् वा साँझ जतिबेला पनि किशोरीहरुलाई समस्या परे उनी समस्या सुल्झाउन जान्छिन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ मुजहनाकी सुनिता अहिले समाजको उदाहरणीय व्यक्तित्वको रुपमा चिनिदै आएकी छिन् । 


    कुनैबेला घरबाहिर निस्कन नपाउने उनी अहिले कामको सिलसिलामा नेपाल–भारतलगायतका जुनसुकै ठाउँमा जानुपरे पनि घरपरिवारबाट सहयोग पाएकी छिन् । उनी किशोरी समूहकी अध्यक्ष हुन् । समूहमा १२ देखि २२ वर्षसम्मका किशोरी आबद्ध छन् ।  जिल्ला, स्थानीय तह र वडास्तरीय गरी १ हजार ६ सय जना सदस्यले काम गर्छन् । अभियानका कामले रुपन्देही, नेपाल र भारतका विभिन्न ठाउँमा पुगेकी छिन् । किशोरीका तर्फबाट सरकारलाई माग पत्र बुझाएकी छन् । 


    २१ वर्षीया सुनिता हाल लुम्बिनीमा रहेको खुदाबगर आर्दश कलेज लुम्बिनीमा स्नातकमा कानुन पहिलो वर्षमा अध्ययनरत छिन् । उनी पढाइ खर्च जुटाउन युरोपियन युनियनको साझेदारीमा युथ साउन्डीङ बोर्डद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत छिन् । त्यहाँ लुम्बिनी प्रदेशमा रहेका युवाहरुको अवस्था र उनीहरुले गर्दै आएका काम, बैदेशिक रोजगारीमा रहेका युवाहरु स्वदेशमा आएर के गर्दैछन् भन्नबारे  तथ्यांक संकलन गरी काम गर्नुपर्छ । सुनितालाई पढेर अधिवक्ता बन्ने लक्ष्य छ । किशोरीहरुको हकअधिकार क्षेत्रमा काम गर्दै गर्दा कानुनी विषयमा बिभिन्न किसिमका समस्याहरु झेल्नु परेकाले कानुनी बिषयमा दक्ष अधिवक्ता बन्ने र समाज सेवा गर्ने उनको लक्ष्य छ । 


    सुनिता सजिलै त्यहाँ पुगेकी भने होइनन् । धेरै समस्या, चुनौती र विभेदहरुलाई पार गर्दै त्यहाँ पुगेकी हुन् । संघर्ष मात्र गर्नु परेन, समाजको तिरस्कार र विभेद पनि उत्तिकै सहनु पर्याे । सुनिता वि.स. २०७५ बाट किशोरी समूहमा आबद्ध सुनिताप्रति समाजको हेराइ सकरात्मक थिएन । सुरुमा घरबाट बाहिर निस्कन एकदमै गाह्रो भयो । फिल्डमा काम गर्दा पनि परिवारबाट मात्र नभइ समाजको दबाब पनि उत्तिकै थियो । जहाँ भए पनि साँझ ५ बजेभित्र घर पुग्नै पर्ने बाध्यता थियो । ‘छोरी मान्छेलाई परिवारले किन बाहिर निकाल्दै छ ?  छोरीलाई केटाको जस्तो व्यवहार किन सिकाइ रहेको छ ? कहिले तालिम कहिले कार्यक्रममा भनेर यसको छोरी होटेलमा जान्छ । के–के गर्छहोला भनेर समुदायले कुरा मात्र काटेन, धेरै तिरस्कार र विभेद पनि सहनु परेको  थियो ।’– सुनिताले विगतका अनुभव सुनाउँछिन् । 


    किशोरी सञ्जालको अध्यक्ष भएपछि पनि समाजमा भएका घटनाहरुबारे बोल्दा छोरी मान्छे हो धेरै नबोल, आफूलाई पर्दा सघाउने कोही हुँदैन भनेर सम्झाउने धेरै हुन्थे ।  
    सुनिता आप्mनो बिगत सम्झदा भक्कानीन्छिन् । उनी भन्छिन्–‘केयर नेपालले चलाएको उडान कार्यक्रममा सहभागी हुन नपाएको भए आज म के हुन्थे मलाई नै थाहा छैन ।’


    सुनिता मधेशी समुदायको दलित परिवारकी हुन् । सुनिता ४ दाजुभाइ र तीन दीदीबहिनीमध्ये कान्छी छोरी हुन् । परिवारमा कोही पढे लेखेको छैन । सुनितालाई पनि सानै उमेरमा विवाह गर्न भन्दै  ६ कक्षा पढ्दा विद्यालय छुटाइएको थियो । तर केयर नेपालको उडान कार्यक्रममा सहभागी भएर पुन २ वर्षपछि  पढाइलाई निरन्तरता दिन पाइन् । संर्घषको फल मिठो हुन्छ भनेजस्तै घरबाट बाहिर जान नदिने सुनिताको परिवारले अहिले हरेक समाजिक काममा अग्रसर हुन प्रेरणा दिन्छ । आफ्नो नामबाट गाउँ र परिवार  चिनिदा उनीमा  खुसीको सीमा नै छैन ।  
    अहिले  सुनिता जस्तै कयौं किशोरीहरु बाहिर निस्कन थालेका छन् । उनीहरुले आफ्नो बालविवाह तोड्दै अहिले पढाइमा जोडिन थाल्नु नै ठुलो उपलब्धि भएको सुनिताको भनाइ छ । 
    ग्रामीण भेगमा अझैँ पनि मधेशी समुदायका छोरीहरुलाई घरबाहिर जान रोक छ । छोरीलाई पढाउन थालेपछि युवा महिला केही घरबाहिर निस्कन थालेका छन् । शिक्षासँगै सामाजिक क्रियाकलापमा काम गर्दै आएका युवतीहरुलाई समाजले अझैँ पनि सहज रुपमा लिन सकेको छैन । तर पछिल्लो समयमा शिक्षित युवतीहरु समाजको कुसंस्कार तोड्दै समाजमा भएका विभिन्न विकृतीहरुविरुद्ध आवाज उठाउँदै आएका छन् । 


    सुनौलो नेपाल रुपन्देहीको अध्यक्ष एवं अधिकारकर्मी विजयलक्ष्मी राय भन्छिन्–‘मधेशी समुदायमा अझैँ पनि परिर्वतनको आवश्यकता छ । शिक्षा र रोजगारसँगै  मधेशमा युवा महिलाले पुरुष सरह काम गर्न सक्छन् भन्ने दृष्टिकोण फेर्नु अझबढी आवश्यकता छ ।’ अधिकारकर्मी रायका अनुसार शिक्षा र रोजगारका लागी मधेशी युवतीहरु समुदायबाट बाहिर आउँदा समाजमा कुरा काट्ने, नराम्रो सोंच्ने, विभिन्न आरोप, प्रत्यारोप लगाउने चलन अझैँ छ । ‘युवाहरु एक भएर यस्ता चलन हटाउनु पर्छ । पुरुष युवाले महिला युवालाई आफूसँगै अगाडि बढाउन जरुरी छ ।’–उनले भनिन् । 


    समाजमा शिक्षा र चेतना छर्ने प्रमुख व्यक्ति हुन्, शिक्षक । मधेशी मुलका महिलाहरु शिक्षक बनेको र ज्ञानगुन बाँडेको पनि देखिन थालेको छ । सियारी २ भगदरीकी प्रतिमा यादव भगदरी प्राविकी शिक्षक हुन् । उनी निजी श्रोत शिक्षक हुन् । उनीले २०८१ साल बैशाख महिनादेखि पढाउन थालेकी हुन् । प्रतिभालाई  भविश्यमा सरकारी शिक्षक भएर शिक्षाको ज्ञान बाँड्नु मात्र नभइ समाज सेवामा लाग्ने लक्ष्य छ । 


    २१ वर्षीया प्रतिमा विद्यार्थी समेत हुन् । उनी लिलाधर घिमिरे छपिया जनता कलेज छपियामा ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छिन् । बिहान पढ्न जान्छिन् । दिउँसो पढाउन । बाँकी समय समाजमा चेतना प्रवाह गर्न दिएकी छन् । प्रतिमा  काममा त खुसी नै छिन् । उनीभन्दा खुसी घरपरिवार छ । प्रतिमाका बुवाले आप्mनो छोरीप्रति गौरव गर्छन् । व्यापारमा रमाएका उनका बुवा  छोरीको व्यवहार र कामले एकदमै खुसी छन् । उनी प्रतिमालाई राम्रो काम गर्नुपर्छ भनेर सम्झाउने गर्छन् ।  उज्ज्वल भविश्यको  लागि छोरीले चाहे जति पढाउन तयार छन् । ‘प्रतिमालाई उसको चाहना भएसम्म पढाउँछु ।  शिक्षामा अब्बल र आत्मनिर्भर बनाएर मात्र विवाह गरिदिनेछु ।’ –बाबुले भने । 


    ५ बहिनीमध्ये जेठी छोरी प्रतिमा सानैदेखि जिम्मेवार थिइन् । सानैदेखि आमा बुवालाई काममा सघाउँथिन् । यसबाहेक विभिन्न क्लबमा सहभागी भएर छोरीहरुलाई पढाउनुपर्छ भनेर अभियान चलाउँथिन् । उनी सियारी २ मा रहेको राप्ती क्लबमा २ वर्ष अध्यक्ष समेत बनिन् । तर, मधेशमा छोरीलाई चेतनाप्रवाह गर्न सजिलो थिएन । प्रतिमाले बालक्लबमा रहेर काम गर्दा धेरै आलोचना पनि सहनुपर्याे । ‘छोरी भएर छोरा जस्तो बन्न खोज्न हुँदैन । गाउँका छोरीहरुलाई बिगार्न भेला गर्दै हिंड्न पाइदैन । छोरी भएपछि घरभित्र बस्न पर्छ । यस्ता धेरै किसिमका कुराहरु सुन्नु परेको थियो । काममा हौसला होइन बाधा थोपरिन्थ्यो ।’– प्रतिभा सुनाउँछिन् । 


     मधेशी समुदायमा अझैँ पनि छोराछोरीमा विभेद भएको प्रतिमा बताउँछिन् । ‘मधेसी समुदायमा अझैँ पनि सानो उमेरमा विवाह, घरेलु हिंसा, कुटपिट, जुवातासलगायत धेरै किसिमका विकृतीहरुले जरा गाडेर बसेको छ । त्यसको प्रभाव धेरै महिलामा छ । यद्यपि अहिले शिक्षाले गर्दा केही हदसम्म धेरै परिर्वतन आएको छ । ’–उनले सुनाइन् । प्रतिमाको घरमा पनि बेलाबेलामा विवाहको कुरा चल्छ । उनले भने डिग्री पढेर र स्थायी जागिर खाएर मात्र विवाह गर्ने बताएकी छन् । ‘हामीहरुले नै समाज परिवर्तन गर्ने हो, मधेशी समुदायमा यो समस्या छ भनेर होइन अब यो समस्या हटायौं भनेर लाग्नुपर्छ । म यही अभियानमा छु ।’– प्रतिमाले सुनाइन् । 


    मधेसी समुदायमा पढेका छोरीहरु रोजगारीमा जोडिन पाएका छन् ।  धेरै मेहनत गरेर त्यहाँ पुगेका छोरीहरु कामको परिणाम पनि राम्रो देखाएका छन् । यसले छोराछोरीमा असमान व्यवहार गर्ने समाज र परिवारले फरक धारणा बनाउन थालेका छन् । यसले मधेशी समुदायका छोरीहरु बाहिर आउन थालेका छन् । ‘पहिले र अहिले छोरीलाई दिने अवसरमा धेरै अन्तर छ,’ शिक्षक पुष्पा यादवले भनिन्–‘यो सबै चुनौती चिरेर हामीहरुले गरेको मेहनतले हो ।’ सियारी गाउँपालिका –३ भैंसाखांदरकी पुष्पा ज्ञानोदय आधारभूत विद्यालयमा शिक्षक हुन् ।  बिगत दुई वर्षदेखि निजी शिक्षकमा कार्यरत छिन् । 


    २३ वर्षीया पुष्पा विद्यार्थी पनि हुन् । उनी लिलाधर घिमिरे छपिया जनता क्याम्पस छपिया रुपन्देहीमा स्नातक चौथो वर्षमा अध्ययनरत छिन् । उनी आप्mनो पढाइको खर्च आफँै जुटाउँछिन् । घरको मुख्य पेशा कृषि हो । उनी खेतीपातीसँगै अध्ययन, अध्यापनलाई निरन्तरता दिँदै गइहेकी छिन् । पुष्पालाई अझैँ धेरै पढ्ने मन छ । पुष्पा परिवारकी कान्छी छोरी हुन् । पुष्पाको विहे हुने तयारी भैसकेको छ । तर उनी विहेपछि पनि आफ्नो काम नछोड्ने सुरमा छिन् । उनीले सरकारी शिक्षक भएर काम गर्ने र भविश्य उज्ज्वल बनाउने लक्ष्य बोकेकी छिन् । 
    मधेशमा छोरीहरु शिक्षा र रोजगारमा जोडिन थालेकोमा शिक्षा सेवामा संलग्न अगुवाहरु खुसी छन् । खुदाबगर आर्दश कलेज लुम्बिनीका क्याम्पस प्रमुख रामबली यादवले शिक्षा र रोजगारीमा मधेसी समुदायबाट अगाडि आउनु ठूलो उपलब्धि भएको बताए । ‘अहिले क्याम्पसमा पढ्ने मधेसी समुदायका युवतीहरुको संख्या बढ्दै  छ । मधेशका युवतीमा शिक्षा र चेतना भए समाजको कुरीति र लैंगिक हिंसा घट्नेछ ।’–उनले भने । उनले मधेशी समुदायका युवतीहरु शिक्षा र रोजगारीमा जोडिएसँगै घरदेखि समुदायमा परिवर्तनका संकेत देखिएको दाबी गरे ।  
    रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजनले मधेशी समुदायमा युवतीहरु शिक्षा र रोजगारीमा जोडिनु ठूलो परिर्वतन भएको बताउँछिन् । ‘कोही शिक्षक, कोही नर्स, सरकारी नोकरीलगायत विभिन्न संघ संस्थामा युवतीहरु आबद्ध भएर काम गरीरहेका छन् । यो मधेशमा आएको ठूलो परिवर्तन हो ।’– उनले भनिन् । 
    नेपालमा २०६५ सालदेखि २०६३ पछि निजामती सेवामा सीमान्तकृत समुदायको प्रतिनिधित्वका लागि आरक्षणको व्यवस्था भयो । आरक्षणका ६ वटा कलस्टर बने  । ती क्लस्टरमा ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२ प्रतिशत मधेशी, ९ प्रतिशत दलित, ५ प्रतिशत अपांगता भएका व्यक्ति र ४ प्रतिशत पिछिडिएको क्षेत्रका व्यक्तिका लागि छुट्याइयो । यसले मधेशी महिलालाई सरकारी सेवा र रोजगारीमा जोडिन ढोका खुलेको हो । नागरिक अगुवा रबिकुमार रौनियारले मधेशका छोरी शिक्षा र रोजगारीमा जोडिदा मधेशी समुदायकै स्वरुप फेरिएको बताए । ‘अहिले मधेशी समुदायका युवती  बैंक मेनेजर, प्रशासन, शिक्षालगायतका क्षेत्रमा प्रमुख भएको पाइन्छ । यो खुसीको कुरा हो ।’ –उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij