कुनै बेलाको बटौली अहिले बुटवलको नामले चिनिन्छ । समय बदलिएसँगै बटौलीको नाम फेरिएको छ । नाम मात्रै फेरिएन्, यहाँको अर्थतन्त्र र क्रियाकलाप पनि बदलिएका छन् । कुनै बेला पहाडका बासिन्दाको नुन किन्ने बजार बटौलीको व्यापार फेरिएको छ । सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्ग निर्माण भएसँगै बटौलीबाट खस्यौलीमा बजार विस्तार भयो । व्यापारको शैली बदलियो । लामो समयसम्म व्यापारको केन्द्र बुटवलले आफूलाई अब्बल सावित गर्न बहुआयामिक ढंगले सोँच्नुपर्ने भएको छ ।
अब व्यापारका लागि बुटवलमै निर्भर रहनुपर्ने अवस्था अन्त्य भएको छ । सडक सञ्जालको विस्तारले बुटवलमा निर्भर व्यापार विकेन्द्रित भएको छ । समयको गतिमा कुद्न नसक्दा हिजोका चर्चित बजार शहर अहिले ओझेलमा छन्, यो स्वाभाविक प्रक्रिया हो । कुनै बेलाको पाल्पाको शान र चमक अहिले गुमेको छ । कुनै बेलाको प्रशासनिक केन्द्र पाल्पाबाट प्रशासनिक केन्द्र विकेन्द्रित भएसँगै क्रमशः ओझेलमा प¥यो । पाल्पालाई पर्यटकीय विकासमार्फत् आर्थिक गतिविधि चलायमान गराउने योजनाबद्ध प्रयास हुन सकेनन् । यद्यपि नभएकै चाहिँ होइन्, तर जति हुनुपर्ने हो त्यो सुस्त भयो ।
बुटवलले पाल्पाको यही सुस्त गतिबाट पाठ सिक्नुपर्ने छ । बुटवलको व्यापार व्यवसाय ठप्प नै हुने होइन्, तर सडक सञ्जाल विस्तारले थपेको चुनौतीका सामु बुटवललाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न योजनाबद्ध प्रयासको खाँचो छ । दुई सय वर्षअघि भएको नेपाल–अंग्रेज युद्धमा विजय हासिल गरेको जितगढी किल्लामा पर्यटकको चहलपहल छैन । पहिले हामीले संरक्षण र पूर्वाधार बनाउन चासो दिएनौं । अहिले बनाएका छौं, पर्यटन प्रवद्र्धनको काम सुस्त छ । दर्जनभन्दा बढी साँस्कृतिक धरोहरको प्रचार प्रसार गर्न ढिलाइ भइरहेको छ । जितगढी युद्ध संग्रहालय निर्माण भएको छ, तर सञ्चालनको लागि पटक्कै ध्यान छैन ।
बुटवलबाट बसन्तपुर जाने केबुलकार बनेको छ । बुटवलबाट नुवाकोट जाने केबुलकार निर्माणाधीन छ । दुई केबुलकार सञ्चालन भएसँगै पर्यटक घुम्नका लागि र भुलाउनका लागि पूर्वाधार विकासमा राज्यको लगानी कमजोर छ । छिमेकी पाल्पाका पालिकासँग मिलेर बुटवल उप–महानगरले पर्यटन प्रवद्र्धनका योजना बनाउन ढिलाइ भइरहेको छ ।
१ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको दाँत भेटिएको ठाउँ अध्येताका लागि मात्रै नभई नयाँ पुस्ताका लागि रुचीको विषय हुनसक्छ । मेशिन विना मान्छेले खनेर बनाएको सुरुङमार्फत् पानी खसालेर बनेको तिनाउ जलविद्युत् आयोजना पर्यटकका लागि आकर्षक गन्तव्य हुनसक्छ । ऐतिहासिक र साँस्कृतिक स्थल बटौली बजारको मौलिकता जोगाउन सक्दा बुटवलले धेरै लाभ लिन सक्छ, तर बटौलीको मौलिकता नासिँदा बोल्ने कोही छैन । बुटवलबाट निश्चित समयको अन्तरमा बुटवल–लुम्बिनी यातायातको साधन चलाउन सके साँझको विश्रामस्थल बुटवल हुनसक्छ ।
पर्यटन प्रवद्र्धनका लागि बुटवल राम्रो स्थल हो । बुटवललाई पर्यटनको केन्द्र बनाउने नेतृत्व उप–महानगरपालिकाले लिएर सरोकारवालालाई सँगै लिएर अघि बढ्ने हो भने बुटवलको मुहार बदलिन्छ । बुटवल उपमहानगरपालिकाले आगामी आब २०८१-०८२ को नीति कार्यक्रममा घुमौं बुटवल अभियान सञ्चालन गर्ने योजना अघि सारेको छ । घुमौ बुटवल अभियान सञ्चालन गर्नुपूर्व गर्नुपर्ने धेरै काम छन्, कतिपय पूर्वाधार निर्माणका काम छन्, कतिपय प्रवद्र्धनका काम छन् । ती काम नगरी घुमौं बुटवल अभियान निरर्थक हुन्छ ।




