२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संघीयता र लोकप्रियतावाद

संघीयता र लोकप्रियतावाद

संघीयता र लोकप्रियतावाद

संघीयता र लोकप्रियतावाद

कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • यही गएको शनिबार राष्ट्रिय जनमोर्चा समर्थक बुद्धिजीवी मोर्चाले ‘संघीयता र लोकप्रियतावाद’... विषयमा एउटा अन्तक्र्रिया कार्यक्रम राखेको थियो । त्यसमा विभिन्न राजनीतिक दल एवम् विभिन्न व्यक्ति विशेषको उपस्थिति थियो । उक्त विषयमा एउटा लिखित कार्यपत्र नै प्रस्तुत भएको थियो ।  कार्यपत्र एउटा तर विषय दुई अलग एउटा संघीयताको भने अर्काे लोकप्रियतावादको बारेमा चर्चा गरिएको छ । 


    संघीयताको बारेमा नेकपा (मसाल) र राजमोले सुरुदेखि नै विरोध गर्दै आइरहेको छ । नेपालमा संघीयताको खारेजीलाई उक्त पार्टीले सुरुदेखि नै मूल विषय बनाउँदै आइरहेको छ । एक प्रकारले संघीयताको विरोधलाई नै उसले आफ्नो क्रान्तिकारिता भएको बताउँदै आएको छ । संघीयता शब्द नै नेपालका लागि गलत भए जस्तो गरी आफ्ना हरेक कार्यक्रममा त्यसको विरोध गरेको पाइन्छ । तर वास्तवमा संघीयता आफैँमा ठीक वा बेठिक भन्ने होइन । 


    देश काल समय परिस्थिति अनुरुप सापेक्षतामा यसको भर पर्दछ  । तर मसालले यसलाई निरपेक्ष रुपमा विरोध गर्दै आइरहेको छ । हामीले पनि यसको विरोध गर्दै आएका छौं । तर निरपेक्ष रुपमा होइन हालको अवस्थामा यसको कुनै अर्थ छैन । किनभने वर्तमान यो राज्य सत्ता नै प्रतिक्रियावादी सामन्ती, दलाल र नोकरशाही बुर्जुवा अर्थात् दलाल पुँजीवादी भएकाले यसको शासकीय चरित्र पनि त्यस्तै राष्ट्रघाती र जनघाती छ । संघीयता भए पनि नभए पनि यसले कुर्न अर्थ राख्दैन । मुख्यतः राज्यसत्ताको प्रश्न हो । तर मसाल पार्टीको ठम्याई के छ भने यहाँ संघीयता नभएमा धेरै विकास हुन्छ  । संघीयताले साम्रराज्यवादको सेवा गर्छ । जातीय वैरभाव उत्पन्न गर्छ । नेपालको राष्ट्रियतामा चुनौती थपेको छ । यो सामाजिक अशान्तिको कारक बन्न सक्छ । राष्ट्र विखण्डनको आधार भएकाले यसलाई तुरुन्त सच्याई यसको खारेजी गर्नुपर्दछ आदि । 


    तर मानौं अब कुनै कारण संघीयता खारेजी नै भयो भने के माथि भनिएका ती सबै नहोला वा संच्चिएला ? अर्थात् देशको राष्ट्रियतामा चुनौती नहुने । सामाजिक अशान्ति नहुने  । राष्ट्र विखण्डनका आधार नबन्ने । जातीय वैरभाव उत्पन्न नहुने आदि सबै होला ? संघीयता सम्बन्धी यो  कुरा बच्कना खालको छ । मूल कुरा त यो राज्य व्यवस्था नै माथि भने जस्तै प्रतिक्रियावादी छ । संघीयता हुनु र नहुनुले यसमा कुनै पनि फरक पर्दैन । संघीयताको मात्रै होइन पहिलो कुरा त राज्यव्यवस्था कै खारेजी हुनुपर्दछ । जनताको राज्यसत्ता र जन राज्यव्यवस्था भए मात्रै यो सब हुन्छ । तब त्यतिबेला संघीयता राखे पनि वा नराखे पनि जे गरे पनि ठीकै हुनेछ । त्यसकारण यो देशमा संघीयता भए पनि वा नभए पनि जबसम्म यो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्यसत्ता र व्यवस्था रहन्छ तबसम्म देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको साथसाथै माथि भनिएको सबै कुरा यथावत नै रही रहनेछ । मूल विषय त सत्ता परिवर्तनको हो । रुपलाई उचाल्ने तर सारलाई बिर्सने अवसरवादी दृष्टिकोण हो । सार अर्थात् सत्ता नै मूलतः प्रतिक्रियावादी र जनविरोधी भए पछि बाहिरी रुप अर्थात् केही शासकीय स्वरुप जतिसुकै राम्रो भए पनि त्यसको कुनै अर्थ हुँदैन । 


    अब अर्काे विषय लोकप्रियतावादको बारेमा पनि उक्त कार्यक्रममा लामो व्याख्या विश्लेषण गरिएको छ । त्यसमा केही उदाहरणको रुपमा रवि लामिछाने, बालेन, हर्क साम्पाङ आदिलाई लिएको छ । त्यसमा लोकप्रियतावादको जगको रुपमा उत्त आधुनिकवादलाई लिइएको छ । वास्तवमा यसको अर्काे रुप व्यक्तिवाद पनि हो । लोकप्रिय बन्नु र हुनु राम्रो कुरा हो तर त्यही लोकप्रियताको नाममा अनेकथरी बहानाबाजी गर्दै हिंड्नु सस्तो लोकप्रियता हो । जस्तो उदाहरण रवि लामिछाने पत्रकारिताबाट उदाए । पत्रकारितामा देखाएको केही राम्रा  कुराहरुलाई उनले आफ्नो व्यक्तित्वमा बदल्न सफल भए । त्यही व्यक्तित्वलाई भजाएर उनले करोडौं रुपैयाँको पुँजी बनाए । त्यसैको आडमा पार्टी बनाए । सांसद मन्त्री समेत बने । उनको त्यो छविबाट आकर्षित भएर एउटा ठूलो जमात उनको पछि छ ।


     त्यो जमातले रविलाई हाई हाई अरु सबलाई बाई बाई गरिरहेको छ । यतिसम्मकि उक्त दलका उपसभापति हालका काम चलाउ सभापति डी.आर. अर्यालले रवि जहाँ भए पनि बाँचुन्जेल रास्वपाको सभापति नै भइरहने बताए । मानौं हिजोका राजा महाराजा जस्तै । तर त्यस्तो सस्तो लोकप्रियता धेरै टिक्दैन ।


     ढिलो जाडो त्यसको पोल खुलेरै छाड्छ । रविको पत्रकारिता रहस्य के रहेछ ? बल्ल सहकारी अपचलन धनराशी ठगी धन्दाबाट पोल खुलेको छ । तैपनि उनी पछि लागेको एउटा ठूलो जमातले त्यो मानेको छैन । त्यस्तै हर्क साम्पाङले रित्तो गाग्रो लिएर काठमाडौैं आए र त्यही गाग्रो सिंहदरबार गई प्रधानमन्त्रीलाई बुझाउने प्रयत्न पनि सस्तो लोकप्रियताको उदाहरण हो । त्यस्तै बालेनको सिंहदरबारमा आगो लगाउने सुकुम्बासी हटाउने आदि सबै स्टन्टवाजकै नमूना हुन् । 


    स्वयं नेपालका प्रायः सबै दल र दल नेताहरुमा पनि यस्तो सस्तो लोकप्रियता भएको पाइन्छ । एमालेमा ‘ओली बा’ माओवादीमा प्रचण्ड पथ आदि उदाहरण छ । व्यक्तिवाद उमेरमा पनि देखिने गरेको छ । केपी ओलीले ७० वर्षे उमेर हद म्यादलाई हटाई आजीवन एमाले अध्यक्ष बनिरहने दाउँमा छन् । प्रचण्ड पनि त्यस्तै छाटकाटमा छन् । माओवादी जनयुद्ध कालमा प्रचण्डको फोटो प्रदर्शन, प्रचण्ड पथ, प्राधिकार नेतृत्वको केन्द्रीयकरण यति सम्मकि नेतृत्व स्थापितका लागि हरेक नेताहरुले लेख लेख्दा सुरुमा प्रचण्डका कोटेशन राख्नै पर्ने समेत गरिएको थियो ।  अहिले पनि प्रचण्डले अर्काे वैकल्पिक नेतृत्व नै अझैँ नबनिसकेको भन्दैछन् । मसालका मोहन विक्रमको सम्भवत विश्व रेकर्ड नै तोडिएको हुनुपर्दछ  । ९० वर्षका वृद्ध क. महामन्त्री मसाल पार्टीका । बाँचुन्जेल आजीवन नेतृत्वमा बसिरहने व्यक्तिवादी सोँचकै उपज हो । 


    अहिले विश्वव्यापी रुपमा नै लोकप्रियतावादको बढ्दो प्रभाव देखिंदैछ । नयाँ पिंढीमा अझ यो बढ्दो छ । कुनै विचार–सिद्धान्त, त्याग, तपस्या बलिदान केही नचाहिने खाली तत्कालीन केही विषयलाई उरालेर मात्र गरिने राजनीतिले तत्काल केही प्रभाव पारे पनि पछि दीर्घकालीन रुपमा यसको असर नकारात्मक नै हुन्छ । नेपालको सामाजिक र ऐतिहासिक पृष्ठभूमि नै यस्तै छ । एक्लो वीर अर्थात् हिरोइज्म । हाम्रो धर्म–संस्कृति पनि बढी यस्तै शिव–पार्वती, राम–कृष्ण पुज्ने र मान्ने धार्मिक संस्कृति । सामन्ती र निम्न पुँजीवादी समाजको उपज नै यो हो । 
    निश्चय नै अहिले यसको प्रभाव बढ्दो छ । त्यसैले यसको बारेमा अध्ययन, मनन र चर्चा गर्नु राम्रो नै छ । तर चर्चा गरेर मात्र वा खाली विरोध गरेर मात्रै पुग्दैन । जसरी आज केही जनताहरु यसको प्रभावमा परेका छन् । उनीहरुको कुनै दोष छैन । यस्ता व्यक्ति विशेषले केही गर्छन् कि भनेर त्यस्ताको पछि लागेका छन् । खास त देशका ठूला भनिने दल जस्तो नेपाली कांग्रेस, एमाले र माओवादीहरुको नालायकीपन, अवसरवादी र भ्रष्ट गतिविधिले गर्दा जनता निराश छन् । 


    त्यसको फाइदा केही यस्ता व्यक्ति विशेषले लिइरहेका छन् । यसको मूल कारण त अर्काे वैकल्पिक क्रान्तिकारी पार्टीको अभाव हो । हिजो पञ्चेहरुको विकल्पमा कांग्रेस– एमालेलाई जनताले साथ दिएका थिए । २०५२ सालपछि कांग्रेस–एमालेको विकल्पमा माओवादीलाई जनताले साथ दिएका थिए । तर अहिले यी सबैको विकल्पमा त्यस्तो क्रान्तिकारी पार्टीको अभाव हुनु नै यस्ता लोकप्रियतावादीहरुको उदय देखिनु हो । 


    हुन पनि नेपालका हरेक पार्टीका गतिविधि सबै चुनावी गढजोड र पदीय हानथाप मात्र छ । मिसन २०८४  अर्थात्  २०८४ को आम निर्वाचनतिर उनीहरु सबैको ध्यान छ  । सबै दलाल  विचौलिया र भ्रष्ट देश र जनताको पक्षमा काम गर्ने यिनीहरुलाई फुर्सद नै छैन । त्यसैले कोही मान्छेहरु रवि पछि लाग्दैछन् भने कोही बालेन र हर्क अनि कोही त प्रसाईंको पछि लाग्दैछन् ।


     मिटर व्याज, लघुवित्त र सहकारी पीडितका समस्याहरुप्रति कुनै पनि दलको चासो छैन । कुनै न कुनै दलका नेताहरु नै यसमा मुछिएका छन् । यस्ता विभिन्न खाले जनताका जल्दाबल्दा समस्याहरुलाई समय नै समाधान गर्न सके जो कोही पनि यस्ता व्यक्ति विशेषका पछि लाग्ने स्थिति नै देखिंदैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij