बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलको ३५ औं वार्षिकोत्सवको पुर्वसन्ध्यामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२५ जनाले रक्तदान गरेका छन् ।
वृहत रक्तदान कार्यक्रमको विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बिमलबहादुर शाक्यले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै शाक्यले निरोगी स्वस्थ व्यक्तिले हरेक तीन/तीन महिनामा रक्तदान गर्नुपर्ने बताए ।
प्राचार्य उपाध्यायले विद्यालयले पढाई सँगै सामाजिक, खेलकूद र अन्य कार्यक्रममा पनि सक्रिय रहेको बताए ।
कार्यक्रम अन्तर्गत न्यू होराइजन मावि कालिकानगरमा १७५ जना तथा न्यू होराइजन पाल्पा, र न्यू होराइजनका रुपन्देहीस्थित भगिनी संस्थाहरुमा समेत गरी शिक्षक, कर्मचारी, विद्यार्थी समेत ३२५ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक बिष्णुप्रसाद बस्यालले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल र राजीव श्रेष्ठ, कार्यक्रमका अर्का संयोजक प्रकाश खनाल,अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल लगायतले शैक्षिक गुणस्तरमा देशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित न्यू होराइजनले सामाजिक उत्तरदायित्व अन्तर्गत रगतको अभावमा कसैको पनि ज्यान गुमाउन नपरोस भनेर उद्देश्य सहित रक्तदान कार्यक्रम आयोजना गरेको बताएका थिए ।
देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित बुटवलको न्यू होराइजन अंग्रेजी आवासीय माध्यामिक विद्यालयलले ३५ औं वार्षिक उत्सवको अवसर पारेर शनिबार होराइजनका सबै भगिनी संस्थामा एकसाथ रक्तदान गरिएको थियो ।




