सिद्धार्थ राजमार्गको सिद्धबाबामा निर्माणाधीन सुरूङ छिचोलिएको छ । प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि सुरूङ मार्ग छिचोलिएको अर्थात् ‘ब्रेक थ्रु’ भएको हो । एउटा राजमार्गको सुरूङ मार्ग छिचोल्ने दिन एउटा उत्सव झैं भएको छ, जुन स्वभाविक पनि हो । किनभने नेपाल सुरूङ मार्ग निर्माणको युगमा प्रवेश गरेको छ । सडक पूर्वाधारमा सुरूङ मार्ग निर्माण हुनु छलाङ हो ।
नागढुङ्गा–नौविसे सडक खण्डमा सुरूङमार्ग निर्माण भइरहेको छ । यो सुरूङमार्ग निर्माण भएर केही समयमै प्रयोगमा आउने छ । यो सुरूङमार्ग चलेसँगै काठमाडौं प्रवेश गर्दा र बाहिर निस्कदा सवारी साधनले लामो जामको सास्तीबाट मुक्ति पाउनेछन् । सिद्धबाब सुरूङमार्ग निर्माण सम्पन्न भएसँगै सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डले सुरक्षित सडकको पहिचान स्थापित गर्नेछ । सधैँ जसो जाने पहिरोले यो सडक असुरक्षित हुँदा धेरैले ज्यान गुमाउनुपरेको छ । त्यसैले अहिले यसलाई ‘मृत्युमार्ग’भनिएको छ । अब यसले ‘मृत्युमार्ग’ बाट सुरक्षित मार्गको पहिचान स्थापित गर्दै सिद्धार्थ राजगमार्ग हुँदै पाल्पा, गुल्मी, पोखरालगायत लुम्बिनी र गण्डकीको पहाडी क्षेत्रको आवागमन सुरक्षित हुने आशा पलाएको छ । सिद्धबाबा क्षेत्रको चार किमि सडक पहिरोको उच्च जोखिममा रहेकोले पहिरो नियन्त्रण कार्यक्रममार्फत् सडकलाई सुरक्षित बनाउन प्राथमिकता दिनुपर्छ ।
सुरूङमार्ग बाहेकको क्षेत्रमा अरु सुरक्षात्मकम उपाय अवलम्बन गरी सडकलाई सुरक्षित बनाउन सकिन्छ । पर्यटकीय शहर पोखरा र तानसेनमा आन्तरिक र बाह्य पर्यटकको आवागमन बढ्दा यहाँको अर्थतन्त्र चलायमान हुन सघाउ पुग्नेछ । त्यसैगरी, मुक्तिनाथसहित कालीगण्डकी करिडोरमा पर्ने धार्मिक र सांस्कृतिक स्थलमा पर्यटकीय गतिविधि बढ्ने छन् । सिद्धबाबाको ‘मृत्युमार्ग’को पहिचानले त्रसित समाजमा यो मार्गमा यात्रा गर्न सहज नमान्ने अवस्थाको अन्त्य हुँदैछ ।
सुरूङ मार्गको ब्रेक थ्रु समयमै भएकाले यसको निर्माण छिट्टै पूरा हुने आशा पलाएको छ । नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले यो मार्गको काम गरेकाले आशंकाहरु छन् । नारायणगढ–बुटवल सडक निर्माणको काम अस्तव्यस्त भएको र समयसीमामा नभएकाले त्यस्तो आशंका हुनु स्वाभाविक भएकाले सबै ठाउँमा कम्पनीले काम गर्दैन भन्ने पनि होइन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनौट भएको निर्माण कम्पनी भएको र यो कम्पनीको प्रतिष्ठाको विषय पनि भएकाले तोकिएको समयसिमामै काम सकिन्छ भन्ने विश्वास छ ।
सुरूङमार्ग निर्माणको लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको चाइना स्टेट कम्पनीले २०८३ चैतसम्म काम सम्पन्न गर्नुपर्ने छ । आयोजनाको भौतिक र वित्तीय प्रगति ४० प्रतिशतको हाराहारीमा भएकाले काम गर्न धेरै बाँकी छ । समयसीमामै काम सम्पन्न गर्न सरकारी निकायले गर्नुपर्ने आवश्यक सहजीकरणमा कुनै कञ्जुस्याँइ गर्न हुन्न । निर्माण कम्पनीले गुनासो गरेर कामबाट भाग्ने र विकास निर्माणको काम प्रभावित हुने भएकाले सहजीकरणको खाँचो अपरिहार्य छ ।




