बुटवल–गोरूसिङ्गे सडक विस्तार कार्यको प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेसँगै आशा र आशंका दुवै बढेको छ । महेन्द्र राजमार्ग बनेको ६० वर्षपछि यो सडक खण्ड विस्तार हुँदैछ, यसअर्थ बदँलिदो परिवेशमा सडक विस्तार हुँदा यसले बहुआयामिक प्रभाव पार्नेछ । ठूला विकास परियोजनाले विकासको प्रतिफल दिने भएकाले समाजमा आशा जाग्नु स्वभाविक छ । नारायणगढ–बुटवल सडक विस्तारको काममा भएको ढिलाइले यो खण्डमा यात्रा गर्ने यात्रु आजित छन् । नारायणगढ–बुटवल सडक खण्डमा बेहाल भोगेका नागरिक बुटवल—गोरूसिङ्गे सडक विस्तारको काम बेलैमा हुन्छ भन्ने विश्वास गर्न सकिरहेका छैनन् ।
नारायणगढ–बुटवलमा जे समस्याले ढिलाइ भयो, त्यस्तो बुटवल– गोरूसिङ्गे सडक विस्तारमा ढिलाइ हुन्न र निर्माणको क्रममा लथालिङ्ग हुन्न भनेर शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीलेको भनेकाले निर्माणको काम व्यवस्थित हुन्छ भन्ने आशा गर्न सकिन्छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा भइरहेको कमजोरीबाट पाठ सिकेर अघि बढ्न खोज्नु सकारात्मक हो । सडक खोतलेपछि लामो समय त्यत्तिकै छाड्दा त्यसले प्रदूषण बढायो, सडकमा आवतजावत गर्नेहरुलाई सास्ती भयो । बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा अहिलेको पक्की सडक खण्डलाई नचलाई दायाँ–बायाँ विस्तारको काम गरेर पक्की खोतल्ने योजना बनाएको बताइएको छ । त्यसो गर्दा सडकमा आवतजावत गर्ने सवारीसाधनलाई सास्ती हुँदैन ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत १३ असारमा ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ । आयोजनाका अनुसार, सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर चौडा र ६ लेन, शहरोन्मुख क्षेत्रमा ३७ दशमलव ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा चार लेन कायम हुनेछ । ५० किलोमिटर सडक खण्ड दुई चरणमा २५–२५ किलोमिटरमा विभाजन गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको छ ।
यो सडकमा गाडी गुडाउन मिल्ने ६ वटा अण्डरपास, पैदल यात्रुका लागि १२ वटा अण्डर पास र ११ वटा ओभरहेड ब्रिज तथा वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अण्डर पास बनाइने छ । मूलतः वन्यजन्तुमैत्री सडक पूर्वाधारमा बेवास्ता भइरहेका बेला यो सडकलाई वन्यजन्तुमैत्री बनाइँदैछ । वन्यजन्तु ओहोरदोहोर गर्न बनाइने अण्डरपास वन्यजन्तु हिड्न मिल्ने बनाउनका लागि खबरदारी गर्नुपर्छ । कतिपय अण्डरपास वन्यजन्तुका लागि उपयुक्त नभएको भन्दै आलोचना भइरहेका बेला यहाँ बन्ने अण्डरपास साँच्चिकै वन्यजन्तुमैत्री हुने अपेक्षा गर्न सकिन्छ ।
सडक विस्तारकै लागि सडक किनारमा रहेका करिव सात हजार बढी रूख काट्ने तयारी छ । हुर्केका रूख काटेपछि यस्तै खालका रूखका बिरूवा चुरेको वन क्षेत्रमा लगाउने अभियान चलाउनुपर्छ । पूर्वाधार विकासका क्रममा सडक किनारमा रहेका वर, पीपल मास्दै जाने, तर वर र पीपल नलगाउने प्रवृत्तिले सन्ततीले वर, पीपल देख्नै नपाउने अवस्था आउन दिनु हुन्न ।
नारायणगढ–बुटवल सडकले दिएको सास्तीलाई बिर्साउने गरी काम भयो भने सडक पूर्वाधार विकास यसरी गर्न सकिन्छ भन्ने रोलमोडल बन्न सक्छ, यो सडक । सरकारी निकाय, निर्माण कम्पनी र समुदायको साझा पहलकदमीबाट नै बेलैमा गुणस्तरीय सडक निर्माणको काम संभव छ ।




