तिलोत्तमा । बुटवल पब्लिक स्कूलको आयोजनामा जिल्लास्तरीय अन्तर विद्यालय प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
बुटवल पब्लिक स्कूलले आफ्नै लगानीमा तिलोत्तमा ११ बेलांडाडामा बनाएको खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी इन्चार्ज विष्णु पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै पन्थीले विद्यार्थीको खेल प्रतिभा प्रस्फुटन, खेलाडी उत्पादन र फुटबलको विकासमा विद्यालयस्तरीय प्रतियोगिताको ठूलो महत्व हुने बताए । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारले खेलकुदलाई प्राथमिकतामा नराखेको गुनासो गर्दै पन्थीले खेलकुद विकासमा निजी क्षेत्रको लगानी र प्रयास सराहनीय रहको बताए । एन्फा केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले निजी विद्यालयले करोडौं लगानीमा खेल मैदान र रिसर्च सेन्टर निर्माण गरेर खेलकुदको विकासमा ठूलो योगदान
पुराएको चर्चा गर्दै यो मैदानमा विद्यालय तहको जिल्ला, प्रदेश र राष्ट्रियस्तर संगै अन्तर्राष्ट्रिय प्रतियोगिता समेत आयोजना गर्न सुझाव दिए ।
व्दिालयका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसालले अन्तर्राष्ट्रियस्तरमा राम्रो विद्यालयका लागि सुविधासम्पन्न खेल मैदान पहिलो आवश्यकता भएकाले आफूले अभिभावक र विद्यार्थीको माग अनुसार करिब १५ करोड लगानीमा क्रिकेट र फुटबलको खेल मैदान, स्विमिङ पूल सहित ग्रीन हाउस समेत बनाएर सञ्चालनमा ल्याएको बताए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका सरकारी र संस्थागत गरी ९ विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १५ हजार ५ रुपैयां र दोस्रोले १० हजार ५ रुपैयां तथा उत्कृष्ट गोलरक्षक,सर्वाधिक गोलकता र उत्कृष्ट खेलाडीले २ हजार ५ रुपैयां र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय ५ रुपैयां प्राप्त गर्ने विद्यालयका सहप्राचार्य रामचन्द्र पौडेलले जानकारी दिए ।




