नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टर (नवलपुर) बाट थप ४ वटा गैँडा पूर्वी सेक्टर (पूर्वी चितवन) स्थानान्तरण गर्ने भएको छ ।
गैडा स्थानान्तरणका लागि टोली अहिले नवलपुरको अमलटारी क्षेत्रमा रहेका छन् । शनिबारबाट स्थानान्तरणको काम सुरु गरिने निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अबिनाश थापा मगरले जानकारी दिए ।
गैडा स्थानान्तरणका लागि टोलीले अहिले अमलटारी क्षेत्रमा गैडा खोजी गरिरहेका छन् । थापाका अनुसार आनुवांशिक विविधता मिलाउन पश्चिम सेक्टरबाट निकुञ्जको पुर्वी सेक्टर गैँडा स्थानान्तरण गर्न लागिएको हो ।
पश्चिम सेक्टरबाट प्रजनन योग्य गैँडा लगेर पुर्वी सेक्टरका गैँडासँग प्रजनन गराउनका लागि स्थानान्तरण गर्न लागिएको बताउदै अधिकृत थापाले २ वटा भाले र २ वटा पोथी व्यसक गैँडा स्थानान्तरण गर्न लागिएको जानकारी दिए ।
गैँडाको घनत्व र बाढीको जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा स्थानान्तरणलाई अगाडि बढाईएको थापाले बताए ।
सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिए पछि २०८०को चैत महिना पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेकटरमा स्थानान्तरण गरिएको थियो ।
पश्चिम सेक्टरबाट गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्दा पश्चिम सेक्टरको नवलपुर र यहाँको मध्यवर्ती क्षेत्रमा हुने गरेको पर्यटकीय गतिविधिमा असर पर्ने भन्दै पर्यटन व्यवसायीले निकुञ्जलाई आग्रह गरेको भए पनि निकुञ्जले स्थानान्तरणलाई अगाडी बढाएको हो ।
जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने बताउदै आएको छ ।




