नेपालबाट विदेश पलायन हुने क्रम डरलाग्दो गरी बढेको छ । अध्यागमन विभागले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२२ मा नेपालबाट कुल २० लाख २५ हजार ४७६ यात्रु अन्य मुलुक गएका थिए । तीमध्ये १४ लाख २९ हजार ५४४ जना नेपाली थिए । त्यसै अवधिमा विदेशबाट नेपाल भित्रिने नेपालीचाहिँ १० लाख ३६ हजार ८८५ मात्र थिए । अर्थात्, विदेशिएकामध्ये ३ लाख ९२ हजार फर्किएनन् ।
त्यस वर्ष १६ लाख ३ हजार ८३० जना नेपाली विदेशिएका थिए भने स्वदेश फर्किनेचाहिँ १२ लाख ६३ हजार ४६३ मात्र थिए । अर्थात् यस वर्ष पनि ३ लाख ४० हजार ३६७ नेपाली विदेश गएर उतै बसे, स्वदेश फर्किएनन् । अनि २०२४ मा १७ लाख १४ हजार ५१५ जना नेपाली विदेशिएकामा १४ लाख ५ हजार ७९० जना मात्र फर्किए । बाहिरिने नेपालीको तुलनामा फर्किनेको संख्या ३ लाख ८ हजार ७२५ ले कम हो । यो जनसंख्या विदेशमै बसेको मान्न सकिन्छ ।
पछिल्ला ३ वर्षमा विदेश गएर नफर्किनेको संख्या गणना गर्दा १० लाखभन्दा माथि हुन्छ। यी तीन वर्षको औसतमा हिसाब गर्दा विदेश जाने प्रत्येक सय जनामा २० जना उतै बसेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा अन्य मुलुकबाट प्रस्थान गरेको तथ्यांक उपलब्ध छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक दिनको प्रस्थान गर्ने यात्रुहरूको भिडलाई नियाल्दा सोचनीय अवस्था रहेको प्रतीत हुन्छ ।
विज्ञान, प्रविधि र सञ्चारले विश्वग्राममा परिणत गरेको छ । बसोवास सर्नुका प्रमुख कारणहरूमा कठिन आर्थिक अवस्था, राजनीतिक अस्थिरता, वातावरणीय दुष्प्रभाव, जातीय, धार्मिक र लैंगिक असमानताजस्ता सामाजिक पक्ष, जनस्वास्थ्यका समस्या आदि मुख्य मानिन्छन् ।
प्रस्थान उप्रेरित गर्ने प्रमुख कारणहरू आर्थिक अवसरहरूको सुलभता, स्थिर राजनीतिक व्यवस्था र स्वतन्त्रता, उच्च जीवनस्तर, पारिवारिक पुनरमिलन, शैक्षिक अवसरहरू, सुरक्षा, विश्वव्यापीकरण, सामाजिक सञ्जाल अनि सम्बन्धित देशका नीति र कानुनी प्रवाधान रहेका पाइन्छन् ।
नेपालको सन्दर्भमा उल्लिखित कारणहरूमध्ये कुनै न कुनै किसिमले नेपाली समाज दिग्भ्रमित रहेको देखिन्छ । आजभन्दा ४० वर्ष अगाडिको अवस्था र वर्तमान अवस्थामा निकै नै फेरबदल भएको छ । राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा केही आयामहरूमा कतिपय विश्वस्तरमै, कतिपय क्षेत्रीय र केही स्थानीय स्तरमै पनि परिवर्तन भएको देखिन्छ । राजनीतिक प्रणालीमा कुनै किसिमको कसैप्रति लक्षित रोकावट देखिँदैन । आफ्नो अभिमत र नेतृत्व गर्ने आकांक्षालाई आवधिक निर्वाचन प्रणालीले सम्बोधन गरेको छ । आर्थिक अवस्था सम्बन्धमा संवैधानिक र कानुनी अधिकारहरू व्यवस्थित भएका छन् । सबैलाई आफ्नो अधिकार प्रयोग गर्न खासै कुनै किसिमको अवरोध उत्पन्न भएको छैन । सामाजिक अवस्था सम्बन्धमा विचार गर्दा १० वर्षे माओवादी सशस्त्र द्वन्द्व, पूर्वी पहाड र तराईको असमझदारी अनि केही हदसम्म असहिष्णु अवस्था विगतमा रहे पनि वर्तमानमा सौहार्दपूर्ण नै रहेको देखिन्छ ।
बहुसंख्यक वैश्विक मानव समुदायको सपनाको मुलुक संयुक्त राज्य अमेरिका धेरैको रोजाइ बनेको अध्ययनबाट देखिन्छ । विश्वभरबाट कुनै एक देशमा सम्पूर्ण मानव जाति बस्नसम्भव र सहज विषय होइन । तथापि अमेरिका बसाइसराइको प्रलोभनमा नेपालीहरूसमेत गैरकानुनी तवरले अमेरिका प्रवेश भएको देखिन्छ । विश्वभरका १४ लाख ४५ हजार ५ सय ४९ जना गैरकानुनी रूपमा अमेरिकामा रहेको र त्यसमा नेपालीहरू १ हजार ३६५ रहेको विवरण समाचारहरूमा सार्वजनिक भएको देखिन्छ । ह्वाइटहाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै आप्रवासी निष्कासनको सिलसिला चलेको खबरले विश्वभर सनसनी मच्चाएको छ ।
विश्वमा जतासुकै स्थायी बसोवास भएता पनि मानिसको चरित्र, मानसपटल र व्यवहार परिवर्तन अत्यन्तै कठिन विषय हुन्छ । जन्मसँगै विकास भएका भाषा, संस्कार, रीतिथिति, प्रथा, परम्परा र विश्वासहरूलाई कुनै पनि मानव सम्प्रदायले सहजै र एकै खेपमा त्यागेको पाइँदैन । मिश्रित समाजमा त झन् यिनै विषयमा राजनीतिक आवरणमा समेत मतदाता प्रभावित गर्ने, सौदाबाजी गर्ने र समयसमयमा हिंसात्मक द्वन्द्वसम्म लैजाने गरेको विश्व मानवचित्रमा भेटिन्छ ।
एकपटकको नेपाली सधैँको नेपालीको मान्यतालाई राज्यले अंगीकार गरी विश्वभर छरिएर रहेको नेपाली सम्प्रदायलाई मुलुक फिर्तीको लागि आह्वान गरेको छ । प्रवासी नेपाली सम्प्रदाय समेतले नेपालको राजनीतिक, आर्थिक र सामाजिक सन्दर्भमा साझेदारी गरिरहेको छ । यसका बाबजुद मूल समस्या के कारणले सम्बोधन भएको छैन राज्यले अपनाउनुपर्ने नीति, नियम र दृष्टिकोण कुनै पक्षमा सोचविचार पु¥यानुपर्ने देखिन्छ । वर्तमान अवस्थाको कहालीलाग्दो प्रवासन समस्यालाई सम्बोधन गर्न समयसापेक्ष अनुसन्धान हुन पनि उत्तिकै जरूरी छ ।




