झपेन्द्र शैवयान बौद्धयान
खोली परि डुम्रे मया, मार्यो दाइ तिम्ले
बढी आयो खोली आउने थिएँ क्या रु त ?
यी पंक्तिहरु मैले धोद्रे स्वरमा गुन्गुनाउँदै ऋग्वेदका पानाहरु पल्टाउँदै थिएँ । टक्क देखें र पढें केही ऋग्वेदी ऋचाहरु
यत्पुरुषं व्यदधुः कतिधा व्यकल्पयन् ।।
मुखं किमस्यं कौ वाहूका ऊरु पादा उच्येते ।।११।।
सङ्ककल्पबाट उत्सन्न विराट पुरुषलाई ज्ञानी पुरुषहरु विभिन्न किसिमले वर्णन गर्दछन् । त्यसको कस्तो कल्पना गर्छन् भने त्यसको मुख कुन हो ? त्यसको पाखुरा र जङ्घा(जाँघ) र गोडा कुन कुन हुन् ? शरीर संरचनामा त्यो पुरुष कसरी पूर्ण बनेको छ ?
ब्राह्मणोस्य मुखमासीद्् बाहू राजन्यः कृतः ।।
ऊरु तदस्य वैशस्य पदम्यां शूद्रो अजायत ।।१२।।
ती विराट पुरुषको मुख ब्रह्मज्ञानी पाखुरा शूरवीर तिघ्रा वितरण गर्ने वैश्य र गोडा शूद्र (श्रमिक) को भावले प्रकट गराए ।
प्रिय दौंतरी हो । तपाईंले देववाणी मानेको सबैभन्दा पवित्र ग्रन्थ मानिएको ऋग्वेदमा यज्ञ गर्दा यस्तै विराट स्वरुप प्रकट भएको उल्लेख छ । सारतः वेद ग्रन्थदेखि नै समाजमा ब्राह्मण लम्बर एकको उच्च जाति, क्षत्रीय दोस्रो लम्बरको उच्च जाति
(यद्यपि नेपालका क्षत्रीयहरु क्षत्री नभई खस हुन् ।) यिनले सिंजाका (जुम्ला) का राजा वि.सं. १४६१ सम्म जनै धारण गर्दैन्थे । केरालाको प्रथम आदि शङ्कराचार्यको (सन् ७७८–८२० ले लुम्बिनीमा आएर ८४००० (चौरासी) हजार बौद्ध ग्रन्थलाई खरानी पारिसकेका थिए । तै पनि नेपाललगायत भारतको उत्तराखण्डमा हिन्दूकरण भएको थिएन, यहाँ त्रिशुलीदेखि पश्चिम खसान राज्य (सिंजा क्षेत्र) मा बौद्ध धर्म नै भएको कुरा खस राजाहरुले बोधगयामा शिलापत्र राख्नु, सुर्खेतको काँक्रे विहार, गोरखाको ताघबाई गुम्बा र कर्णाली क्षेत्रका अनेक गुम्बा विहारले र लुम्बिनीको अशोक स्तम्भमा पृथ्वी मल्ल चिरन जयतु लेखिनुले प्रमाणित बताइरहेका छन् ।
आजको यो लेखको मूल उद्देश्य त लोकगीत मार्फत् रंगरस रमाइलो गर्नु नै थियो । तर यो कलम कताकता लर्केर विषयान्तरित भएछ । अब कलमलाई घिसारेर ठीक गोरेटोमा ल्याउने प्रयत्न गरिन्छ । तलमाथि भएको भए यो कलम माफ माग्छ । मेरो गल्ती छैन । भए कलमकै होला ।
१. पारि पाखा घाम लाग्यो
वारि पाखा छायाँ साइँलो
जस्तो तिम्लाई पानी तिर्खा
उस्तै मलाई मया साइँलो ।
२. बरिखा लाग्यो भीरको बाटो
मया आयो घर साइँलो
खोलानाला बढ्दा पनि
धन्न आयो मया साइँलो ।
३. मेरो मया तीन मुरी छ
तिम्रो मया कति साइँलो ?
तिम्रो भन्दा अल्लि धेरै
मेरो मया छ है साइँलो ।
४. ख्याल गर बरिखा हो ।
ज्यानको मया गर साइँलो
मेरो ज्यान त तिमी नै हौ
पर पराइ नहोऊ साइँलो ।
५. झयाउँकिरीले गीत गाए
अब घर आऊ है साइँलो
लामकिरीले टोक्यो भने
ज्यानै जान सक्छ साइँलो ।
६. रातो माटो चिप्लो बाटो
हिंड्न गाह्रो हुन्छ साइँलो
जुनकिरीको उज्यालोमा
देखिंदैन बाटो साइँलो ।
७. सुस्त सुस्त आऊ है साइँलो
सँगी साथी धेरै होलान्
हाँस्दै खेल्दै आऊ साइँलोे
हाँसेर गाए पनि दिल भने नदेऊ साइँलो ।
८.ठट्टा गर्दा लट्टा पर्ला
आफँै ख्याल गरे साइँलो
भात पाक्यो गुजुगुजु
तिउन त मस्यौरी साइँलो ।
९. मया कतै छोडे आए
कसी लगाई हेर्छु साइँलो
ज्यान मयाले कता कता
छल कपट गर्छन् साइँलो ।
१०.घर बस्नेले धेरै मया
भर विश्वास गर्छन् साइँलो
बिटुलो र चोखो भन्ने
यस्तै यस्तै रैछ साइँलो ।
११.पत्ता लागे बिटुलो भो,
नत्रै चोखै हुने साइँलो ।
ज्यान मयाको कित्ता भित्र
सानो जात हुन्न साइँलो ।
१२. मया मया बराबरी
भर संसारमै हुन्छ साइँलो ।
योनीबाटै सबै जन्मे
जन्मदैछन् यहाँ साइँलो ।
१३.मुखबाट ब्राह्मण जन्मे
भन्ने शास्त्र ढाँट साइँलो
क्षत्री जन्मे बाहुबाट
जसले भन्छन् स्वाँठ साइँलो ।
१४.वैश्य जन्मे जाँघबाट
भन्नेहरु मूर्ख साइँलो ।
पैताला र खुट्टाबाट मान्छे
कहिले जन्मे साइँलो ?
१५.वेद कस्तो शास्तर रैैछ
खेदै लाग्छ आज साइँलो
ढाँट कुरा लेख्ने सबै
चिलाउनेका ढुटा साइँलो ।
१६.वेद पुराण बुझ्दै जाँदा
सरासरी झुटा साइँलो
झुटालाई शास्तर भन्दै
मान्न किन प¥यो साइँलो ।
१७.नयाँ शास्तर पिरतीको
लेख्ने कहिले होला साइँलो ?
संविधान र ऐन कानून
नयाँ लेख्न मिल्दा साइँलो ।
१८.नयाँ रीति संस्कृतिको
शास्तर कसले लेख्ने होला साइँलो ?
१९.ज्यान मया र मैले
मिली नयाँ शास्तर लेखम् साइँलो
मन कुरा दिलैबाट
शास्त्रभित्र लेखम् साइँलो ।
२०.जाम पेउलीको बाटो
लाम पेउली फूल टिपेर
पिरतीको डँुगी तरी
ख्याउँदै ख्याउँदै आऊ साइँलो ।
२१.जातपात बगाइदिदै
चोखो मया लाम् भो साइँलो
यस्तै रैछन् शास्तर फास्तर
ढाँट तन्तरमन्तर साइँलो ।
२२.श्रम शोषण गरी गरी
भुँडी भर्ने दाउ साइँलो ।
बेलउती काँचो छैन
अब पाक्यो खाम् भो साइँलो ।
मया लाउन पक्कै पर्छ
आजै मया लाम भो साइँलो ।
स्मरण रहोस्, मैले सामुदायिक रेडियो मदनपोखराको रजत विशेषांक ‘बोली’ मा अब उप्रान्त मेरो आफ्नो नाम भपेन्द्र शैवयान बौद्धयान राख्ने घोषणा गरेको थिएँ । नाम फेर्नुको पछाडि कारण छन् । ती हुन्ः शैव संस्कृति मानसरोवर कैलाशको प्राचीन इतिहास पूर्वको काल्पनिक संस्कृति हो । शैव संस्कृति इतिहास होइन, काल्पनिक संस्कृति हो । काल्पनिक भए पनि शैव संस्कृतिलाई निरञ्जन निराकार भनेर ब्राह्मणहरुले पनि भन्दै र मान्दै आएका छन् ।
निरञ्जन भनेको वर्ण व्यवस्था (विभेद) नभएको
निराकार भनेको आकार ग्रहण नगरेको अर्थात् वर्गविहीन, वर्णविहीन, जातपातविहीन समाज हो । क्रमशः शैव संस्कृतिमा ऐजरुका रुपमा वर्ण व्यवस्था उम्रियो र झाँगियो ।
त्यसैले त्यसका विरुद्धमा इ.पू. ५६३ मा कपिलवस्तु तिलौराकोटमा जन्मनु भएका सिद्धार्थ गौतमले जातपात छुवाछुतका विरुद्धमा बोल्नु मात्र भएन वेद प्रमाण होइन भनेर उद्घोष गर्नुभयो । उहाँले तिलौराकोटमा साधना, चिन्तन, मनन, विपश्यना ध्यान योगबाट ज्ञान प्राप्त गर्नुभयो ।
उहाँ ज्ञान प्रसारणका क्रममा आफ्नो निचोड सुनाउन भृगु आश्रम आलारकालाम आश्रम हुँदै गया पुग्नु भयो । गयामा ५ जना ऋषिका साथमा वर्ष सातेक तपस्या गर्दागर्दै अस्थिपञ्जरमा परिणत भई झण्डै मृत्युवरण गर्नु भएको थियो । पछि बोध गयामा केही दिन विपश्यना गरेर सारनाथमा आफ्ना देशाना (उपदेश) दिनु थाल्नु भयो । यसरी तिलौराकोटबाट टुप्पी काटेर जैन फालेर हिंडेका सिद्धार्थलाई मानिसहरुले ससम्मान बुद्ध भनेर सम्बोधन गर्न थाले र उहाँ बुद्ध बन्नु भयो । बुद्ध उहाँ स्वयंले राखेको नाम होइन ।
यस कारणले गर्दा मलाई प्राचीन शैव संस्कृति काल्पनिक भए पनि मन परेको थियो । तर शैव दर्शनमा ऐजरु लागेपछि बुद्ध दर्शन जन्मेको त माथि पनि उल्लेख गरिएको छ । बुद्ध दर्शन र संस्कृति मलाई झन् कति मन प¥यो प¥यो । बुद्ध बन्ने क्षमता म मा छैन । तैपनि नाम भने राख्न मन लाग्यो । त्यसैले म अबदेखि झपेन्द्र शैवयान र बौद्धयानबाट मात्र भए पनि पत्रपत्रिकामा लेखिन चाहन्छु ।




