बुटवल । ‘नो भोट, नो एसएमस’ लागू गरेर मिलन कला केन्द्र बुटवलले आयोजना गरेको प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिताको उपाधि सुवास बगालेले जितेका छन् ।
तीन महिनासम्म चलेको प्रतियोगिताबाट फाइनलमा पुगेका १८ जना मध्येबाट सुवास प्रथम हुन सफल भएका हुन् । प्रतियोगितामा किरण मगर दोस्रो र विश्वास थापा तेस्रो भएका छन् ।
प्रदेशका अधिकांश जिल्लाबाट गरी ५ सय जनाले अडिसनमा भाग लिएका थिए । उक्त प्रतियोगितामा दर्शकको रोजाईबाट तिलोत्तमा २ जानकीनगरकी बिआंशा सापकोटा उत्कृष्ट बनेकी छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनले क्रमशः रु ५१ हजार १ सय ११, २१ हजार १ सय ११ र पुरस्कार १५ हजार १ सय ११ नगद र प्रमाणसहित पुरस्कार पाएका आयोजक मिलन कला केन्द्र बुटवलकी अध्यक्ष मिना बुढाथोकीले जानकारी दिइन् । त्यस्तै दर्शकबाट रोजाईमा परेर उत्कृष्ट डान्स गरेकी बिआंशा सापकोटाले रु ५ हजार पुरस्कार प्राप्त गरेकी छन् ।
विजयीलाई कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकी, डिआइडी लिटिल मास्टर उपाधि विजेता तेरिया फौजा मगर, रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जीवन शर्मा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त कार्यक्रममा कलाकार, मिलन कला केन्द्रमा आवद्ध सदस्य तथा सहयोगी र प्रायोजक संस्थाहरुलाई सम्मान गरिएको प्रतियोगिताका संयोजक दावा शेर्पाले जानकारी दिए ।
मिलन कला केन्द्रले आउने बैशाखदेखि प्रदेशस्तरीय नाटक (ड्रामा) प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त प्रतियोगिताका लागि जिल्ला जिल्लामा अडिसन गरिने छ । कला केन्द्रले सामाजिक उत्तरदायित्व अन्गर्तत वृहत निशुल्क स्वास्थ्य शिविर लगायतका काम पनि गर्दै आएको अध्यक्ष मिनाले बताइन् । पैसा खर्च गर्न सक्नेले टिकट खरिद गरेर भोट वा एसएमएस गरी उपाधि जित्ने र वास्तविक कला भएका प्रतिभा पैसा खर्च गर्न नसक्दा पराजित हुनुपर्ने गलत अभ्यासलाई रोक्न मिलन कला केन्द्रले नो भोट नो एसएमएसलाई लागु गरेको मिनाको भनाई छ ।




