दाङ । दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले आइतबारदेखि काठमाडौंको माइतीघरमा विभिन्न ३ बुँदे माग राख्दै आन्दोलन थालेको हो ।
२०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाई नभएको भन्दै उनीहरु कृषि औजारसहित काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।
मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न,विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निस्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरिदिन उनीहरुको माग छ ।
किसानले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानकर्षण गराउनको लागि काठमाडौं केन्द्रित आन्दोलन गरेको संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमा आन्दोलन गरेको थियो । सरकारसँग दुई बुँदे सम्झौताभएको एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन नगरिएको उनीहरुको भनाइ छ । पटक पटक उच्च राजनीतिक शीर्ष नेतृत्व, प्रधानमन्त्री, भूमि व्यवस्था मन्त्री, सरकारका अन्यमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू र सांसद र सम्बन्धित सरोकारवालाहरू सबैलाई भेटेर गुनासो सुनाएपनि बाचा पूरा नभएको उनीहरुको गुनासो छ ।
स्वर्गद्धारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिव १६ हजार जनसंख्या बसोबास छ। कुल १ हजार ५० विघा जमिन गुठीअन्तर्गत छ ।किसानले खेतीपाती गर्दै बसोबाससमेत गर्दै आएको जग्गाको स्वामित्व भने स्वर्गद्धारी गुठीको नाममा रहेको छ । पीडितहरुसँग भएको मोहीयानी पुर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो ।
संघर्ष समितिका सहसचिव प्रवीण दहितले जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने किसान जग्गाको स्वामित्व नपाउँदा साह्रै अन्यायमा परेकाले बाध्य भएर काठमाडौं आएको बताए ।
‘मोही किसानहरूले गत वर्ष फागुन ७ गतेदेखि एक महिना लामो आन्दोलन दाङमै गरेका थियौं,त्यसपछि सरकारसँग गुठी कानुन बनाएर समस्या समाधान गर्ने सहमति भयो, तर, एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन भएन,पटकपटक काठमाडौं पनि गयौं तर, उपलब्धि केही भएन त्यसैले जस्तोसुकै चुनौती सहेर पनि आन्दोलन नछोड्ने अठोट बोकेर यसपाली निर्णायक आन्दोलन गर्न काठमाडौंमा गएका हौं’–दहितले भने ।
गुठी संस्कृति र गुठी जग्गामा मोही किसानको हकलाई नमिसाउन पनि उनीहरुके माग छ । नेपालको संविधान २०७२ को दफा २९० मा गुठीसम्बन्धी व्यवस्था छ । जसमा गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारको सम्बन्धमा संघीय संसद्ले आवश्यक कानुन बनाउने उल्लेख छ । यही धारामा टेकेर मोही किसानले नयाँ कानुन बनाएर जमिनको पूरा हक दिनुपर्ने माग राख्दै आएका छन् ।




